यात्रा

हिउँचुलीसँग मालिकाको पिरती

शनिबार, १० फागुन २०७६, ०९ : ३६ अमृत भादगाउँले

एउटा यस्तो पवित्र भूमि जहाँ एकै ठाउँमा तीन बहिनी देवीको बास छ। म्याग्दीको मालिकाधुरी (३,३५० मिटर) मा मालिका, कालिका र जालिका बसेका छन्। उनीहरू हरपल गुर्जा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसँग आँखा जुधाउँछन्। लाग्छ सदियौंदेखि त्रिदेवी र हिउँचुलीबीच पिरती गाँसिएको छ। 

त्रिदेवीको दर्शनले मनोकामना पूरा हुन्छ। त्यसैले वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला डाँडामा मेला लाग्छ। मेलामा हजारौं भक्तजन ओइरिन्छन्। हामी पनि त्यहाँ पुग्यौं, मेलाको अवसरमा होइन, ०७६ माघको घमाइलो बिहानीमा।

मालिकामा उभिएर चारैतिरका वस्ती, हिमाल र नागबेली डाँडा हेरेपछि लाग्यो, धार्मिक आस्था भएका तीर्थालुहरूलाई मात्र होइन, पदयात्रामा रुचि भएकाहरूलाई पनि मालिकाले लोभ्याउन सक्छ।

बेनीबजारका उद्यमी राजेश शाक्य पछिल्लो समय ‘पर्यटन अभियन्ता’का रूपमा पनि सक्रिय छन्। समग्र म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानका अगुवा। उनी बरोबर गाउँलेलाई हौस्याउँछन्। कहिले गाउँमा पर्यटन तालिम दिलाउँछन् त कहिले गैरआवासीय म्याग्देलीलाई मातृभूमिमा लगानी गर्न प्रोत्साहित गर्छन्। पत्रकारलाई पनि डाँडापाखामा डुलाइरहन्छन्।

तिनै मित्रको निम्तोमा म पनि मालिका पुगेको हुँ। बेनीबाट जीपमा गएर हामी साँझ विम गाउँमा बस्यौं। शेरबहादुर गुरुङ दाइको जीपमा पत्रकार धिरन खत्री र म थियौं।

म्याग्दीको मालिकाधुरीमा त्रिदेवी बसेका छन्–मालिका, कालिका र जालिका। तिनको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ। त्यति मात्र होइन, धुरीबाट देखिने चुरेन, धौलागिरी, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कनले तन र मन दुवैमा ऊर्जा बढाउँछ।  

भोलिपल्ट बिहान हामी बसेको होटल ‘लेनिन खाजा घर’की सञ्चालक दलमति गर्बुजाले थर्मसमा चिया र झोलामा झिलिङगा तयार पारिन्। खाजा खाईवरी त्यहाँबाट हामी सडक पुगेको ठाउँसम्म जीपमै गयौं।

मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाको अगुवाइमा हामी ८ जना थियौं। सडकमा कतैकतै बाक्लो हिउँ थियो। शेरबहादुर दाइ कुशल चालक हुन्, उनले सजिलै उकालो चढाए।

जीपबाट ओर्लेर जंगलको बाटो छिचोलेर धुरीमा पुग्न ठयाक्कै तीन घन्टा लाग्यो हामीलाई। ठाउँठाउँमा हिउँ थियो, होस गरेर हिँड्यौं। नागिथलाभन्दा मास्तिर नाँगो डाँडा रहेछ।

विम गाउँभन्दा माथि वस्ती छैन। कुनै होटल तथा खाजा घर छैनन्। डाँडामा हाम्रो स्वागतमा बसेका थिए समितिका सचिव ओमकार रोका। हामीलाई अध्यक्ष छकप्रसाद र उनले मालिकाको महत्व बुभाए। घमाइलो दिन, मस्त हाँसेका हिमाल। आँखाले जति हेरे पनि नअघाइने। सके जति क्यामेराल खिचिरह्यौं फोटा।

नागिथलामा ध्वजापताका चढाएर उकालिने चलन रहेछ। नागिथलाभन्दा मास्तिर गोरेटो साँघुरो र अप्ठेरो रहेछ। होस गरेर हिँड्यौं। जब हामी मालिकाधुरीमा पुग्यौं तब आनन्द अनुभव भयो। मन्दिर हातामा बाक्लो हिउँ जमेको थियो।

