coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शनिबारदेखि बुढा सुब्बा गोल्डकप

धरान - मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा टुबोर्ग गोल्डकपको २२औं संस्करण आज शनिबादेखि सुरु हुँदै छ।

धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारत दार्जिलिङको युके एफसीबीच हुनेछ। प्रतियोगितामा सहभागी हुन युके एफसी धरान आइसकेको आयोजक क्लबले जनाएको छ। ‘युके एफसी प्रतियोगिताको लागि आइसकेको छ। तयारी सबै पूरा भइसक्यो, उद्घाटन समारोहलाई भव्य बनाउछौं,’ आयोजक क्लबका अध्यक्ष किशोर राईले भने। प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राईले गर्नेछन्।

प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटनलाई संगीतमय पनि बनाइनेछ। उद्घाटन समारोहमा स्थानीय गायक मनोज मोते, रोहित मास्केको सांगीतिक प्रस्तुति हुने आयोजकको भनाइ छ। हिमशिखर बोर्डिङ स्कुल तरहराका विद्यार्थीहरुले आकर्षक नृत्य पनि प्रस्तुत गर्नेछन्। प्रतियोगितामा कुल ८ टोली सहभागी हुनेछन्। हालै लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दि क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक टोलीको सहभागिता रहनेछ। यस्तै, विदेशी टोलीमा युके एफसी भारत र कोलकाताको सन डे क्लब, एसबिसिसी सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ। उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउनेछ। यसैगरि, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन्।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App