coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालोपत्रेको काम सुचारु गराउने सहमति

खोटाङ– स्थानीयले ठप्प बनाएको खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम सुचारु गराउने सहमति जुटेको छ। सडकको काममा चरम ढिलासुस्ती तथा गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले फागुन ८ गतेदेखि बन्द गराएको सडकको काम जिल्ला प्रशासन कार्यालयको पहलमा सुचारु गराउने सहमति जुटेको हो।

विशेषगरी कामदारलाई पारिश्रमिक नदिएकामा निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीविरुद्ध आक्रोशित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयले सडक कालोपत्रेका काम ठप्प बनाएका थिए।

आइतबार कामदार तथा उधारो दिएका व्यवसायीलाई ठेकेदारले १० लाख बाँडिदिने, सोमबारदेखि सडकको काम सुचारु गराउने, जिरोप्वइन्ट रहेको महुरेबाट कालोपत्रेको काम टुंग्याउँदै जाने, वस्ती तथा विद्यालय आसपासमा उँड्ने धुलो नियन्त्रण गर्न ठेकेदारले ट्यांकरमार्फत दैनिक पानी छ्याप्ने लगायतका सहमतिमा सडकको अवरोध हटाइएको बुईपाका युवा नेता मिलन राईले बताए।

शनिबार बिहान प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, संविधानसभा सदस्य पाँचकर्ण राई, नेकपा नेता देवबिक्रम राई, ठेकेदार कम्पनीका साईड इन्चार्ज नविन मैनाली, स्थानीय लगायतको उपस्थितिमा पञ्चरदोबाटोमा भएको छलफलबाट सडकको काम सूचार गराउने सहमति जुटाइएको हो। छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साईड इन्चार्ज मैनालीलाई बाँकी रहेको समयभित्र सडक कालोपत्रेको काम पूरा गर्न निर्देशन दिइएको संविधानसभा सदस्य राईले बताए।

गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि सिमपानी (राजापानी) सम्मको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले काम गरे वापतको पारिश्रमिक वर्षौँसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि झण्डै महिना दिनभन्दा बढि सडकको काम ठप्प बनाएको केही समयपछि पुनः स्थानीयले काम रोकेका थिए। तोकिएको भाकामा पारिश्रमिक नपाएको बिरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीको टिफर, ट्यांकर लगायतका सवारी साधनको चाँबी खोसेर प्रहरीचौकी बुईपालाई बुझाएर आ–आफ्नो काम ठप्प बनाएका थिए।

ठेकेदारको कामको गति हेर्दा बाँकी रहेको समयभित्र सडक कालोपत्रेका काम पूरा हुने छाँट नदेखिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। ‘कामदारले नियमित पारिश्रमिक पाए मात्र सडकको कामले गति लिने देखिन्छ, नत्र सम्भव छैन,’ वडाध्यक्ष राईले भने, ‘पैसा नदिएकाले उसको साईडमा स्थानीय कामदार काम गर्न मान्दैन। टाढा–टाढाबाट ल्याइएका कामदारले पनि पारिश्रमिक नपाएपछि विस्तारै काम छाड्ने गरेको छ।’ भुक्तानी नपाएपछि स्थानीय व्यवसायीले समेत ठेकेदारलाई निर्माण सामग्री उपलव्ध गराउन छाडेको बताइएको छ। निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्ने गरेको छ। हाल आएका मैनाली सातौं साईड इन्चार्जकारुपमा पठाइएका हुन्।

पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दुरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानीभञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले तथा सिमपानीभञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले गरिरहेको छ।

 

प्रकाशित: १० फाल्गुन २०७६ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App