७ वैशाख २०८१ शुक्रबार
समाज

सिद्धार्थनगरमा व्यवस्थित 'डम्पिङ साइड' नहुँदा समस्या

भैरहवा - डण्डा नदी किनारमा फालिँदै आएको फोहोरले स्थानीय प्रभावित भएका छन्। भैरहवा नगरको फोहोर अव्यवस्थित रुपमा डण्डा नदी किनारमा फाल्दै आएपछि  छेउछाउका नागरिक प्रभावित भएका हुन्। फोहर व्यवस्थापनबारे सिद्धार्थनगर नगरपालिकाले प्रभावकारी काम गर्न नसकेपछि दैनिक रुपमा बढ्दै गइरहेको नेपाल भारतको सीमा दशगजा नजिकैको फोहोरले एका तर्फ नदीको जैविकता पनि गुम्दै गएको भने स्थानीयको स्वास्थ्यमा पनि समस्या पारेको छ।

नदीसँगै रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, सीमा सुरक्षा कार्यालयका शसस्त्र प्रहरी, केही दुरीमै रहेको मेडिकल कलेज र नदी वरपरका बासिन्दालाई फोहोरले आजित बनाएको छ। नेपालमा मात्र नभई यस्को असर भारतीय सीमा नजिकै रहेका बस्तीमा पनि पुग्ने गरेको स्थानीय स्रोतले जानकारी दिएका छन्।

स्थानीय सरकार आएसंगै बाटोघाटो तथा विकास निर्माणका कार्यमा जोड दिए पनि सिद्धार्थनगर नगरपालिकामा उचित फोहर व्यवस्थानको विकल्प खोज्न नसक्दा डण्डा खोला किनारमै वर्षोदेखि फोहर फाल्ने गरिएको छ। नदीको किनारमा जथाभावी फोहोर फाल्ने गर्नाले नदीको पानी फोहोर हुनुका साथै जलचर प्राणीमा ह्रास र स्वस्थ मानिस पनि बिरामी पर्ने अवस्था आएको स्थानीय प्रेरणा क्षेत्रीको आरोप छ।

नगरपालिकाको वडा नं. २ का जनप्रतिनिधि र डम्पिङ भन्दा ३ सय मिटर दुरीमै रहेको बस्तीका बासिन्दा समेत रहेका दिपक थापाले फोहोरले बेस्सरी अप्ठयारो पारेको बताए। सधै बजार जाने मर्निङवाक गर्ने ठाउँमा २४सै घण्टा दुर्गान्धित बनाएकोले महामारी आउन सक्न अवस्था पनि नआउला भन्न सकिदैन। कहिले काही आगो लगाउने गरेकोले पनि झन समस्या आउदै थियो अहिले वडाको पहलमा त्यसलाई केही हदसम्म रोकेका छौ। संवेदनशील ठाउँमा भएकोले यसको समाधानका लागि नगरपालिकामा निरन्तर पहल गर्दै आएको बताए।

दैनिक ३०–४० ट्राली भन्दा बढी फोहोर नदी किनार फाल्दै आएको सशस्त्र प्रहरी चेकिङमा खटिएका एक प्रहरीले भने। खुला रुपमा फोहोर ल्याउदा सडक भरी प्लास्टिकले प्रदुषित बन्नुको साथै डयुटीमा खटिदा फोहोरको दुर्गन्धले काम गर्न पनि असहज हुने गरेको बताए।

हालको डम्पिङ साइडले ३०० कर्मचारी र ८ सय विद्यार्थी अध्ययनरत रहेको त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस कृषि क्याम्पसलाई समेत असर पु¥याएको उप प्रध्यापक रुकमाङगत पाठकले बताए। गर्मी बढ्दै जादा तापक्रम बढ्ने हुदा झन दुर्गान्धित बनाउछ, क्याम्पस क्षेत्रको वातावरणलाईनै असर पुरयाउदै आएकाले डम्पिङ साइड व्यवस्थापन वा स्थानान्तरण गर्न जरुरी छ र सार्र्नका लागि माग पनि गरिरहेको बताए।

नगरपालिकामा दैनिक उत्पादन हुने ३०देखि ४० टन फोहोर नियमित रुपमा संकलित गर्ने र डण्डा खोला किनारमा डम्पिङ गर्दै सिद्धार्थनगर नगरपालिकका फोहोर व्यवस्थापन प्रमुख केशव पौडेलले जानकारी दिए। ९ वटा टयाक्टर, २६ वटा ठेला र ७६ जना जनशक्तिबाट नगरका फोहोरहरु व्यवस्थापन गरिरहेका छौ, घरायसी सम्पूर्ण फोहर अहिले नदीको किनारमा नै डम्पिङ गरिरहेका छौ पौडेलले भने।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारी नगरको फोहोर ब्यवस्थापनमा ठूलो समस्या देखिएको बताए। एशियाली बिकास बैंकको लगानीमा फोहोरमैला प्रशोधन केन्द्र बनाउने योजना स्थानीयलाई बुझाउन नसक्दा फेल भएकै हो, हालसालै तिलोत्तमा नगरपालिकासँग पनि सहकार्यमा बनाउने बारे छलफल गरेको भए पनि सफल हुन नसकेपछि यसले ठूलो चुनौती दिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले बताए।

घरबाट नै फोहोर कम गर्ने, कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न सके केही मात्रामा फोहोर कम गर्न सकिन्छ। दीर्घकालिन समाधानका लागि एडिबी, क्षेत्रिय शहरी बिकास आयोजना, केन्द्र र प्रदेश सरकारसँग पनि लविङ गरिरहेको छौ विकास वजेटलाई रोकेर भए पनि फोहोर व्यवस्थापनका लागि वजेट विनियोजन गर्ने सोच बनाएका छौ। नगर प्रमुख  अधि नागरिकलाई भने।

नगरपालिकाले व्यवस्थित रुपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा दुर्गान्धित फोहोरले स्थानियमा फोक्सो आखाँ र छाला सम्बन्धी रोगको समस्या ल्याउनुका साथै डण्डा नदी किनार कुरुप बन्दै गएको छ। चिटिक्क परेकोे भैरहवामा दिनानुदिन फोहोर बढ्दै जादा सौन्दर्यताका साथै स्वास्थ्यमा समेत असर गर्ने छ। लुम्बिनीका प्रवेशद्धारको रुपमा रहेको यस नगरको दिगो सरसफाईको योजना बनाउनु अपरिहार्य छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App