बौद्ध दर्शन

गौतम बुद्धका आमा र छोराछोरीहरू

शनिबार, १० फागुन २०७६, ०९ : २४ वसन्त महर्जन

सुत्केरी पत्नी यशोधरा र छोरा राहुललाई घरमै छाडेर राति सुटुक्क भागेका सिद्धार्थ गौतम बुद्ध पछि भगवान् बने, यो उनीसम्बन्धीको सामान्य बुझाइ हो। त्यस्तै उनको जन्मसम्बन्धी सामान्य बुझाइ छ, माइती गएकी मायादेवीले बाटो(लुम्बिनी वन)मै बच्चा पाएकी थिइन् र सातौं दिनमा उनको देहावसान भयो।  यस्ता बुझाइअनुसार नै गौतम बुद्धको जन्म स्मारकलाई ‘मायादेवी मन्दिर’ नामकरण गरिएको छ र बुद्धसँगै यशोधरा नराखिएकामा चित्त देखाउनेहरू धेरै छन्। बुद्ध र बौद्ध धर्मदर्शनसम्बन्धी सामान्य जानकारी नै नराखी निष्कर्षमा पुग्दाको परिणाम हो, यस्तो बुझाइ।

बौद्ध वाङ्मयहरूमा गौतम बुद्धकी आमाको नाम मायादेवी नै छ। बोधिसत्वले जन्मन  विभिन्न पक्षको छनोट गर्ने क्रममा दस महिना  सात दिन आयु बाँकी रहेकी मायादेवीको कोखलाई छानेको र असारको पूर्णिमाका दिन गर्भ प्रवेश गरेको सन्दर्भ बौद्ध वाङ्मयमा प्रस्टै लेखिएको छ। मृत्युपछि मायादेवीले त्रायंतीश देवलोकमा देवपुत्रका रूपमा जन्म लिएकी थिइन्। शुद्धोदनले मायादेवीको मृत्युपछि साली प्रजापतिसँग विवाह गरेको अड्कल सही होइन। उनले दुवै दिदीबहिनीसँग एकैचोटि वा  अघिपछि विवाह गरे, यसबारे प्रस्टसँग केही खुल्दैन। मायादेवीबाट सन्तान नपाएपछि प्रजापति गौतमीसँग शुद्धोदनको विवाह भएको हुन सक्ने बलियो सम्भावना भने छ। मायादेवीले गौतम बुद्धलाई जन्माउनुअघि प्रजापति गौतमीले नन्दा नामकी एक छोरी पाएकी थिइन्। गौतम बुद्ध जन्मिएको केही समयपछि नै प्रजापति गौतमी पनि सुत्केरी भएकी थिइन्। उनको दोस्रो सन्तान नन्द हो। उनले आफ्ना दुई र  दिदीको एक छोरा (गौतम बुद्ध) गरी तीन सन्तानलाई हुर्काएकी थिइन्।

गौतम बुद्धलाई जन्माउने मायादेवी र हुर्काउने आमा प्रजापति गौतम भनेर चिन्नु र चिनाउनु सही हो।  महायानी बौद्ध धर्ममा बुद्धमाता भनेर प्रज्ञापारमितालाई लिइन्छ। बिनाप्रज्ञा कोही पनि बुद्ध हुन नसक्ने भएकाले  प्रज्ञालाई अत्यन्तै ठूलो स्थान दिई प्रज्ञापारमिता देवी भनी चित्रण  गरिएको हो र बौद्ध मूर्तिकलामा प्रज्ञापारमिता देवीको पनि ठूलै महिमा गाइन्छ। यसलाई भौतिक रूपमा गौतम बुद्धकी आमा मायादेवी र आध्यात्मिक रूपमा प्रज्ञापारमिता देवी भनेर अथ्र्याउँदा आपत्ति हुँदैन। बुद्धत्व प्राप्त गरेको केही वर्षपछि गौतम बुद्ध त्रायंतीश देवलोकमा पुगी आफूलाई भौतिक रूपमा जन्म दिने आमा (तर देवपुत्रका रूपमा रहेका)लाई धर्मउपदेश दिएको सन्दर्भ बौद्ध वाङ्मयमा उल्लेख छ। सो धर्मउपदेश नै अहिले संरक्षित ‘अभिधम्म’ हो  भन्ने भनाइ छ। त्रायंतीशका लागि श्रावस्तीबाट गएको र फर्कंदा संकाश्यमा झरेको भनिन्छ। अष्ट महास्थानमा यी दुई ठाउँको पनि गणना हुन्छ।

