७ वैशाख २०८१ शुक्रबार
राजनीति

उठ न उठ सिलोकेदाइ हो, पूर्वै उज्यालो भयो..

डा. धुर्बप्रसाद भट्टराई
प्रायः हिउँदमा हामी नेपालीले बिहे लगायत अन्य धार्मिक संस्कार गर्छौं। हाम्रो विवाह संस्कारमा केही रमाइला पक्ष पनि छन्। जस्तोः बाजागाजा, रत्यौली, सिलोक आदि। नेपालका पहाडी भू–भागमा पहिले बिहेमा सिलोक भन्ने गरिन्थ्यो। बिहेमा दुलही लिन जन्ती जाने, एक रात उतै बिताउने र भोलिपल्ट दुलही लिएर फर्कने चलन थियो। रात काट्न पनि सिलोकको सहारा लिइन्थ्यो। वर्तमान सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक (विशेषतःमाओवादी सशस्त्र विद्रोहताका) कारणले जब बिहेमा रात बिताउने चलन हट्यो, हाम्रा पहाडी गाउँठाउँमा बिहेमा सिलोक भन्ने चलन हराउँदै गयो। यसको अर्थ माओवादी विद्रोहकै कारण यो चलन हरायो भन्ने होइन, कुनै पनि पुराना परम्परा हट्न त्यसको ठाउँमा नयाँ प्रविधि वा विधि आउनुपर्छ। पछि मनोरञ्जनका नयाँ प्रविधि, सामग्री आए। जेहोस्, पहिले बिहेका विधि– प्रक्रिया , सामाजिक विविध पक्षका सवाल–जवाफ सिलोकमा आउँथे।

बिहेमा भत्खौरे घरबेटीकहाँ आएपछि उनीहरूले ल्याएको दहीको ठेकी ग्रहण गरिन्थ्यो र उनीहरूलाई रातो टीका लगाइदिइन्थ्यो। उनीहरूलाई खाजाका लागि बस्न कुनै ठाउँ छुट्याइएको हुन्थ्यो। उनीहरूका लागि प्रायः खाटमाथि गुन्द्री र गुन्द्रीमुनि रायोका दाना राखिन्थ्यो। भत्खौरेले होस पु-याएनन् भने लड्थ्यो। भत्खौरे लडे भने निकै रमाइलो मान्थे, बेहुली पक्षले। त्यस्तै, खानेकुरा दिँदा पनि कसारभित्र ढुंगा राखिएको हुन्थ्यो। खाँदा होस पु-याएन भने ‘ऐड्ढया’ भन्दै भत्खौरे दाँत छाम्न थाल्थे। सामान्यतः भत्खौरेलाई यसरी इल्ल्याइसकेपछि सिलोक सुरु हुन्थ्यो। प्रश्नको सुरुवात घरबेटीतर्फबाट हुन्थ्यो अनि सवालजवाफ चल्थ्यो।

बेहुली पक्ष : विवाह खातिर जन्ती कति छौ ? कामार्थीहरू कति ?
बाजा बजाउनेहरू कतिजना ? चमर हाँकने कति ?
पढ्ने ब्राह्मण र डोली बोक्ने भरिया जम्मा कति छौ, भन !
यसको अर्थ बताऊ हे सुरपते, फेरफार नपारीकन।

भत्खौरे : विवाहखातिर एक सय जन्ती छौँ कामार्थीहरू सात
बाजा बजाउने नौजना ल्यायौँ चमर हाँकने पाँच
पढ्ने ब्राह्मण चतुर्मुखी ब्रह्मा डोली बोकने दुई
जम्मा हामी छौँ हेसुरपते एक सय सत्ताइस गनी।
भत्खौरेले जन्तीको संख्या र शाकाहारी तथा मांसाहारीको जानकारी दिन्छ। यसपछि बेहुली पक्षबाट उनीहरूलाई सिमली वा पातीका स्याउली दिइन्छ। उनीहरू सिमली लिएर जन्ती कहाँ पुग्छन् र जन्ती लिएर आउँछन्। जन्ती पर्सिने काम हुन्छ। यसपछि पनि जन्ती पक्षलाई सिलोकको झटारो यसरी हानिन्छ :

बेहुली पक्ष : के भनी आयौ मातालाई ?
के भनी आयौ पितालाई ?
के भनी आयौ देवी–देउरालीलाई ?
के भनी आयौ गण्डकीलाई ?