डाँडामा कालिका र जालिकाको बीचमा मालिकाको मन्दिर रहेछ। एउटा ठूलो शिलालाई कालिकाको रूपमा पूजिन्छ भने अर्को शिलालाई जालिकाको रूपमा। मालिकाको मन्दिरचाहिँ ढुंगा र सिमेन्टबाट बनाइएको छ। मन्दिरभित्र मालिका देवीको मूर्ति छ।

श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्ने क्रममा माला खसेको ठाउँमा मालिका स्थापना भएको रहेछ। छकप्रसाद बुबाले गणेशजीको पूजा गरेपछि क्रमशः कालिका, मालिका र जालिका(जाल्पादेवी)को पूजा गर्ने परम्परा रहेको सुनाए।

मालिकालाई सम्झेर जे भाकल ग-यो त्यो पूरा हुने जनविश्वास छ। कोही वैदेशिक रोजगारीमा जान पाइयोस् भनेर भाक्छन्। धेरैजसो सन्तान प्राप्ति, समृद्धि र निरोगीताको कामना गर्छन्  र भाकल पूरा भएपछि मन्दिरमा आउँछन्। 

वर्षको तीन पटक मालिकाधुरीमा मेला लाग्छ। तीर्थालुहरू कालिकालाई बोका, परेवा, पाठी र नरिवल चढाउँछन्। मालिका र जालिकालाई ध्वजा, अक्षता र धूपबत्ती अर्पण गर्छन्। 

मेलामा मालिका क्षेत्र विकास समितिले पूजारी खटाउँछ। मुख्य पूजारी जगत जुग्जाली हुन्। पहिला मन्दिरमा बाहुन पूजारी थिए। विसं २०५९ मा माओवादीले त्यो परम्परा तोडिदियो। अनि मगर पूजारीले पूजा गर्न थालेको पाइजाले बताए। 

अचेल पश्चिम नेपालका तीर्थालु बढी हुन्छन्। ‘कहिलेकाहीँ भारतीय पनि आइपुग्छन्’, समितिका अध्यक्ष पाइजा भन्छन्, ‘मालिका माताको राम्रो प्रचार हुन सके देशैभरका भक्तजन आउने थिए।’

पूजापाठ सकेर हामी डाँडाबाट हिउँचुलीका तस्बिर खिचिरहेका थियौं। त्यहीबेला दुइटा काग का: काः गर्दै मन्दिरमाथि उडेर आए। ‘कोको भक्तजन दर्शन गर्न आए भनेर कागको भेषमा मालिका माता आउनुभएको’, समितिका सचिव ओमकारले रोचक कुरा गरे।  

मालिकामा विसं १९१० बाट पूजा शुरू भएको रहेछ ! तिनताका विमका बाहुनको गोठ मालिका क्षेत्रमा रहेछ। गोठालाले राति  सपनामा जोगी, महिला र बच्चा देखेछन्। उनीहरू सुत्नै सकेनछन्। त्यो कुरा उनीहरूले गाउँमा आएर बाहुनलाई भनेछन्। तिनले गोठालालाई सुझाएछन्, ‘त्यहाँ दैवी शक्ति होला। लौ अब ढुंगा ठड्याएर बोका लगेर पूजा गर।’

त्यही बेलादेखि पूजापाठ शुरू भएको कथा सुनाउँछन् छकप्रसाद। पछि दरबाङ दुखु गाउँका तिर्थबहादुर रोकाले मालिकालाई भाकेर छोरा पाएछन्। उनैले विसं २०२५ मा ढुंगाको मन्दिर बनाइदिएछन्। आजको सिमेन्टेड मन्दिरचाहिँ समितिले विसं २०७० मा बनाएको।

छकप्रसादको अगुवाइमा तत्कालीन तीन गाविस दरबाङ, पाखापानी र विम गाविसका नागरिक मिलेर विसं २०६८ मा समिति बनाइयो। समितिले मन्दिर र सत्तल बनाउन १३ लाख रुपैयाँमा खर्च गरेको उनले सुनाए। 

मालिका गाउँपालिका–७ मा पर्दछ मालिका मन्दिर। मालिकाको काख ‘जोगी देउराली’ रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिकाको संगम हो। त्यसैले साँध जोडिएको मालिकाधाम विकास गर्ने दायित्व यी तीन वटै गाउँपालिकाको हो।

मालिका गाउँपालिकाले मन्दिरको छातीसम्म यसै वर्ष मोटरबाटो पु-याउँदै छ। खानेपानी व्यवस्थापन गर्ने उसले जनाएको छ। गाउँपालिकाका सबै वडाबाट धौलागिरी हिमालको अवलोकन गर्न सकिन्छ। बागलुङसँग सीमा जोडिएका सोलेडाँडा र दुरलेक पनि गाउँपालिकाका थप आकर्षण हुन्। त्यसबाहेक तालतलैया र मगर संस्कृति पर्यटकीय खुराक बन्न सक्छन्। 

