coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लडाकुको पारिश्रमिकबाट सुरु लुटयात्रा बाँस्कोटासम्म पुग्योः कमल थापा

पत्रकार भेटघाटमा राप्रपा अध्यक्ष कमल थापा। तस्बिरः पुष्पराज जोशी/नागरिक

कैलाली - राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले तत्कालीन माओवादीले लडाकुको पारिश्रमिकबाट सुरु गरेको भ्रष्टाचार यात्रा अहिले आएर गोकुल बाँस्कोटासम्म पुगेको दाबी गरेका छन्। पार्टीको प्रदेशस्तरीय अभिमुखीकरणका लागि धनगढी आइपुगेका अध्यक्ष थापाले शनिबार बिहान पत्रकार भेटघाटका क्रममा भने, ‘राष्ट्रवादी कम्युनिष्ट सरकार आमूल परिवर्तनको नारा लगाउँदै लुटतन्त्रमा सीमित भएको छ।’ उनले अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार रहेको बताए।

उनले गोकुल बाँस्कोटाको प्रकरणमा प्रधानमन्त्रीले तत्काल एक्सन लिएकोमा धन्यवाद दिँदै भने,‘अब अख्तियारले यस प्रकरणमा सुक्ष्म अध्ययन गरेर  दोषीलाई कारबाही गर्नुपर्छ।’ यसै क्रममा बोल्दै अध्यक्ष थापाले भने,‘सरकारले अनियमितता र लुटलाई कायम गर्न कुनै कानुन बाधा भए बहुमतको आधारमा कानुन नै परिवर्तन गर्दै आएका छन्, यो राजनीतिक संस्कार र जनताको हितविपरीत कार्य हो।’

भ्रष्टाचारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि संलग्नता रहेको आरोप लगाए। उनले भने,‘अहिले संस्थागत नीतिगत र व्यवस्थागत रुपमै भ्रष्टाचार भइरहेको छ, यसलाई रोक्न जनता जाग्ने बेला आएको छ।’ सबै राजनीतिक दलको सहमतिमा एमसिसी सम्झौता तयार पारिएको बताउँदै उनले भने,‘अहिले सत्तारुढ दलको आपसी विवादले यो समस्यामा परेको छ, अब यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ।’ उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत प्रस्ट्याए।

राप्रपाको एजेण्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले,‘अजेण्डा राम्रो हँदाहुँदै पनि संगठन कमजोर रहेकाले विगतका चुनावमा पराजित भएका हौँ, अब संगठन विस्तारको अभियानमा अघि बढेका छौं।’

प्रकाशित: १० फाल्गुन २०७६ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App