जन्ती पक्ष : घरै बस भनी आयौँ मातालाई
सँगै ल्यायौ पितालाई
हरर भनी आयौँ गण्डकीलाई
ध्वजा चढाई आयौँ देवी–देउरालीलाई।
यस प्रकारले विभिन्न प्रकारका प्रश्न सोध्ने र उत्तर दिने लामै प्रक्रियापछि जन्तीलाई खाना खुवाइन्थ्यो। जन्तीले खाना खाँदै गर्दा बेहुली पक्षबाट यस्ता सिलोक भन्ने गरेको पाइन्छः

बेहुली पक्ष : आए जन्ती मैलाधैला बसे जन्ती गिद्धको छाँट
हरिया टपरीमा मार्सीको भात नहाल जन्ती झुसिला हात।

जन्ती पक्ष : आयौँ जन्ती सुकिला मुकिला बस्यौँ जन्ती मलेवाको छाँट
सुकेका टपरीमा हकुवाको भात नहाल जन्ती सुनसरी हात।
खानपिन पछि ब्राह्मणले कर्मकाण्ड सुरु गर्थे। ब्राह्मणले आफ्नै शैली र शास्त्रअनुसार कर्मकाण्ड गर्दै जान्थे। यता जन्तीलाई सुत्न वा बस्नका लागि ठाउँ तोकिएको हुन्थ्यो। सोही ठाउँमा वा आँगनको कुनै किनारातर्फ जन्ती र बेहुली पक्षका सिलोकेहरू जम्मा हुन्थे रसिलोक सुरु हुन्थ्यो।

बेहुली पक्ष : नाम, थर कुन हो ? गाउँ, जिल्ला कुन हो ? के कामले पाल्यौ यहाँ ?
नालीबेली कहु सिलोके जोडी हो फेरफार नपारी तहाँ।
(भानुभक्त सिटौला, तेह्रथुम)

जन्ती पक्ष : जिल्ला हो तेह्रथुम गाविस ह्वाकु वाड् नं. ४ मेरो घर
जात बाहुन भई गोत्र काश्यप हुन गयो सिटौला मेरो थर।

बेहुली पक्ष : को हौ ? कहाँ जान भनेर आयौ ?
के भो तिमीलाई र दुःख पायौ ?

जन्ती पक्ष : म हुँ यहाँ मानिस भएर आएँ
संसार हेरीकन दुःख पाएँ।
सिलोककै क्रममा बीचबीचमा गद्य कविता/कवित्समेत भनिन्थ्यो। कहिलेकाहीँ अड्काउन कूटपद्य /झ्याँगाको प्रयोग गरिन्थ्यो।

बेहुली पक्ष : एकै र मुठी रायोको साग तेलघिउले झानन,
मरेको गोरु गाउँबेसी गरने लौ अर्थ जानन।

जन्ती पक्ष : सलक्कै घुम्यो नरसिंहा बाजा ताल दिने ढोलकी
मरेको गोरु गाउँबेसी गरने नारा पो होला कि।

बेहुली पक्षबाट प्रश्न गर्ने र जन्ती पक्षबाट उत्तर दिने ‘प्रश्नोत्तरात्मक’ शैलीमा सिलोक भनिन्छ। सिलोकमार्फत बौद्धिक परीक्षण गरिन्छ। सिलोकमा महिला दर्शकका रूपमा रहन्छन्। क्षमतावान् महिलाहरू सिलोके हुन सक्छन्। पहिलेपहिले जन्ती पुरुष मात्र जाने भएकाले यस्तो थिति बसेको हो। बेहुली नअन्भाएसम्मै सिलोक भनिन्थ्यो, सिलोक कहिलेकाहीँ दुई–तीनसम्म चल्न सक्थ्यो। हारजित हुँदैन, प्रायः सम्झौतामा टुंगिन्छ। हारिन्छ कि भनेर नै विशेष निम्तो दिएर नै बेहुला पक्षबाट सिलोके लगिन्थ्यो। प्रश्न गर्ने र उत्तर दिने शैली पूर्वतिर बढी प्रचलित छ। अन्ताक्षरीका रूपमा पनि सिलोक भनिन्छ। यसमा रामायण, गुणरत्नमाला, महाभारतलगायत ग्रन्थका श्लोक समेटिन्छ। पाल्पा, स्याङ्जा, नुवाकोटतिर अन्ताक्षरी शैलीमा सिलोक भनिन्छ।