साविकका निस्कोट, विम, रुम, देवीस्थान, ओखरबोट र दरबाङ गरी ६ गाविस मिलाएर मालिका गाउँपालिका बनाइएको। गाउँपालिकाको जनसंख्या बीस हजार छ। जहाँ मगर ६१ प्रतिशत छन् भने बाँकी दलित, क्षेत्री, बाहुन, थकाली, गुरुङ लगायत हुन्।

जबसम्म पहुँच राम्रो हुँदैन तबसम्म पर्यटकीय चहलपहल बढ्दैन। मालिकामा सडक पु-याउने अभियान जारी छ। साथै बेनीदेखि दरबाङसम्मको सडक पनि सुधार हुँदैछ। डाँडामा केवलकार चले यात्रुलाई कति सजिलो हुन्थ्यो ! दरबाङ वर्तिर सहस्रधारा (राजढुंगा)बाट केवलकार चलाउन पर्यटन अभियन्ता राजेश शाक्य सरोकारवालासँग छलफल चलाइरहेका छन्। 

‘भारतको मसुरीमा जस्तो थोरै खर्चमा मालिकामा केवलकार चलाउन सकिन्छ’, म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका शाक्य भन्छन्, ‘समुदायले लाभ पाउने हिसाबले सामुदायिक केवलकार चलाउनुपर्छ।’ मालिका गाउँपालिकाले यसमा नेतृत्व गर्न सक्छ। डाँडामा हेलिप्याड पनि बनाइहालौं। 

मालिकाको विकासमा तत्काल केही काम गरिहाल्नु पर्ने देखिन्छ। उकालीका गोरेटा साँघुरा छन्। डरलाग्दो भीर छ। त्यस्तो ठाउँमा सुरक्षा बार (रेलिङ) चाहिन्छ। ठाउँठाउँमा संकेत पाटी भैदिए यात्रुलाई सजिलो हुने थियो। त्यति मात्र होइन, मन्दिर क्षेत्रमा शौचालय, धारा र धर्मशाला चाहिन्छ।  

विमका होटलवालाले अतिथि सत्कार र होटल व्यवस्थापन तालिम पाउनुपर्छ। साथै मालिकाधुरी काखका गाउँहरू विम, दुखु, दिच्याममा पर्यटकलाई होमस्टे सुविधा दिलाउने कि ? 

मालिका गाउँपालिकाले पूर्वाधार विकाससँगै आक्रामक प्रचारमा जोड दिनुपर्छ। त्यसका लागि मालिकाको महिमा झल्काउने युट्युव भिडियो, बुकलेट, ब्रोसर, पोस्टर लगायत डिजिटल र परम्परागत प्रवर्द्धनात्मक सामाग्री उत्पादन गर्नुपर्छ।

अर्को कुरा, मालिकाको सिमेन्टेड मन्दिर बनाइएको छ। नबनाउनु बनाएपछि परम्परागत शैलीको बनाएको भए हुन्थ्यो ! अब कालिका र जालिकालाई खुल्ला आकाशमुनि नै छाडौं। मन्दिरको भवन ठूलो हुँदैमा महत्व बढ्ने होइन। त्यसैले अब डाँडामा मन्दिरका नाउँमा भवन नथपौं। 

मालिका पदयात्रा पनि अविष्मरणीय बन्छ। हिँडेर मालिका जाने प्रमुख दुई पदमार्ग छन्, एउटा विम गाउँ र अर्को टोड्के हुँदै। दुवै पदमार्गलाई सुधार गरेर विदेशीलाई समेत हिँडाउन सकिन्छ।  

मालिकामा आध्यात्मिक पर्यटनको प्रचुर संभावना छ। त्यहाँ पूर्वाधार विकास गरेर राम्रो प्रचार गर्न सके गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिन्चोकमा भन्दा भीड लाग्न सक्छ।

चन्द्रागिरीमा एउटा भालेश्वर महादेव, मनकामना र कालिन्चोकमा एकएक देवीको मात्र बास छ। तर, मालिकाधुरीमा त एकै ठाउँमा मालिका, कालिका र जालिकाको आशीर्वाद पाइन्छ। त्रिदेवीको दर्शन पाइने अलौकिक गन्तव्यका रूपमा यसको प्रचार गर्न सकिन्छ।

