सुन्दर बस्ती, जर्जर जिन्दगी

शनिबार, १० फागुन २०७६, ०९ : ०५ कविराज कार्की

धुर्मुस–सुन्तली फाउन्डेसनले तीन वर्षअघि बनाइदिएको ‘एकीकृत नमुना मुसहर बस्ती’को शब्दचित्र हो यो। महोत्तरीको बर्दिबास चोकदेखि मूल सडक हुँदै करिब पाँच सय मिटर पूर्व लाग्दा भेटिने दक्षिणतर्फको सडकबाट एक किलोमिटर जतिको यात्रापछि मुसहर बस्ती पुग्न सकिन्छ। त्यहाँ पुग्ने जोकोहीलाई लाग्छ, कुनै हाउजिङ कम्पनीले सुन्दर घर बनाएर बसालिदिएको आकर्षक बस्ती हो त्यो। अझ यो पनि लाग्छ, त्यहाँ बसोबास गर्नेहरू सबै सुखी र सम्पन्न छन्। तर अपेक्षाविपरीत त्यहाँ बस्ने मुसहर समुदायको कथाव्यथा भने निकै कहालीलाग्दो छ,  उनीहरू निकै अभावग्रस्त र संकटमय दैनिकी गुजार्न बाध्य छन्। कारण हो, उनीहरूसँग न जग्गाजमिन छ, न  कुनै भरपर्दो रोजगारी। दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्नु र काम नपाएको दिन भोकै रात काट्नु उनीहरूको बाध्यता हो।

पंक्तिकार केही दिनअघि एकाबिहानै त्यस बस्तीमा पुग्दा मुसहर बालबालिका खाली खुट्टै गुलेली खेलिरहेका भेटिए। खेलको धुनले सहिनसक्नु चिसोको कुनै पर्वाह थिएन उनीहरूलाई। ती बालबालिकाप्रति अभिभावकले पनि खासै ध्यान नदिएको भान हुन्थ्यो। त्यतिबेला पुरुषहरू घरबाहिर आगो ताप्न व्यस्त देखिए भने महिलाहरू घरबाहिरको चुलामा खाना पकाउन व्यस्त थिए।

एकीकृत नमुना मुसहर बस्ती परियोजना
२०७२ को भूकम्पका कारण देशका विभिन्न भूभागमा बसोबास गर्नेहरू प्रभावित भए। भूकम्पको असर कम हुँदै जाँदा सम्पन्नहरू त आ–आफ्ना घरमा सरे, तर विपन्नहरू पाल जिन्दगीबाट बाहिर निस्कन सकेनन्। महोत्तरीका मुसहर  भने पालसमेत नहुँदा झनै ठूलो बिचल्लीमा परे। पुराना सारीलगायत लुगाले बारेर बस्नुपरेको तीतो यथार्थको सामना उनीहरूले गर्नुप-यो। तिनै मुसहरलाई एकै ठाउँमा घर बनाएर राख्न धुर्मुस–सुन्तली फाउन्डेसनले पहलकदमी लियो। सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती बनाइसकेको उक्त फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि २०७३ पुस २५ मा शिलान्यास ग-यो। करिब तीन महिनाको अन्तरालमा निर्माण सम्पन्न भएको बस्ती २०७४ वैशाख १ गते वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट हस्तान्तरण गरिएको थियो। ५० घर भएको उक्त बस्तीमा एउटा सामुदायिक भवन, एउटा बालउद्यानलगायत अन्य संरचना छन्। हास्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा धुर्मुस–सुन्तली फाउन्डेसन बनेको हो।

छोराछोरी पढाउनुपर्छ, ठूलो मान्छे बनाउनुपर्छ भन्ने त लागेको हो छ, तर सम्पत्ति नहुँदा कापी–कलम किनिदिन पनि सकिएको छैन।