बेहुली पक्षबाट प्रश्न गर्ने र जन्ती पक्षबाट उत्तर दिने ‘प्रश्नोत्तरात्मक’ शैलीमा सिलोक भनिन्छ। सिलोकमार्फत जन्ती वा घरबेटीतर्फका व्यक्तिको बौद्धिक परीक्षण गरिन्छ। सिलोकमा महिला दर्शकका रूपमा रहन्छन्। क्षमतावान् महिला सिलोके हुन सक्छन्। पहिलेपहिले जन्ती पुरुष मात्र जाने भएकाले यस्तो थिति बसेको हो। बेहुली नअन्भाएसम्मै सिलोक भनिन्छ।
 

बेहुली पक्ष : कस्का छोरा हौ तिमी नाति कस्का ?
कस्का भान्जा हौ तिमी दाइ कस्का ?
भन्देऊ नानी हौ तिमी भाइ कस्का ?
धाई–धाई आयौ तिमी जन्त कस्का ?

जन्ती पक्ष : क्या कामले सोधियो क्या तुमारी ?
विवाह गन्र्या छन् र कि क्या कुमारी ?
हेर्छौ मलाई कति ताकीताकी ?
सोध्यौ गाउँ ठाउँ क्या हाकाहाकी ?
(तोयानाथ नेपाल, पाल्पा)

मण्डपमा सिन्दुर हाल्ने होहल्ला चल्दै गर्दा यस्तो सिलोक गाइन्थ्यो :
बाघभालु वनमा झसंग मनमा टीका खस्यो पातमा
जस्का छन् गहना उसैका लहना सिन्दुर प-यो माथमा।
त्यस्तै, बेहुली र बेहुलाका बुबा–बुबाबीच सम्धेरो लगाउने समयमा यस्तो सिलोक भनिन्छ :

हातमा दाम् बरु तन्दुलै डोरीसमेत, चन्दन् र रातो लिनू,
सम्धेरो अब लाउने बखत भो, भन्दै अघि सरनू,
बेला ठिक्क भयो भनी दुलाहाका, बुबा अगाडि परून्,
अंकैमाल गरी पछि दुलहीका बाबु चरणमा परून्।
रातिको बिहे हुँदा प्रायः बिहानपख बेहुली अन्भाइन्थ्यो। अचेल दिउँसो बिहे हुने भएकाले बेहुली दिउँसो वा साँझपख अन्भाउने चलन छ। बेहुली अन्भाउने समयमा भनिने सिलोकको नमुना यस्तो छ :

थियौ बालक पालेँ अब ठूली भयौ जाऊ घरमा
यही हो साराको रीति बुझेर लेउ शान्ति मनमा।
नरोऊ हे नानी ! धुरुधुरु तिमी मंगलमाहाँ
रुँदैनन् मंगलमा असल मतिका सम्झमनमा।
पञ्चेबाजा बजिरहेको हुन्थ्यो। जन्तीहरू बेहुली लिएर घर फर्कने तर्खर गर्थे, त्यहीबेला यस प्रकारको सिलोक भन्ने गरिएको पाइएको छ :

बेहुली पक्ष : उठन उठ सिलोकेदाइ हो पूर्वै उज्यालो भयो,
नराम्रो जति सबै बिर्सिदिनुहोला जो हाम्रो बीचमा भयो।
हिँड्यौँ हामी सब जनती मनती दुलही अगाडि लाई,
समयसाल भेट होला हाम्रो बिदा देऊ हामीलाई भाइ।

जन्ती पक्ष : हे दाजु, दिदी, भाइ र बहिनीहरू हो मातापिता मित्र हो,
सन्जोगले गरी भाग्यको उदय भई हाम्रो यहाँ भेट भो।
छुट्नुपर्दछ तैपनि तोडेर माया जति,
बेला भो अब जान मकनता पाऊँ बिदाइ यति।
सम्झाउने यही नै रहोस् थुँगो सयपत्रीको।
(मोहनलाल खनाल ः तेह्रथुम, छातेढुँगा)
यसरी भत्खौरेलाई जिस्काउन थालेदेखि नै सुरु भएको सिलोक जन्तीले बेहुली लिएर घर फर्केसम्म भनिन्छ। सिलोकको बीचबीचमा कूटपद्य मिसाइन्छ, गद्य कविता मिसाइन्छ। रातभर सिलोकमार्फत मनोरञ्जन लिइन्छ।

