coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मर्चवारमा दाईजो मुक्त समाज निर्माणार्थ सामूहिक विवाह

भैरहवा- रुपन्देही विकट ग्रामिण क्षेत्र मर्चवारमा ३ जोडीको सामूहिक विवाह भएको छ। शिवरात्रिको पूर्व सन्धयामा सम्मरीमाई–५, रोइनिहवामा दाइजो मुक्त समाज निर्माणको लागि नेपाल भारतका ३ जोडीको समूहिक विवाह भएको हो।

दाइजो एवम् बालविवाहले ग्रसित मधेशी समाजमा दाईजोरहित तथा बालविवाह मुक्त विवाहबारे जनचेतना फैलाउने उद्देश्यले मर्चवारमा पहिलो सामूहिक विवाहको आयोजना गरिएको हो। गत फागुन ३ गतेदेखि सुरु गरेको महायज्ञको छैठौ दिन 'दाईजो प्रथा अन्त्य गरौँ, सामाजिक सद्भाव कायम राखौँ, नारीलाई सम्मान गरौँ'भन्ने नाराका यज्ञ स्थल रोइनिहवामा भारतको अयोध्याका धर्मगुरुहरुबाट विधीवत हिन्दु संस्कारसहित विवाह भएको छ।

१ सय १ जोडीको निःशुल्क विवाह गर्ने लक्ष्यसहित निरामय एवं जगत कल्याणर्थ महामृत्युन्जय मन्त्रजाप एवम् रुद्राभिषेक यज्ञमा स्थानीय २ जोडी र भारतको एक जोडी गरि तीनवटै वरवधुलाई प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतकाले कन्यादान गरेका थिए। विवाहमा दुलहीलाई एकै किसिमको पोशाक तथा एउटै किसिमको सवारी साधबाट बिदाइ गरिएको यज्ञ समिति सदस्य अशोक तिवारीले बताए।  उक्त जोडीहरुलाई सहयोगमै एक थान पलङ्ग, दराज, बाकस, मेच आदि दैनिक उपभोगका घरायसी सामग्री समेत प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ।

विवाह अगाडि बेहुला पक्षका र स्थानीय वाजागाजासहित जन्ती लिएर यज्ञ स्थल आएका थिए। आयोजकहरुले अन्य विवाह जस्तै सामूहिक विवाहमा पनि व्यवस्थापन भएको यज्ञ समितिका अध्यक्ष बंश गोपाल गुप्ताले बताए।
विवाह कार्यक्रममा आर्शिवाद दिँदै प्रदेश सभा सदस्य अष्ठभुजा पाठकले समाजको आखाँ खुल्ने गरि उदाहरणीय काम गरेकोमा सफल दाम्पत्य जीवनको कामना गरे। दाईजो प्रथा अन्त्य गर्ने यो निकै ठूलो र महत्वपूर्ण कार्यक्रम रहेको बताउदै युवा पिढीमा नयाँ शोचको विकास हुने बताए। उनले खुलेर सहयोग गर्ने बताउदै आगामी दिन प्रचारप्रसार गरि धेरै भन्दा धेरै जोडीलाई सक्रियतापूर्वक सहभागी गराउन आग्रह गरे।

त्यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले सामूहिक विवाहले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। आफू स्वयं विना दाईजोको विवाह गरेकोले दाईजो भन्दा श्रीमती ल्याउनु नै असल परिवारको गुण भएको बताए। दाईजो प्रथा हटाउ र बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन उपस्थित सबैलमा आग्रह गरे।
नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताए।

साताव्यापी यज्ञमा १ लाख २५ हजार महामृत्युञ्जय यज्ञ, रामनाम लिखित ११ हजार वटा बेलपत्र अर्पण, सातै दिन रुद्राभिषेक, सन्त भण्डारा, तथा प्रसाद ग्रहण कार्यक्रम रहेको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रवणकुमार यादवले बताए।

 

प्रकाशित: ९ फाल्गुन २०७६ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App