कापी–कलम किन्न छैन पैसा  
घर नं. १० मा जयनन्द सदा बस्छन्। पंक्तिकार त्यहाँ पुग्दा उनी छोरालाई स्कुल पोसाक लगाइदिँदै थिए। हामीले उनलाई गफ गर्न झक्झक्यायौं। ‘नयाँ घरमा बस्न पाएर खुसी छौं। विभिन्न संघसंस्थाको सहयोगमा जनचेतना फैलिएको छ,’ गफैगफमा पीडा ओकल्दै उनले भने, ‘छोराछोरी पढाउनुपर्छ, ठूलो मान्छे बनाउनुपर्छ भन्ने त लागेको हो छ तर सम्पत्ति नहुँदा कापीकलम किनेर दिन पनि सकिएको छैन।’ ज्यालामजदुरीले बिहान–बेलुकाको छाक टार्नै हम्मेहम्मे हुने उनी बताउँछन्। सरकारले कुनै रोजगारीको सिर्जना गरिदिए आर्थिक संकटबाट मुक्ति मिल्ने उनलाई लागेको छ। सरकारी विद्यालयमा छोराछोरीले निःशुल्क पढ्न पाए पनि कापीकलम किनिदिन नसक्दा दुःख लाग्ने उनी सुनाउँछन्। जयनन्दका छोरालाई मात्र होइन, मुसहर बस्तीका प्रायः सबै बालबलिकालाई कापीकलम अभावले सताइरहन्छ। कारण, त्यहाँका सबै अभिभावक अत्यन्त न्यून ज्यालामा निर्भर छन्।  

टाढाबाट दाउरा ल्याउनुपर्ने बाध्यता   
बस्तीका प्रायः सबै परिवार खानेकुरा पकाउन दाउरा नै प्रयोग गर्छन्। आर्थिक संकटका कारण उनीहरूले ग्याँस किन्न नसकेका हुन्। बत्ती बालेको बिल तिर्न नसकिरहेका बेला हिटर र राइसकुकर प्रयोग गर्ने त झन् कुनै सम्भावना छैन उनीहरूमा। दाउरा खोज्न टाढा वनसम्म पुग्नुपर्ने बाध्यतामा उनीहरूलाई छ। सोही बस्तीकी सुनीता सदाले ग्याँस चुलोमा खाना पकाउने रहर नगरेकी होइनन्, रोजगारी अभावले दैनिक खर्चको जोहो गर्नै मुस्किल पर्ने हुनाले त्यो चाहना पूरा गर्न सकेकी छैनन्। दैनिक खाना पकाउने दाउरा खोज्न तीन घन्टा पैदल हिँडेर दाउरा खोजेर ल्याउनुको विकल्प नरहेको उनी बताउँछिन्।

‘जंगल पुग्नै तीन घन्टा लाग्छ,’ उनले भनिन्, ‘दाउरा खोज्दैमा दिन बित्छ, एक्लैले के मात्र भ्याउनु ?’ पति बितेपछि कमाउने एक्लै भएकाले घर सम्हाल्न निकै गाह्रो भइरहेको गुनासो उनले गरिन्। सुनिताकी एक्ली छोरी सपनाले भविष्यमा डाक्टर बन्ने सपना बुनेकी छन्। तर छोरीलाई कसरी पढाउने भन्ने पिरलोमै अल्झिएकी सदा डाक्टर बनाउन सकिने त कल्पना पनि गर्दिनन्।

किनेर खाद्यान्नको जोहो  
‘जमिन भए हामी आफैं धान उमाथ्र्याैं,’ घर नं. ५ का विष्णुदेव सदाले भने, ‘दैनिक छाक टार्न ज्याला मजदुरी गर्नैपर्छ।’ खाद्यान्न  किन्न बिहान–बेलुकासम्मै धेरै दुःखकष्ट बेहोर्नुपरेको उनी सुनाउँछन्। ‘सरकारले हामी पीडितको मर्म बुझ्नै  सकेन,’ निन्याउरो मुख पारेर उनी भन्छन्, ‘हामीलाई रोजगारीको सिर्जना गरिदिए खर्च जुटाउन सजिलो हुन्थ्यो।’ उनका अनुसार घुम्न आउनेहरूले सुन्दर घर र भव्य बस्तीमा बस्न पाउनेलाई भाग्यमानी भन्ने ठानेका हुन्छन्, तर वास्तविकता कसैले बुझेका छैनन्।