वर्तमानमा सिलोक
नेपालमा पूर्वमेचीदेखि महाकालीसम्म र अझ भनौँ नेपाली भाषा र संस्कृति रहेको ठाउँमा सिलोकको अस्तित्व रहेको पाइएको छ। सिलोक विवाहका समयमा र अन्य समयमा पनि भन्ने गरिन्छ। सिलोक भन्ने सिलोके खोजी पस्दा अझै पाउन सकिन्छ तर सिलोक भन्ने चलन करिब–करिब लोप नै भइसकेको छ। हुम्लामा ‘बिहे प्रश्नोत्तरी’ गाउने चलन छ। दैलेख र दुल्लुतिर पनि सिलोक छन्। पाल्पा, तनहुँ, कास्की र स्याङ्जामा व्यापक रूपमा सिलोक पाइन्छ। नेपालको पूर्वी भाग र भारतका आसामतिर पनि छ। नेपाली जहाँ–जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ सिलोक पाइन्छ।पश्चिममा भन्दापूर्वमा बढी सिलोक पाइन्छन्। यसको मूल कारण नेपाली भाषाको विकास र विस्तार पश्चिमबाट पूर्वतिर गएको हो, भाषाको विस्तारसँगै सिलोक सर्दै पूर्वतिर गएको र यसको प्रचलनपछिसम्म रहेको देखिन्छ। पूर्वतिर ४०–४५वर्षका मानिस बिहेमा सिलोक भनेको भन्छन् तर पश्तिमतिर बुबाहरूले भनेको सुनेको भन्ने जवाफ दिन्छन्। यसले पनि पश्चिममा भन्दा पूर्वमा केहीपछिसम्म सिलोक भन्ने प्रचलन रहेको देखिन्छ।

सिलोकको जग
लोककविले वार्णिक श्लोकको प्रभावमा भन्दै आएका लोककविता नै सिलोक हुन्। सिलोक संस्कृतको ‘श्लोक’को तद्भव हो।संस्कृतका वार्णिक वा मात्रिक छन्दको अनुकरण गरेर सिलोक कथिएका हुन्छन्। यसमा छन्दको पूर्णपालना गरिएको हुँदैन तर लयलाई मिलाउने प्रयास भने गरिएको हुन्छ। वर्ण वा लयमा फरक परेमा ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व उच्चारण गरेर तथा अजन्तलाई हलन्त र हलन्तलाई अजन्त उच्चारण गरेर भए पनि लयमा एकरूपता ल्याइएको हुन्छ। सिलोकमा शार्दूलविक्रीडित, इन्द्रबज्रा, उपेन्द्रबज्रा, उपजातिलगायत छन्दको प्रभाव हुन्छ। यसर्थ संस्कृतका वार्णिक छन्दको पूर्ण पालन नभई श्लोककै हाराहारीमा सिलोकको संरचना र लयविधान भने सिलोकमा रहेको हुन्छ।

सिलोकको स्वरूप
सिलोकको स्वरूप वा इतिहास खोज्दै जाँदा वेदसम्म पुग्नुपर्ने हुन्छ। व्यासद्वारा विषयवस्तुका आधारमा वेदलाई विभाजन गरेका हुन्। वेद गद्य, पद्य वा गीतिलयमा आधारित छन्। मूलतः ऋग्वेद पद्यात्मक छ, सामवेद गीतिलयमा र यजुर्वेद गद्यलयमा आधारित छ। यसमा पनि ऋषिले प्रत्यक्ष देखेको चाहिँ वेदका ऋचा वा मन्त्र हुन् भने वेदभन्दा भिन्न सामाजिक सन्दर्भमा प्रयोगमा रहेका प्रचलनहरू गाथा हुन्। मन्त्र यज्ञ–यज्ञादिमा प्रयोग गरिन्थ्यो भने लोकले गाथामार्फत लौकिक परम्परामा आफ्ना धारणा व्यक्त गर्दै आएका हुन्। विवाहका सन्दर्भमा गाथा गाउने चलन वेदकालीन समयमा गाइने गाथासँग सम्बन्धित छ।मन्त्र र गाथा भन्ने चलन पुस्तान्तरण हुँदै आउँदा सिलोकको रूप विकास भएको हो। सिलोक आख्यानविहीन लोककविता हो। यसलाई एकल वा सामूहिक रूपमा भन्ने गरिन्छ। विवाहका समयमा सामूहिक रूपमा प्रस्तुत हुन्छ भने विवाहभन्दा अन्य समयमा एकल रूपमा पनि प्रस्तुत हुन सक्छन्। यसमा प्रायः प्रौढ सहभागी हुन्छन्। सिलोकका विशेषतामा मौखिक परम्परा, सर्जक अज्ञात, प्रश्नोत्तरात्मक, कूट कथनात्मक, बौद्धिक र मनोरञ्जनात्मक, सरलता र सहजता, गतिशीलता र स्थानीयता जस्तापर्छन्। सिलोकका संरचक घटकमा भाव वा विचार, संरचना, छन्द–लय, भाषा र शैली र उद्देश्य पर्छन्।

