coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पार्टीबाट बिश्राम लिई कृषिमा जम्दै

दोलखा कांग्रेसका पूर्व सभापति ताराबहादुर कोईराला आफ्नो बाख्रा गोठ र सुन्तला बगैंचामा । तस्बिर : रमेश/नागरिक

दोलखा- वरिपरी सुन्तलाका बगैंचा र पछाडी बारीमा लहरै अनारका रुख। पल्लो छेउमा ५ सय बोट कागती र ७ सय जति किवि छन्। घर मुनी बनाईएको भव्य गोठमा ५० बाख्रा र ६ ओटा गाई अनि एउटा दुधालु भैंसी छ। खोरमा ५० कुखुरा पनि छन्।

दोलखाको मेलुङ गाउँपालिका १ पवटी गाउँस्थित काब्रे टोलमा पुग्दा देखिने यो भव्य पौरख दोलखा कांग्रेसका नेता ताराबहादुर कोईरालाको हो भन्दा मानिसहरु दंग पर्छन्। बहुदलपछि दोलखा कांग्रेसको ४ पटक जिल्ला सभापति र ३ पटक संसदीय चुनाव लडेका कोईराला आफ्नो कृषि कर्म मार्फत राजनीति गर्नेहरु पनि आम नागरिकले जस्तै मेहेनत र परिश्रममा भिज्नुपर्छ भन्ने उदाहरण दिन खोजिरहेका छन्।

पवटी गाउँमा कोईरालाको सुन्तलाको भव्य बगैंचा भने पहिल्यैदेखि थियो। तर त्यसलाई व्यवस्थित बनाउन सकेका थिएनन्। रेखदेख गर्ने जिम्मामा केही मान्छे खटिएका थिए। छोराछोरी प्रायः सबै विदेश अनि आफू पार्टी सभापति हुँदा सदरमुकामको बसाईका कारण उनले गाउँको कृषि कर्ममा समय दिन सकेका थिएनन्। बहुदलपछि चार कार्यकालसम्म दोलखा कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका कोईरालाले २०७२ सालमा १३ औं अधिवेशनपछि पार्टीको जिल्ला नेतृत्वबाट बिश्राम लिने निधो गरे। आफू महासमिति सदस्य बसेर अर्कै उम्मेदवार अघि सारे।

पार्टीको जिल्ला नेतृत्वबाट बिश्राम लिएपछि कोईरालाले एउटा अठोट गरे– ‘अब गाउँ फर्किएर व्यवसायिक कृषि थाल्छु’। सुन्तलाको बगैंचालाई व्यवस्थित बनाए। ७ सय बोट किवी र कागती लगाए। गोठमा बाख्रा थपे, गाई भैंसी किने। पहिल्यै लगाएको १ सय बोट कफी थियो। गाउँ फर्किएर ५ सय बोट पु¥याए। कोईरालाको कृषि कर्म अहिले व्यवस्थित बन्दै गएको छ। दैनिक १० जनासम्म अस्थायी कामदार बारी र बगैंचामा खटिईरहेका हुन्छन्।

आफ्नो कृषि पेशालाई व्यवस्थित बनाउन थालेपछि उत्पादन राम्रो भएको छ। पोहोर मात्र उनले २ हजार केजी किवि बिक्री गरेको सुनाए। सुन्तला पनि बिक्री नगरेका होईनन् तर सोचे अनुसार भएन। ‘जरा कुहिने भाईरस लागेर हैरान पार्‍यो’ उनले भने– ‘सुन्तला र कागती जातका फलमा देखिएको यो समस्या देशैभरी हो, उपायका लागि धेरै पटक सरकारी अधिकारीहरुलाई भनियो तर कसैले सुनेका छैनन्’। बिक्री गर्ने भन्दा पनि कोसेली पठाउने र ईष्टमित्रलाई चखाउने उद्देश्यले किवि, सुन्तला, र आरुबखराको वाईन उत्पादन गरेर परिक्षण गरे। वाईन उत्पादनको कामलाई व्यवसायिक बनाउने सोच उनको छ।

रोगकै कारण ५ सय सुन्तलाका बोटमध्ये ५० ओटाले मात्र उत्पादन गरेको कोईरालाले सुनाए। सुन्तलामा देखिएको जरा कुहिने रोगको अनुसन्धानका लागि उनले पटकपटक प्रदेश सरकारका मन्त्री र कृषि क्षेत्रका विज्ञहरुलाई आग्रह गरे पनि वेवास्ता गरेको सुनाए।

उनको बगैंचामा रहेका अनारका बोटहरुमा समेत पुतली पसेरै गेडा नै झारिदिने समस्या छ। उनकोमा कफीका ५ सय बोट छन्। तुषारोबाट जोगाउन सक्दा कफीले राम्रै उत्पादन दिएको कोईराला बताउँछन्।

कृषि गर्न चाहनेका लागि सरकारले सुविधा नदिएको कोईरालाको गुनासो छ। ‘हाम्रो गाउँ घरमा यत्रा जमिन बाँझै छ, तर काम गर्छु भन्नेहरुका लागि समेत सरकारले उचित कार्यक्रम ल्याउन सकेको छैन’ उनी भन्छन्, ‘फलफूलमा यत्रा किराले दुःख दिईरहँदा अनुसन्धान गरेर उपचारका उपाय ल्याउनुपर्छ की पर्दैन।'

उनी गाउँमा पशु उपचार सेवा समेत अत्याधिक भएको गुनासो गर्छन् । उनले भने, ‘बाख्रा वस्तु पाल्ने किसानहरु आफ्ना वस्तु विरामी हुँदा उपचार गराउन ढाड सेकिने गरी चर्को मूल्य तिर्न बाध्य छन्, औषधिको मूल्य त्यस्तै महंगो छ।’ कोईरालाले बाख्रा र गाईवस्तुका निम्ती मलमुत्रलाई व्यवस्थित तरिकाले प्रशोधन गर्ने उपायसहितको आधुनिक गोठ निर्माण गरिरहेका छन्। तीन महिनाभित्र उक्त गोठलाई सञ्चालनमा ल्याउने उनको सोच छ।


 

प्रकाशित: ९ फाल्गुन २०७६ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App