पानी र विद्युत्को महसुल तिर्नै मुस्किल
भव्य बस्ती बनाउँदा पानी र बिजुलीको सुविधा त हुने नै भयो तर त्यसबापत उठ्ने बिल तिर्न भने निकै कठिनाइ भइरहेको त्यहाँका मुसहरहरू बताउँछन्। कोहीकोही भने पैसा तिर्नुपर्दाको पीडा उकेल्दै पहिला टुकी बत्ती बालेर छाप्रोमा बस्दा नै ठीक रहेको बताउँछन्। ‘अहिले चट्ट परेको घरमा बस्दा बत्ती र पानीको बिल सबै तिर्नुपर्दा गाह्रो हुने गरेको छ,’ सुनिता भन्छिन्, ‘जति गाह्रो भए पनि बत्तीको उज्यालोमा बस्ने बानी परिसकेको छ, के गर्नु ?’

कमाउने आधार ज्याला मजदुरी
ज्याला मजदुरीबाटै जीविका चलाउँदै आएका नथुनिया सदा भन्छन्, ‘हामी कामको पर्खाइमा बसिराखेका हुन्छौं। ट्याक्टर धनी लेबर खोज्दै आउँछन् त्यसपछि काममा जान्छौं। काममा नजाने हो भने कसरी बाँच्ने भन्ने समस्याले पिरोल्छ।’

जग्गाजमिन नहँुदा बिहान–बेलुकाको छाक टार्न, छोराछोरी पढाउन र कपडा जोहो गर्न निकै गाह्रो पर्ने गरेको उनी सुनाउँछन्। दुईचार पैसा आम्दानी हुने आसमा एक–दुईवटा बाख्रा किनेर पाल्न थालेको सोही बस्तीका लट्टु सदा बताउँछन्। ‘बाख्राले पाठो जन्मायो भने बेच्छु, पाठी जन्मायो भने पाल्छु,’ उनी भन्छन्, ‘दाउरा संकलन गर्न जाँदा बाख्रालाई समेत घाँस र सेउला काटेर ल्याउँछु।’ खाली खुट्टै जंगल जानुपर्ने विवशता सुनाउँदै उनी भन्छन्, ‘कमाइ गर्न साह्रै गाह्रो छ, भएको कमाइ घरखर्च टार्दैमा सकिन्छ। जुत्ताचपल किन्ने पैसासमेत हुँदैन।’

दाइजो प्रथाले विवाह समुदायमै सीमित  
मुसहर समुदायकै केटा र केटीबीच विवाह हुँदा दाइजो दिनुपर्ने अवस्था छैन। तर, तराईका अन्य समुदायसँग विवाह गराउँदा दाइजो धेरै दिनुपर्ने अवस्था छ। दाइजो दिन नसक्ने भएकाले नै छोरीचेलीको अन्य समुदायसँग विवाह हुन नसकेको लट्टु बताउँछन्। ‘दाइजोप्रथाले मुसहर बस्तीलाई समेत सताएको छ,’ उनी भन्छन्। 

कहालीलाग्दो विगत  
उनीहरूले विगत कहालीलाग्दो भएको सुनाए। एकीकृत बस्तीमा सर्नुअघि पुराना फरियाले छेकेर बनाएको छाप्रोमा बस्ने गरेको बताउँदै घर नं. ५ का विष्णुदेव सदा भन्छन्,  ‘पहिला हामी असुरक्षित थियौं। हिउँदमा खेपिनसक्नु जाडो हुन्थ्यो, बर्खामा डुबानमा पथ्र्यौं।’ उनका अनुसार सर्पको डर हुन्थ्यो, स्वास्थ्य सुविधा थिएन। उपचार गर्नुपर्छ भन्ने चेतनाको पनि अभाव थियो।