सिलोकको विषयवस्तु
सिलोकले सिंगो लोक समाजलाई समेट्छ। व्यक्तिको सोचाइ, कार्य, संस्कृति, दयामाया, प्रकृति, मानवीय चरित्र, धार्मिक दृष्टिकोणलगायत सिलोकका विषयवस्तुका रूपमा आएका हुन्छन्।

अन्य सिलोक
यसबाहेक फरक खालका सिलोक पनि पाइन्छ। सिलोकमा अंक गणितीय समस्या र समाधानका प्रशस्त नमुना पाइन्छ। यस्ता सिलोकबाट गणितीय ज्ञानको परीक्षण गरिन्छ।

प्रश्न : हजार आँप नौ सयमा बिक्री गए तीन सयको दाम हो कति ?
यसको अर्थ बताऊ लौ सुरपते रेखा नछोडी रति।

उत्तर :हजार आँप नौ सयमा बिक्री गए तीन सयको दाम हो कति ?
दुई सय सत्तरी भो बताएँ सुन लौ गन्ने हो कि छनछनी।

प्रश्न : मुढो नौ मनको रहेछ वनमा लागेछ किरो तहाँ
त्यो खान्थ्यो दिनमा तोलाका दरले सको कति वर्षमा ?

उत्तर : मुढो नौ मनको रहेछ वनमा लागेछ किरो तहाँ,
त्यो खान्थ्यो दिनमा तोलाका दरले सको असी वर्षमा।
(मोहनलाल खनाल, तेह्रथुम, छातेढुंगा)
त्यस्तै, ठट्यौलीमूलक सिलोक पनि प्रचलनमा छन्।
बाख्राका टाङमुनि उपियाँ फड्क्यो,
आजका जन्तीलाई फुरौला अड्क्यो,
बारीका छेउछाउ भोर्लाका टाटा,
आजका जन्ती कति लाटा।
(श्रीप्रसाद चापागाईं, तेह्रथुम, छातेढुंगा)
सिलोकमा अर्ती उपदेश तथा शिक्षासमेत पाइन्छ।
सुतसुत बाबु हो बिहान उठी पढौँला,
पढी गुनी गोठ जाउला गाईलाई घाँस देउला।
दूध र मही घर ल्याउला खाउला पिउला मोटाउला,
तब तिमी जन्त जाउला सिलोकै जिती आउला।
(खेमराज नेपाल)

त्यस्तै, अध्ययनका क्रममा अश्लील सिलोक पनि पाइएका छन्। जुवा जुवासम्बन्धी सिलोकको नमुना यस्तो छ :
रङरङको दउरा विरंगको सुरुवाल पटुकी बाँध्नु भुवा,
अर्काका धनमा लोभ लाग्छ मनमा तिहारमा खेल्नु जुवा।
जुवा हो रण हो यी सारा जति छन् पासा विचारी यहाँ,
ज्यानैको बुझ दाउ हो रण जुवा परस्परमहाँ।

त्यस्तै प्रणयमूलक सिलोक छ :
हे स्वामी म अभागिनी हुन गएँ छोड्यौ मलाई यसै,
देशमै जानु भो बडो छल गरी ढाँटी कुराले तसै।
स्वस्तिश्री गृहपुत्र प्यारी तिमीले यो पत्र जाँची लिनू,
माया लाग्छ मलाई बिछोड हुन गयो पत्रै पठाइ दिनू।
सिलोकमा समाजका विविध पक्षलाई समेटिएको हुन्छ। सिलोक भन्नुको मूल अभिप्राय मनोरञ्जन भए पनि यसले समाजमा व्याप्त चेलीबेटी बेचबिखन, जुवातासबारे सचेत गराएको हुन्छ। धार्मिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक र ऐतिहासिक विषयवस्तु सिलोकमा समेटिएको हुन्छ।

