उदयपुर- उदयपुर ट्राफिक प्रहरीले जिल्लाका दुई लोकमार्गमा ‘टाईम कार्ड’ लागू गर्ने तयारी गरेको छ। सवारी दुर्घटना न्यूनिकरण गर्ने उपाय अवलम्बन गर्न टाईम कार्ड लागू गर्न लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला ट्राफिक इन्चार्ज नायव निरीक्षक (सई) होमप्रसाद खनालले सगरमाथा लोकमार्ग र सिद्धिचरण लोकमार्गमा कार्ड लागू गर्न लागेको बताए। सगरमाथाको लाहान–गाईघाट–खोटाङ जोड्ने गाईघाट–कदमाहा खण्ड र मिर्चया–ओखलढुंगा जोड्ने सिद्धिचरणको त्रिबेणी–कटारी–घुर्मी खण्डमा कार्ड लागू गर्न लागेको उनले बताए। पछिल्लो समय दुर्घटना बढ्दो गतिमा रहेको तथा दुर्घटना हुनुमा तीव्र्र गतिमा सवारी हँकाई नै प्रमुख कारण भएकाले सीमित गतिमा सवारी चलाउन टाईम कार्ड लागू गर्न लागेको उनको भनाई छ।
सिद्धिचरणमा वर्षेनी हुने दुर्घटनामा धेरै जनधनको क्षति हुने गरेको छ। पहाडी भेगको भिरालो तथा साँघुरो र जर्जर सडक भएकाले सिद्धिचरणमा वर्षेनी साना ठूला सवारी दुर्घटना बढ्दै गएको र यसबाट व्यापक जनधनको क्षति हुन गरेको छ। ०५८/०५९ मा तत्कालीन नेपाली सेनाको कालीबक्स गणले कालोपत्रेसहित निर्माण गरेको उक्त सडक साँघुरो र पुरानो भईसकेकाले सबै कालोपत्रे भत्किएर धुले सडकमा परिणत भएकाले पनि दुर्घटना बढी हुने गरेको ट्राफिकको अनुभव छ।
‘सिद्धिचरण लोकमार्ग अत्याधिक सवारी चाप हुने सडक हो तर, यो जर्जर र साँघुरो पनि छ’ सई खनालले भने ‘वर्षेनी मर्मत गर्ने गरिए पनि हरेक बर्खायाममा बिग्रे/भत्केर उत्तिकै जर्जर हुने गरेको छ।’ यस्तो जिर्ण सडकमा पनि सवारी भने तिब्र गतिमै हाँक्ने गरेको पाइएकाले कार्ड लागू गर्न लागेको उनले बताए। गाईघाट–कदमाहा खण्डमा चुरे क्षेत्र परेकाले नागबेली आकारको घुमाउरो सडकमा पनि अत्याधिक दुर्घटना हुँदै आएकाले जलजलेदेखि कदमाहासम्म कार्ड लागू गर्न लागेको उनले बताए।
दुवै खण्डमा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी रप्mतारमा सवारी चलाउन नदिने गरी कार्ड भरेर पठाइने सई खनालले बताए। उनका अनुसार आउँदो सातादेखि दुवै रुटमा टाईम कार्ड लागू गर्न कार्ड छापिसकिएको छ भने चालकहरुलाई वितरणको तयारी पनि अन्तिम चरणमा पुगेको छ। ‘तीव्र गति, जीवन क्षति’ तथा ‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने नारासहित कार्ड लागू गरिने र यसो गर्दा दुर्घटना घटेर जनधनको क्षति हुन नपाउने योजना उनको छ। यस अभियानमा सबै क्षेत्रबाट सहयोगको उनले आग्रह गरेका छन्।
ट्राफिकले विना अनुमतिपत्र (लाईसेन्स) सवारी चलाउन नदिने नियम पनि लागू गर्ने जनाएको छ। ‘नो ड्राईभ विथाउट लाईसेन्स’ भन्ने नारासहित सवारी अनुमतिपत्र नभएका चालकलाई सवारी चलाउन रोक लगाउन सक्यो भने पनि दुर्घट्ना स्वतः कम हुने आँकलन ट्राफिकको छ। ‘दुर्घटना हुनुको अर्को मुख्य कारण विना लाईसेन्स सवारी चलाउनु पनि एक हो’ ट्राफिक इन्चार्ज खनालले भने ‘त्यसैले सकेसम्म लाईसेन्स नभएकाहरुलाई सवारी चलाउन रोक लगाउने योजना छ। यसो गर्दा पनि दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भन्ने लाग्छ।’
प्रकाशित: १० फाल्गुन २०७६ १४:०० शनिबार