८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार चलाउने नैतिकता समाप्त भइसक्योः शेखर कोइराला

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस नेता डा. शेखर कोइराला लगायत। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको पुष्टी भइसकेकाले अब सरकार चलाउने नैतिकता नै नभएको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले बालुवाटार प्रकरणपछि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सरकार सञ्चालन गर्ने ब्यक्तिकै संलग्नता भएपछि राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्ने सुझाव दिए।

‘सरकारको नेतृत्व गर्ने ब्यक्तिले नैतिकताको आधारमा राजिनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ,’ उनले भने ‘ बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका ब्यक्तिहरु नै यसमा सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो।’ सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डका विषयमा नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको स्मरण गराउँदै भ्रष्टाचारमा संलग्न कसैलाई पनि छुट दिन नहुनेमा जोड दिए।

उनले थपे,  ‘भ्रष्टाचार कसैले गर्छ भने छुट हुनुपर्छ भन्ने होइन, तर अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको छ, कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिने काम गरेको छ, अख्तियारको दोहोरो मापदण्ड हुनु भएन भन्ने नेपाली कांग्रेसको मान्यता छ।’

सरकार काण्डै–काण्डमा मुछिएकाले पुर्ण रुपमा असफल भइसकेको कांग्रेस केन्द्रीय सदस्य कोइरालाले ठोकुवा गरे। ‘यो सरकार असफल भइसकेको छ, सरकार सर्वसत्तावाद हुदै अधिनायकवादतर्फ गइराखेको छ,’ उनले भने ‘पे्रसका लागि पनि अत्यन्त कठिन दिन आइराखेको छ, प्रेसमाथिको सेन्सरसिफ, सामाजिक सञ्जालमा रोक लगाउने काम सरकारले गरिरहेको छ।’

देश अत्यन्त अप्ठ्यारो परिस्थितीमा गइरहेको कोइरालाले बताए। अर्को प्रसंङ्गमा उनले देश अप्ठ्यारो परिस्थितीमा रहेको अवस्थामा नेपाली कांग्रेसले साथ दिने बताउँदै विपी कोइरालाको विचारलाई अगाडि बढाएर लैजाने धारणा राखे। उनले थपे, ‘विपीको विचारलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हाम्रो सोच छ, त्यसमा हामी डगमगाएका छैनौं।’ पार्टीको आसन्न महाधिवेशनमा तपाई कोइराला परिवारको तर्फबाट सभापतिको उम्मेदवार हुने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘कोइराला परिवारकै हुनुपर्छ भन्ने होईन, जो पनि सभापतिको उम्मेदवार हुन्छ।’ आफु सिंगो नेपाली कांग्रेसकै गुटको ब्यक्ति भएको उनले जिकिर गरे। आफु कुनैपनि गुटमा नरहेको नेता कोइरालाको दाबी छ। आफुले नेपाली कांग्रेसका सबै साथीलाई लिएर हिडेको बताए।

पत्रकारको जिज्ञासामा नेता कोइरालाले नेपाली कांग्रेसले संसदमा प्रतिपक्षको भुमिका जति निभाउनुपथ्र्यो, त्यसरी निभाउन नसकेको स्वीकार गरे। ‘प्रतिपक्षको धेरै ठुलो भुमिका हुन्छ, तर त्यसमा हाम्रो भुमिका कमजोरी भएकै हो, हामीले जति भुमिका खेल्नुपर्ने हो, त्यो खेल्न सकेनौं,’ उनले भने। पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरी, अर्का केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी, पुर्वमन्त्री एवम् प्रतिनिधी सभाका सांसद सञ्जय गौतम, कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायत सहभागि थिए।

नेता कोइराला प्रदेश पाँचका बाँके, बर्दिया, दाङ, कपिलबस्तु लगायत जिल्लामा हुने कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुगेका हुन्। उनी अझै केहीदिन प्रदेश पाँचका जिल्लामै रहने उनका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।

प्रकाशित: १० फाल्गुन २०७६ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App