सिलोकको प्रबर्द्धन
स्वपहिचानको अवधारणाका कारण आ–आफ्नो जातिको संस्कृति बचाउनुपर्ने अवस्था छ। संविधानमा पनि भाषा संस्कृति बचाउनुपर्ने उल्लेख छ। तर, समाज धेरै अगाडि पुगिसकेको छ। हामीलाई आफ्नो संस्कृतिबारे ज्ञान छैन। आफ्नो संस्कृतिको संरक्षण हामीले नै गर्नुपथ्र्यो। संस्कृतिको संरक्षण र संवद्र्धनका लागि संस्कृति मन्त्रालय, विश्वविद्यालयहरू, प्रज्ञाप्रतिष्ठानहरू तथा अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाले आआफ्नो क्षेत्रबाट काम गरिरहेका देखिन्छन् तर उपलब्धिका हिसाबले विभिन्न जातजातिका परम्परागत ज्ञान, कलाकौशल हराउँदै गइरहेका छन्। त्यसैले यी संस्थाको काम प्रभावकारी हुन नसकिरहेको जगजाहेर नै छ। संस्कृति मन्त्रालयमा संस्कृतिलाई भन्दा अन्य पक्षमा जोड दिइएको छ। त्यहाँ लोकवार्ता सम्बन्धी काम गर्न छुट्टै विभाग बनाउनु पर्दछ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा यसलाई एकल विभाग हुनुपर्नेमा बालसाहित्यमा पुच्छर जोडेर लोकवार्ता विभाग छ। त्यसैले त्रिभुवन विश्वविद्यालयमा २०२४ सालदेखि नेपाली विषयअन्तर्गत लोकसाहित्यको पठनपाठन सुरु भए पनि अझै स्वतन्त्र विभाग गठन हुन सकेको छैन। लोकवार्ता विभाग छुट्टै हुनुपथ्र्यो। परम्परादेखिको आफ्नो जातजातिभाषीको मूल पहिचानको संरक्षण हुने पढाइले जागिर पाउने अवस्था आएन। गुरुकुल पद्धति त्यागेर स्कुल पद्धतिमा आएसँगै आफ्नो पहिचान गराउने शिक्षा हराउँदै गयो। आफ्नो महत्वलाई बुझिएन। हामी गुदी छाडेर बोक्रातिर लाग्यौँ। हामीले अहिले भ्रमण वर्ष मनाइरहेका छौँ। भ्रमण वर्षमा हामीले देखाउने भनेकै हाम्रो प्राकृतिक सुन्दरता र संस्कृति हो। जातिअनुसारको संस्कृतिबाटै पर्यटकलाई प्रभावित गर्न सक्छौँ। हामी सांस्कृतिक सन्दर्भबाट अत्यन्त सम्पन्न छौँ। भनिन्छ हाम्रोमा दिनभन्दा पर्व धेरै छन्। यिनै संस्कृतिमध्ये विवाहका समयमा भनिने सिलोक भन्ने परम्परा पनि एक हो। यस्ता कैयौँ संस्कृति हराउँदै गएकाले हामीले हाम्रो पहिचान नै गुमाउँदै गएका छौँ यसको संरुक्षण गर्नु नितान्त आवश्यक छ।

संस्कृति नाश गर्ने पुस्ता भनेकै हामी अहिले चलिरहेको पुस्ता हो। त्यसैले हाम्रो पुस्ता धुन्धुकारी पुस्ता हो। अघिल्लो पुस्ताले सबै किसिमका संस्कृति मनाए आफ्ना परम्परागत चालचलनलाई यथावत राखे। उनैले गरेको हामीले देखिरहेका छौँ तर हमी गर्दैनौँ। हामीले परम्परागत चालचलनलाई अंगीकार गरेनौँ भने हामीपछिको पुस्ताले हामीबाट के सिक्छ ?

(नेपाली लोककविताको अध्ययनमा विद्यावारिधि भट्टराईसँग नागरिककर्मी दीपक ठकुरीले गरेको कुराकानीमा आधारित।)

प्रकाशित: १० फाल्गुन २०७६ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App