coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय। तस्बिर: नागरिक

खोटाङ – नेपाली सेनाले जिल्लाको रावाबेँसी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरमटारमा सञ्चालित शिविरमा दुई सय २४ जनाले सेवा लिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार शिविरमा १४५ महिला र ७९ पुरुषले सेवा लिएका छन्।

शिविरमा नाक, कान, घाँटी र आँखासम्बन्धी बिरामीको चेकजाँच गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेना गोरखनाथ गण मुढे ब्यारेकको आयोजना, गाउँपालिकाको व्यवस्थापन एवं जिल्ला स्वास्थ्य कार्यालय र नेत्रज्योति संघको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा गाउँपालिकाभित्रका कुभिन्डे, खार्पा, डुम्रेधारापानी, दुबेकोल, हौंचुर, लामीडाँडा लगायतका स्थानीयले सेवा लिएको गाउँपालिकाका कर्मचारी नरबहादुर श्रेष्ठले बताए। शिविरमा जिल्ला अस्पताल, दिक्तेलका मेडिकल विशेषज्ञले समेत सर्वसाधारणको स्वास्थ्य जाँचका साथमा उपचार गरेका छन्। उपचारका लागि स्थानीय घन्टौं हिँडेर शिविर स्थलमा आइपुगेका थिए।

शिविरमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, वडाध्यक्ष लीलानारायण श्रेष्ठ, यज्ञनारायण श्रेष्ठ, ज्ञानबहादुर पाण्डे, कालीदास पोखरेललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १० फाल्गुन २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App