८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना भाइरस कति बाँच्छ?

काठमाडौं – जनवरी पहिलो साता पहिचान भएको नोवल कोरोना अर्थात् कोभिड–१९ सबैभन्दा नयाँ भाइरस हो। अन्तर्राष्ट्रिय जर्नल लाइभ साइन्समा प्रकाशित लेखअनुसार यो भाइरस धातु, सिसा तथा प्लास्टिकमा बाँच्न सक्छ। यो भाइरस मानिसको शरीरबाहिर कति समय बाँच्छ भन्ने कुरा पनि खोजीको विषय बनेको छ।

अनुसन्धानकर्ता तथा लेखकले यो भाइरस शरीरबाहिर एक साताभन्दा बढी बाँच्न सक्ने जनाएका छन्। तर, ८६ फरेनहाइट तथा ३० डिग्री तापक्रमभन्दा माथि यो भाइरस लामो समय बाँच्न सक्दैन। साथै यो भाइरस संक्रमणरहित पारिएको ठाउँमा पनि लामो समय बाँच्न सक्दैन। जस्तो कि ६२ देखि ७१ प्रतिशत इथानोल, एक प्रतिशत सोडियम हाइपोक्लोराइटले सफा गरेमा यो भाइरस एक मिनेटमै निष्क्रिय हुन्छ। यो भाइरस सार्स भाइरसकै प्रजाति भएको र यो नियन्त्रण विधि सार्स भाइरसमा प्रयोग सिद्ध भइसकेकाले यो भाइरसमा पनि प्रभावकारी हुने लेखकको दाबी छ। तर, कोरोना भाइरस रहेको ठाउँ र संक्रमित बिरामीलाई कति पटक छोएमा यो सर्छ भन्ने विषयमा अध्ययन भइसकेको छैन।

कोरोना भाइरस सफाइ नपुगेर सर्छ भन्ने आधार देखिँदैन र सफा भइरहेका स्वास्थ्यकर्मीमा समेत संक्रमण हुनु भनेको गम्भीर विषय हो।

विश्व स्वास्थ्य संगठनले भने रक्सीसहितको हात धुने सेनिटाइजरको प्रयोगले यो भाइरस निष्क्रिय हुने बताएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुपराज बाँस्तोलाले यो भाइरसको व्यापक अध्ययन भइनसकेको बताए। तर, यो भाइरस सार्स प्रजातिकै भाइरस भएकाले एक साताभन्दा बढी र ओसिलो तथा घाम नलाग्ने ठाउँमा जीवित रहने डाक्टर बाँस्तोलाको भनाइ छ। ‘सबै भाइरसको चरित्र घाम पर्ने ठाउँमा जीवित रहन सक्दैनन्,’ उनले भने।

सोही अस्पतालका अनुसन्धान विभाग संयोजक डाक्टर शेरबहादुर पुनले नोवल कोरोना भाइरस अत्यन्त नयाँ भाइरस भएकाले यसको जीवनचक्र र चरित्रबारे व्यापक अनुसन्धान भइनसकेको तर अन्य भाइरसजस्तै बढी तापक्रममा जिउन नसक्ने बताए। ‘यो भाइरस सफाइ नपुगेर सर्छ भन्ने आधार देखिँदैन। सफा भइरहेका स्वास्थ्यकर्मीमा समेत संक्रमण हुनु भनेको गम्भीर विषय हो,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार भाइरस सेलभन्दा पनि सानो जीवित र अजीवित तत्व हो। यो वृद्धि हुने भएकाले जीवित तत्व हो र नमर्ने हुनाले अजीवित तत्व हो। तर, यो पानी तथा चिसोमा एक हप्तासम्म रहने अध्ययनले देखाएको उनले बताए। घाम नपर्ने स्थान तथा जाडो ठाउँमा यो एक सातासम्म जीवित रहन्छ भने घाम लागेको ठाउँमा दुई घण्टापछि स्वतः निष्क्रिय हुन्छ। तर मानिसको शरीरभित्र प्रवेश गरेमा भने कोरोना भाइरस १४ दिनसम्म जीवित रहने चिकित्सकले औंल्याएका छन्।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App