coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पिर्के सलामी’को डर !

तस्बिर : दमन/नागरिक

खोटाङ– पिर्कामाथि चढेर सलामी खाँदा जनप्रतिनिधिले आलोचना बेहोर्नु परेको कैयौं उदाहरण छन्। रातो पिर्का वा टेबलमा चढेर सलामी ग्रहण गर्ने जनप्रतिनिधिको अहिले पनि आलोचना हुने गरेको छ। पिर्कामाथि चढेर सलामी ग्रहण गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा एकैछिनमा भाईरल बन्न पुग्छ। त्यस्तो तस्बिरमुनि गालीगलौज गरिएका ‘नेगेटिभ’ कमेन्ट मात्र भेटिन्छन्।

यही आलोचनाबाट जोगिन जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राई शुक्रबार रातो पिर्कामाथि चढ्न हच्किएका छन्। सेना दिवसको अवसरमा गोरखनाथगण मुढे व्यारेक दिक्तेलले स्थापना गरेको ‘खोटाङ मैत्रीपूर्ण भलिवल ट्रफी’का विजेतालाई पुरस्कार तथा प्रमाण पत्र वितरणका क्रममा जनप्रतिनिधि पिर्कामाथि नचढी सहभागी भएका छन्।

जिल्लाबासी र कर्मचारीबीचमा भएको भलिबल प्रतियोगीताको पुरस्कार वितरण गर्नेक्रममा मञ्च अगाडि पिर्काजस्तै रातो गोलाकार चिज ल्याइए। प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले त्यही पिर्कामाथि चढेर सेनाका विभिन्न विद्याका उत्कृष्ट जवानलाई प्रमाण पत्र प्रदान गरे। त्यहीबेला ‘हाम्रा जनप्रतिनिधि पनि पिर्कामाथि चढ्ने भए’ भनेर मञ्चमै खासखुस चर्चा चल्न थालिसकेको थियो। लगत्तै उपविजेता बनेका टिमका खेलाडीलाई प्रमाण पत्र वितरणका लागि उपमेयर राईलाई पिर्का नजिक बोलाइए। उपमेयर राईले पिर्कामाथि नचढी खेलाडीलाई प्रमाणपत्र प्रदान गरिन्।

त्यसपछि बोलाइएका मेयर रिजालले पनि पिर्कामाथि नचढी विजेता टिमका खेलाडीलाई प्रमाण पत्र वितरण गरे। अन्तिममा ट्रफी हस्तान्तरणका लागि बोलाइएका संविधानसभा सदस्य पाँचकर्ण राई र जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले पनि पिर्कामाथि नचढी विजेता खेलाडीलाई ट्रफी हस्तान्तरण गरेका छन्। गोरखनाथ गणका गणपति भोला पाण्डेले पिर्कामाथि जान आग्रह गरे पनि जनप्रतिनिधिले ‘यहीबाट हुन्छ’ भन्दै पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए।

विशेषगरी खेलकुद सम्बन्धि कार्यक्रममा प्रमुख अतिथिलाई पिर्कामाथि चढाएर सलामी ग्रहण गराउने प्रचलन देखिन्छ। तर, त्यही पिर्कामाथि जनप्रतिनिधि राख्न थालिएपछि सर्वत्र आलोचना हुने गरेको छ। ‘पिर्कामाथि चढेको फोटो एकैछिनमा भाईरल हुन्छ, यसबाट जोगिनै पर्छ,’ जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले भने, ‘हामीले राजा महाराजा भए भनेर जनताको गाली खानु उचित छैन।’

मैत्रीपूर्ण भलिबलमा कर्मचारी विजयी
सेना दिवसको अवसरमा गोरखनाथ गण मुढे व्यारेकले स्थापना गरेको ‘खोटाङ मैत्रीपूर्ण भलिबल ट्रफी’ कर्मचारीको टिमले जितेको छ। व्यारेककै खेल मैदानमा भएको प्रतियोगितामा खोटाङबासीका तर्फबाट खेलेका टिमलाई पछि पार्दै कर्मचारीको टिम विजयी भएको हो।
 

प्रकाशित: ९ फाल्गुन २०७६ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App