आमा प्रजापति गौतमी प्रव्रज्या लिई भिक्षुणी बनेपछि बुद्धसँगको नाता सम्बन्ध बाबु–छोरीका रूपमा बदलियो।
 

बुद्ध भइनसकेको अवस्थालाई बोधिसत्व भनिन्छ। अर्थात्, सम्यक् सम्बुद्ध हुन साधनारत् सत्व नै बोधिसत्व हुन्। बोधिसत्वको अवस्थामा गृहनगर कपिलवस्तु छाडेर गएका गौतम बुद्ध प्रथमपल्ट कपिलवस्तुमा आउँदा एक प्रकारको असमञ्जस स्थिति उत्पन्न भएको थियो। सारा संसारबाट ‘बुद्ध’ भनी श्रद्धा गरिएका गौतम बुद्धको दर्शन गरेर पनि ज्ञातिबन्धुहरू उनको वन्दना गर्न हिचकिचाएका थिए। उनीहरूभन्दा कम उमेरका गौतम बुद्धले जेठापाकाको वन्दना गरेका थिएनन्। उनी आफूभन्दा कम उमेरका ज्ञातिबन्धुहरूलाई वन्दना गर्न  भनिरहेका थिए। यो असमञ्जस स्वयं बुद्धले बुझी ऋद्धिबलले आकाशमा पुगेर ज्ञातिबन्धुको टाउकोमा खुट्टाको धुलो झारिदिएका  थिए। यसको तात्पर्य सबैले तुरुन्तै बुझेर टाउको निहु-याएर उनलाई वन्दना गरे।

कपिलवस्तुमा पुग्दा भिक्षा प्राप्त गर्ने तरिका  जान्न  गृहनगरमा अतीत बुद्धहरू (गौतम बुद्धभन्दा पहिले भएर गएका क्रकुछन्द, कश्यप, कनकमुनिलगायत बुद्धहरू)ले कसरी भिक्षा प्राप्त गरेका थिए भनेर हेर्दा अन्यत्र जस्तै सामान्य ढंगले भिक्षाटन गरेको पत्तो लाग्यो र सोहीअनुसार गौतबुद्ध कपिलवस्तुमा भिक्षाटनका लागि बाटोबाटोमा हिँडे। यो कुरा थाहा पाएर शुद्धोदनले जनाउँदै भनेका थिए, ‘भिक्षाबाट जीवन निर्वाह गर्ने हाम्रो शाक्य कुलको चलन होइन।’ जवाफमा गौतम बुद्धले भनेका थिए, ‘त्यो कुल तपाईंको हो, मेरो त बुद्ध कुल हो।’ यो जवाफ निकै अर्थपूर्ण र गम्भीर छ। शुद्धोदनले  जीवनको अन्तिम अवस्थामा आफ्नो मुख हेर्न चाहेको खबर पाएपछि गौतम बुद्ध कपिलवस्तु आइपुगेका थिए। आमाबाबुलाई मान्नु र सेवाशुश्रूषा गर्नुलाई बौद्ध आदर्श मानिन्छ। गृहत्याग गरी भिक्षु बनेकाहरू घर–व्यवहारमा पूर्णतः अलग हुन्छन्, तर आमाबाबुका सवालमा भने त्यो नियम लागू हुँदैन। भिक्षामा प्राप्त चिजवस्तुले आमाबाबुको भरणपोषण गर्न पाइन्छ।

बुबाको अन्तिम समयमा गौतम बुद्ध कपिलवस्तु आउनुलाई यही कुराको नमुना मान्न सकिन्छ। बुद्धले पहिल्यै मार्गफलमा लागिसकेका उनलाई उपदेश दिँदै धर्म अवबोध गराउने क्रममा अर्हत् पनि बनाइदिए। जन्म र मृत्युको चक्करबाट मुक्त हुनु अर्हत् हुनु हो र यस्तो अवस्थामा पु-याइदिनु ठूलै उपकार मान्नुपर्छ। पतिको देहावसानपछि भिक्षुणी बन्ने प्रजापति गौतमीको माग सुरुमा बुद्धबाट अस्वीकृत भयो। उनी अन्य महिलासहित  यही माग गर्दै वैशाली पुगिन् र अन्ततः प्रव्रज्या लिई भिक्षुणी बनिन्। यसरी भिक्षुणी संघको स्थापना भयो। यसपछि बुद्धसँगको नाता सम्बन्ध बाबुछोरीका रूपमा बदलियो। यस प्रसंगमा बुद्धको प्रशंसामा प्रजापति गौतमीले भनेकी थिइन्, ‘हे सुगत, म हजुरको लालनपालन गर्ने आमा हुँ। यसरी नै हे वीर, हजुर मेरो पिता पनि हुनुहुन्छ। हजुर सधर्मबाट उत्पन्न हुने सुख दिने हुनुहुन्छ, म त्यही धर्ममा जन्मेको हुँ। हजुरको यो रूपकाय (भौतिक शरीर)लाई मैले हुर्काएकी हुँ, तर यो आनन्द लिन सक्ने सधार्मकाय (धर्मको शरीर) हजुरबाट हुर्काइएको हो। मैले हजुरलाई केही क्षण तृप्त हुने दूध खुवाएको हुँ, तर हजुरले मलाई सधैं तृप्त हुने धर्मरूपी दूध पिलाउनुभयो।’

प्रव्रज्या लिई भिक्षुणी हुनेहरूमा दिदी नन्दा र पत्नी यशोधरा पनि थिए। संघभित्र उनीहरूको पनि नाता सम्बन्ध बाबु–छोरीकै रूपमा थियो। यो दृष्टान्त ‘त्रिपिटक’अन्तर्गत ‘थेरीगाथा’मा काव्यमयी भाषामा पढ्न पाइन्छ। गौतम बुद्धले छोरा राहुललाई सातै वर्षको उमेरमा श्रामणेर बनाइदिएका थिए। उमेर नपुगेकालाई भिक्षु बनाउने चलन अहिले पनि छैन। श्रामणेर भन्नु भिक्षु हुन  उमेर नपुगेको र प्रशिक्षणको अवधि हो। बीस वर्षको उमेरपछि उपसम्पदा गराई उनलाई पूर्ण रूपमा भिक्षुको हैसियत दिइएको थियो। उनले अन्य भिक्षुसरह नै सेवा सुविधा पाएका थिए। बुद्धले सबै भिक्षुलाई ‘पुत्र’ र भिक्षुणीलाई ‘पुत्री’ भनेर सम्बोधन गर्ने गरेको सन्दर्भमा भिक्षुहरू ‘शाक्यपुत्र’ र भिक्षुणीहरू ‘शाक्यपुत्री’ का रूपमा चिनिन थालेका हुन्। गौतम बुद्धलाई सम्बोधन गरिने अनेक नाममा ‘शाक्यमुनि’ र ‘शाक्यसिंह’ पनि प्रचलनमा छन्। शाक्यमुनि र शाक्यसिंहका सन्तान वा पुत्रपुत्रीका रूपमा ‘शाक्यपुत्र’ र ‘शाक्यपुत्री’ भनिनु स्वाभाविक हो।

यस अर्थमा संसारभरका सम्पूर्ण भिक्षु ‘शाक्यपुत्र’ र भिक्षुणीहरू ‘शाक्यपुत्री’ हुन्। ‘शाक्य’ शब्दले कुनै बेला रक्तसम्बन्ध रहेको एउटा निश्चित कुल तथा शाक्य गणराज्यका सम्पूर्ण देशवासीलाई जनाउँथ्यो, हाल अर्थविस्तार भएर भिक्षु र भिक्षुणीलाई पनि समेट्छ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad