१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकामा सेनाको स्वास्थ्य शिबिर

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिबिरमा सेवा लिन आएका स्थानीय । तस्बिर : नागरिक

खोटाङ– नेपाली सेनाले खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २२४ जनाले सेवा लिएका छन्। गाउँमै स्वास्थ्य सेवा दिने लक्ष्यकासाथ नेपाली सेनाको गोरखनाथ गण मुढे व्यारेकले बिहीबार रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरमटारमा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा १४५ महिला र ७९ पुरुषले सेवा पाएका हुन्।

शिबिरमा नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको अयोजना, गाउँपालिकाको व्यवस्थापन एवं जिल्ला स्वास्थ्य कार्यालय र नेत्रज्योती संघको सहयोगमा स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो। शिबिरमा गाउँपालिकाभित्रका कुभिन्डे, खार्पा, डुम्रेधारापानी, दुबेकोल, हौंचुर, लामीडाँडा लगायतका स्थानीयले सेवा लिएको गाउँपालिकाका कर्मचारी नरबहादुर श्रेष्ठले बताए। शिबिरमा जिल्ला अस्पताल दिक्तेलका मेडिकल विशेषज्ञले समेत सर्वसाधारणको स्वास्थ्य जाँचका साथमा उपचार गरेका छन्। उपचारका लागि स्थानीय घण्टौं हिँडेर शिबिरस्थलमा आइपुगेका थिए।

शिबिरमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, वडाध्यक्ष लिलानारायण श्रेष्ठ, यज्ञनारायण श्रेष्ठ, ज्ञानबहादुर पाण्डे, कालीदास पोखरेल, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
 
 

प्रकाशित: ९ फाल्गुन २०७६ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App