यस्तो पावन भूमिमा पुग्ने इच्छा कसलाई नहोला र ! त्यहाँबाट फर्केपछि म भित्र उत्साहको लहर चलको छ। मालिका घुमाएकामा राजेशजीलाई धेरै धन्यवाद ! एक दिन म फेरि पुग्नेछु मालिकाधुरीमा।
कसरी पुग्ने ः काठमाडौं–बेनी २८२, बसमा १० घन्टा। बेनी–दरबाङ २३ किमि, दरबाङ–विम ७ किमि। बिमदेखि माथि ९ किमिसम्म सडक खनिएको छ। त्यहाँबाट ३ घन्टा उकालो पदयात्रामा मालिका। बेनीबाट दिउँसो १ बजे विमका लागि र विमबाट बिहान ९ बजे बेनीका लागि बस छुट्छन्, बसमा ४ घन्टा।  

७३ वर्षे तन्नेरी


मालिका क्षेत्रको विकासका अगुवा हुन्–छकप्रसाद पाइजा। विसं २०५९ देखि उनको तन र मन मालिकामा केन्द्रित छ। उनकै संयोजकत्वमा विसं २०६८ मा मालिका क्षेत्र विकास समिति गठन गरियो। समितिले पूर्वाधार विकासमा जोड दिँदै आएको छ। 

उनी मालिकाको महिमागान गाएर कहिल्यै थाक्दैनन्। उनी कहिले सिंहदरबार पुगे, कहिले म्याग्दी जिविस पुगे त कहिले पर्यटन कार्यालयमा। व्यक्तिगत स्वार्थका लागि होइन, मन्दिरका लागि बजेट माग गर्न पुगेका।

मालिकाको काख विम गाउँका रैथाने। खेतीपातीमै उनको जिन्दगी बित्यो। पछिल्लो कालखण्डमा मालिकातिर एकोहोरिएका हुन्। त्यसो त गाउँको खानेपानी, विद्यालय, स्वास्थ्यचौकी निर्माण र व्यवस्थापन लगायत सामाजिक काममा पनि खटिँदै आएका छन्।  

आठ सन्तानका पिता उनी ७३ वर्षका भए। फुर्तिला छन्। पहिलापहिला गाउँबाट हिँडेर ४ घन्टामा मन्दिर पुग्थे। अचेल ६ घन्टा लाग्छ। मालिकाको सेवाबाट उनलाई सन्तोक मिलेको छ। शक्तिले मिलेको छ। उनी सकारात्मक सोच एवं युवा जोशका साथ काम गर्छन्। ‘मुलुकमा शान्ति छाइरहोस्’, उनी भन्छन्, ‘अब मालिकाको थप विकास गर्ने जिम्मा युवाहरूको हो।’

पूर्वाधार
श्रीप्रसाद रोका,अध्यक्ष, मालिका गाउँपालिका


हाम्रो गाउँपालिकाको प्रमुख पर्यटकीय सम्पदा मालिका नै हो। हामी पूर्वाधार विकाससँगै पर्यटन चेतना बढाउँदै छौं। हामी मन्दिरको बेस क्याम्पसम्म मोटर बाटो पु-याउँदै छौं। डाँडामा खानेपानीको पनि पु-याउँछौं। मालिकालाई धौलागिरी पदमार्ग र गुरिल्ला पदमार्गसँग कनेक्ट पनि गराउँदै छौं।

केवलकार
खरमाया बिटालु,उपाध्यक्ष, मालिका गाउँपालिका


मालिका प्राकृतिक एवं आध्यात्मिक भूमि हो। अचेल मेलाका बेला मात्र भक्तजन त्यहाँ पुग्छन्। केवलकार चलाउन सके वर्षैभरि तीर्थालु पुग्ने थिए। त्यसैले तल सहस्रधाराबाट डाँडासम्म केवलकार चलाउने योजना छ। साथै मन्दिरभन्दा तल निजी क्षेत्रलाई होटल बनाउन प्रोत्साहित गर्दैछौं।  

स्वागतम्
ओमकार रोका,सचिव, मालिका क्षेत्र विकास समिति


मालिका साक्षात् देवी हुन्। यिनको आशीर्वाद लाग्छ। त्यसैले देशभरका भक्तजनलाई यहाँसम्म डाक्न पाए हुन्थ्यो। मालिकामा पर्यटक बढाउन सके यसको सेरोफेरोमा बसोबास गर्ने हामी गाउँलेको आर्थिक स्थिति सुध्रिन्छ। हामी पाहुनालाई हृदयदेखि नै स्वागत गर्न हरपल तयार छौं।