‘धर्मुस–सुन्तली फाउन्डेसनले बासस्थान बनाइदिएपछि व्यवस्थित रूपमा बस्न पाएका छौं,’ उनी भन्छन्, ‘हाम्रो समुदायको चेतनास्तर पनि बढेको छ। सकीनसकी छोराछोरी पढाउन थालेका छौं।’

जनता माविका शिक्षक अजयकुमार महतो विद्यालयमा विभिन्न पिछडावर्गलाई निःशुल्क शिक्षा दिँदै आएको सुनाउँछन्। यस विद्यालयमा मुसहर, सुनार, महरा, मोची, कामी तथा अन्य विपन्न समुदायका विद्यार्थीलाई पढाइन्छ। दिवा खाजाको व्यवस्था पछि मुसहर बालबालिका निरन्तर विद्यालय आउन थालेको उनी बताउँछन्।

बर्दिबास नगरपालिकाका रोजगार संयोजक लभकुमार यादव मुसहर समुदायका महिलाका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँछन्। बर्दिबास नगरपालिकाका ५ हजार २ सय ९९ बेरोजगारमध्ये ४० प्रतिशतलाई एक साता जागिर दिएको र गरिबी निवारण समिति–२०७६ लागू गरेको उनले जानकारी दिए। त्यस्तै, जनता सामाजिक सुरक्षा भत्ता कार्यक्रम आर्थिक वर्ष २०५१/५२ बाट लागू भएको उनको भनाइ छ।

‘नगरपालिकाले महिलालाई सक्षम बनाउन तालिमहरू दिँदै आएको छ,’ संयोजक यादव भन्छन्, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३३ जनालाई रोजगारीमा सूचीकृत गरेका थियौं। उनीहरूलाई सडक मर्मत, वृक्षरोपणलगायत काम गर्न लगायौं।’

बर्दिबास नगरपालिकाका शाखा अधिकृत गणेशप्रसाद दाहालले ‘बेटी पढाओ बेटी बचाओ’ अभियान सञ्चालन गर्दै आएको बताए। छोरी शिक्षा बिमा कार्यक्रम २०७५ माघ २ गते लागू गरिएको उनले जानकारी दिए।

उच्च शिक्षा पढ्ने एक जना
घर नं. ४२ का मञ्जय सदा मुसहर बस्तीमा उच्च शिक्षा लिने एक्लो व्यक्ति हुन् । उनी वाणिज्यशास्त्रअन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्। बुबा लक्ष्मी र आमा मानकीले  अर्काको घरमा मजदुरी गरेर उनलाई विद्यालय पठाए। कक्षा ६ देखि नै तेस्रो हुने मञ्जय अहिले बस्तीकै जान्नेबुझ्ने व्यक्तिका रूपमा दरिएका छन्। ‘साथीहरू सबै ट्युसन पढ्थे,’ उनले विगत सुनाए, ‘मसँग ट्युसन पढ्ने पैसा थिएन, तैपनि विद्यालयमा टपटेनमै रहें।’

उनी जनता माध्यमिक विद्यालयमा शिक्षक छन्। उनी बस्तीका बालबालिकालाई विद्यालय जान प्रेरित गर्छन्। उनले बस्ती विकास र शिक्षामा विभिन्न कार्यक्रम चलाउँदै आएका छन्। बस्तीमा विद्यालय जाने उमेरका करिब एक सय ३ बालबालिका छन्। मञ्जय उनीहरूलाई निःशुल्क ट्युसन पढाउँछन्।
(एकीकृत नमुना मुसहर बस्ती पुगेर फर्केपछि)





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad