८ वैशाख २०८१ शनिबार
समाज

हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार

रारा क्षेत्रमा शुक्रबार बिहानदेखि परेको हिमपात । सदरमुकाम गमगडी आसपासको गाउँ नजिक परेको हिमपात । तस्बिर : सु्मन मल्ल

मुगु- हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको बर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।

सदरमुकाम गमगडी र आसपासका गाँउमा बिहान आठ बजेदेखि लगतार बर्षा भएको छ। जिल्लाका अन्य सबै वस्ती तथा उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात भईरहेका कारण जिल्लाभरको जनजीवन कष्टकर भएको स्थानीयबासीले जानकारी दिएका छन्।

हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा गमगडी सडक खण्ड अवरुद्ध हुँदा आआफ्ना गन्तब्य स्थाततर्फ जाने आउने यात्रुहरु अलपत्र परेको छन्।

नेपालगंज र सुर्खेतबाट आउदै गरेको यात्रुवाहक तथा व्यापारीका सामान ल्याएर आएका सवारीसाधन बीचबाटोमै थन्किएका छन् भने हवाई सेवाबाट यात्रा गर्ने यात्रुहरु रारा विमानस्थल ताल्चामा अलपत्र परेका छन्।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-९ वडाका १५ वस्तीमा  सबै भन्दा बाक्लो हिमपात परेको छ। हिमपातले गर्दा सबै भन्दा बढी पशुचौपायलाई घाँसपात तथा जङ्गलमा चराउन समस्या भएको मुगुमा कार्मारोङ गाउँपालिका-९ का पूर्णबहादुर बुढाले जानकारी दिएका छन्।

खत्याड गाउँपालिकाको खमाले, चाकपाडे, निगालबोट, जम्फै सेरी, डाडुपाटा, रोल, जिउका गम्था लगाएत वस्तीमा समेत हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको त्यहाँका स्थानीयबासीले बताएका छन्।

सदरमुकाम गमगडी बाहेक छाँयानाथ रारा नगरपालिकाको १४ वटै वडा र सोरु गाउँपालिकाको ११ वटै वडामा हिमपात भएको छ।

सदरमुकाम गमगडीबाट सुर्खेत जादैै गरेको यात्रुबाहक गाडी जुम्ला जिल्ला र मुगुको सिमानमा पर्ने घुच्चिलेखमा हिमपातले गर्दा यात्रुहरु अलपत्र परेको जानकारी पाएपछि नेपाली सेनाको श्रीदल गुल्मको बुलबुले पोष्टका सेनाले उद्धार गरेका छन्।

शुक्रबार बिहान रारा घुम्न गएका आठ जना बालिकालाई रारामा बाक्लो हिमपात भएपछी उनीहरुको उद्धार गरिएको रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति निरजन धामीले जानकारी दिएका छन्।

गुल्मपति धामिका अनुसार रारा क्षेत्रमा एक फिट भन्दा बढी हिउँ जमिसकेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले दिएको जानकारी अनुसार जिल्लाको  सदरमुकाम बाहेका जिल्लाको सबै उच्च हिमाली क्षेत्रमा शुक्रबार बिहानदेखि हिमपात भएको छ।

हिमपातले सर्वसाधरणको जनजीवन कष्टकर भएको भएपनि कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। रारा घुम्न गएका र सदरमुकाम गमगडीबाड सुर्खेत जादै गरेका यात्रुलाई नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेको छ।

नेपाल प्रहरीको पिना प्रहरी चौकिले मोटरसाइकलसहित छाँयानाथ रारा नगरपालिका-७ घुच्चिलेखको सातमोड भन्ने स्थानमा हिउँमा फसेका पाँच जनाको उद्धार गरी प्रहरी चौकी रैसेरी पिनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुनेश्वरप्रासद साहले जानकारी दिएका छन्।
 

 

प्रकाशित: ९ फाल्गुन २०७६ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App