टोड्केमा हनिमुन
टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। त्यहाँको पर्यटन विकाससँगै सेरोफेरोका गाउँ पनि चम्कनेछन्। त्यसैले बेनी बजार–टोड्के सडक कालोपत्रे गर्न अबेला भैसक्यो।

हिजो मुला र आलुका लागि ख्याति कमाएको टोड्के आज पर्यटकीय गन्तव्य बनेको छ। त्यहाँको शान्त वातावरण, दूधे हिमाल र शीतल वतासले मोहित बनाउँछ। डाँडा(२,४०० मिटर)बाट गुर्जा, चुरेन, मानापाथी, निलगिरी , अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। बिहान सूर्यको लाली पर्दा र साँझ घाम डुब्दा रंगीन बन्छन् हिमाल।  

टोड्के अर्थात् बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगम। प्रकृति र अध्यात्मको दोभान। डाँडामा स्वर्गद्वारी मन्दिर छ। प्यूठानको स्वर्गद्वारीको शाखाका रूपमा यसको विकास गरिँदैछ। मन्दिरभित्र स्वर्गद्वारी महाप्रभुको खराउ, शिवलिंग लगायत सामग्री सुरक्षित छन्। 

टोड्केमा पुस–माघमा हिउँ पर्छ। त्यतिबेला हिउँ खेल्नेहरू उकालिन्छन्। तल बेंसीमा गर्मी चढ्दा शीतल खोज्दै तन्नेरीहरू त्यहाँ उकालिन्छन्। फागुन–चैतमा डाँडामा लालीगुराँसको बैंस चढ्छ। यस्तो बेला मनै उज्यालो हुन्छ।

रोमाञ्चक वातावरण भएको टोड्केलाई हनिमुन डेष्टिनेशनका रूपमा ब्राण्डिङ गर्ने कि ! त्यहाँ दुई रात बसेर आनन्दित हुन कि ! डाँडामा टोड्के हिल रिसोर्ट खुलेको छ। तीन करोड रुपैयाँ खर्चेर ६ रोपनीमा बनाइएको रिसोर्टका ३५ जना शेयर होल्डर छन्। अट्याच बाथरुमसहित १० कोठा र केही टेन्ट सुविधा छ। एकैपटक ६० जना बास बस्न सक्ने रिसोर्टका अध्यक्ष मीनबहादुर पाइजा बताउँछन्। त्यहाँ सेमिनार हलको पनि व्यवस्था छ।

टोड्के डाँडा वरपर विभिन्न गाउँ छन्। दक्षिणमा पूर्णगाउँ, उत्तरमा झीँ, दक्षिण–पूर्वमा उवाखेत गाउँ छन्। पूर्णगाउँ, उवाखेत र झीँमा होमस्टे सुविधा छ। झीँबाट हिँडेर जाँदा डेढ घन्टामा टोड्केको थाप्लोमै पुगिन्छ।

टोड्केबाट ५ घन्टा पदयात्रामा मालिकाधुरी पुगिन्छ। टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँहरूको पनि कायाकल्प हुन सक्छ। मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाले आआफ्नो क्षेत्रबाट टोड्के उकालिने सडक कालोपत्रे गरिहाल्नु जरुरी देखिन्छ। 

आज त्यहाँ एउटा रिसोर्ट खुलेको छ, भोली डाँडामा अरू रिसोर्ट पनि खुल्नेछन्। वरपरका गाउँमा पनि चहलपहल बढ्नेछ। अनि बल्ल टोड्के एउटा सुन्दर पहाडी गन्तव्यका रूपमा चम्किनेछ। म्याग्दी सदरमुकाम बेनी बजारबाट जीपमा टोड्के जान डेढ घन्टा लाग्छ।
     
घुमफिर प्याकेज
भीमबहादुर शेरचन,निर्देशक, टोड्के हिल रिसोर्ट  


प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरण भएको टोड्केमा मनको शान्ति मिल्छ। हामीले २ रात ३ दिनका विभिन्न प्याकेज बनाएका छौं। हनिमुन प्याकेजमा जोडीले ९ हजार एक सय ९९ रुपैयाँ तिर्नुपर्छ। त्यस्तै फेमिली प्योकजको ४ हजार ५ सय ९९ रुपैयाँ, कर्पोरेट प्याकेजको ३ हजार ९ सय ९९ रुपैयाँ र एजुकेशनल प्याकेजको २ हजार ९ सय ९९ रुपैयाँ लिन्छौं। प्याकेज किन्नेलाई बेनी बजारबाट टोड्केसम्म निःशुल्क यातायात सुविधा दिन्छौं।   
सम्पर्क: ९८५१०२३०३२







यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad