coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेस्रो पटक एपिएफ च्याम्पियन

पर्वत - अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो उपाधि उचाल्न चुकेको छ।

जलजला गाउँपालिका–३ स्थित कालीगण्डकीको तिरमा शनिबार सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग स्तब्ध भएपछि पुलिस उपाधि उचाल्न चुकेको हो। पहिलो सेटमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको पुलिसले त्यसको सदुपयोग गर्न सकेन। पुलिसले लय निरन्तरता दिन नसक्दा एपिएफलाई ३–१ को सेटमा नतिजा सुम्पियो।

साबिकको विजेतासमेत रहेको एपिएफले उपाधि रक्षासँगै तेस्रो पटक यस प्रतियोगिताको उपाधि उचाल्न सफल भयो। १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा पुलिसले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्‍यो । एपिएफले खराब डिफेन्सको सामना गरेपछि पहिलो सेट पुलिसले २५–१५ ले सहजै आफ्नो बनाउँदै दबाब बनायो। दोस्रो सेटमा पनि पुलिसले सुरुआती अग्रता बनाए पनि जोगाउन सकेन । पुलिसले ३–२ को अग्रता बनाउँदा एपिएफकी स्पाइकर सरस्वती चौधरी घाइते हुन पुगिन्। घाइते भएपछि सरस्वती दोस्रो सेटमा केही समय बाहिर रहे पनि एपिएफले धेरै क्षति बेहोर्नुपरेन। दोस्रो सेटमा एपिएफ १३–१२ ले पछि परेको स्थितिमा सरस्वती पुनःमैदान प्रवेश गरिन्। उक्त सेट एपिएफले २५–१८ ले आफ्नो बनायो। निकै प्रतिस्पर्धात्मक तेस्रो सेट पुलिसले १८–१८ को स्थितिका बावजुद गुमायो र एपिएफले २५–२१ ले सेट आफ्नो पक्षमा पा¥यो।

चौथो सेट भने एपिएफले २५–१२ ले सहजै आफ्नो बनाउँदै तेस्रो पटक यस प्रतियोगिताको उपाधि उचाल्यो। च्याम्पियन एपिएफले ट्रफीसँगै दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। पुलिसले भने एक लाख रुपैयाँ र ट्रफीमा चित्त बुझायो। एपिएफका प्रशिक्षक महेशप्रसाद चौधरीले डिफेन्स बिग्रेपछि पहिलो सेट गुमाउनुपरेको बताए । ‘पहिलो सेट डिफेन्स बिग्रेपछि हामीले गुमाउनुपर्‍यो। दोस्रो सेटमा पनि डिफेन्स बिगिदा समस्या भयो। यसै सेटमा सरस्वती चौधरी घाइते हुँदा झनै दबाबमा पर्‍यौं,’ एपिएफका प्रशिक्षक महेश चौधरीले भने,‘तर हाम्रो महत्वपूर्ण पक्ष डिफेन्ससँगै ब्लक पनि थियो। तर खेलाडीले धैर्यता गुमाएनन्। सहजै खेलमा फर्किए।’ पुलिसका प्रशिक्षक रूपेश विष्टले पहिलो सेटपश्चात् तालमेल गुम्दा हार बेहोर्नुपरेको बताए।

‘टोलीमा नयाँ खेलाडी धेरै छन्। पहिलो सेटमा समग्र डिफेन्ससँगै तालमेल राम्रो भयो। त्यसैले सहजै अग्रता बनायौं। तर दोस्रो सेटबाट आपसी तालमेलको कमी देखियो। दोस्रो सेटमा हामी अन्तसम्म सँगसँगै गए पनि स्पाइकमा राम्रो हुन नसकेपछि सेटमा अग्रता गुमायौं,’ प्रशिक्षक रूपेशले भने,‘तेस्रो सेटमा पनि हाम्रो अट्याक पक्ष पनि कमजोर भयो। हामीसँग भएका सबै पक्ष प्रयोग गर्दा पनि सफल हुन सकनौं। तर हामीले समग्रमा राम्रो खेलेका थियौं। त्यसैले जितका हकदार थियौं र नजिक पनि पुग्यौं। यद्यपि सफल हुन सकेनौं। जितनजिक पुग्नु पनि ठूलो सफलता हो।’

शनिबारै सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा होङग्वान्जी न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमै स्तब्ध बनायो। पनामिका राईको उत्कृष्ट प्रदर्शनप्रेरित न्यु डायमन्डले आर्मीलाई २५–२३, २५–२१, २५–२२ ले पराजित ग¥यो। तेस्रो भएको न्यु डायमन्डले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो। प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ट्रफीसँगै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी कोपिला राना, सेटरमा पुलिसकै कमला पुन, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र सर्भरमा न्यु डायमन्डकी पनामिका राई पुरस्कृत भए। उत्कृष्टले पाँचैले समान पाँच हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक एपिएफका महेशप्रसाद चौधरी घोषित भए। उनले पाँच हजार प्राप्त गरे।

प्रतियोगिताको विजेतालाई जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्ल र आयोजक रेडियो दिदि बहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App