७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्थानीयद्धारा सडक कालोपेत्रको काम ठप्प

पारिश्रमिक नपाएपछि कामदारले अवरुद्ध बनाएको महुरे–राजापानी सडकको बुइपा खण्ड। तस्बिर : दमन राई/नागरिक

खोटाङ – स्थानीयले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेको छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीले काम गरे वापतको पारिश्रमिक वर्षौंसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि झन्डै महिना दिनभन्दा बढी सडकको काम ठप्प बनाएको केही समयपछि पुनः स्थानीयले काम रोकेको हो।

सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयले बिहीबारदेखि सडकको काम ठप्प बनाएका हुन्।

मुख्य ठेकेदार दिपेन्द्र शाही कार्यस्थलमा उपस्थित हुनुपर्ने, प्रशासन, सर्वदलीय बैठक र सडक डिभिजन कार्यालयको रोहवरमा सडक कालोपत्रेको कामलाई तीव्रता दिनुपर्ने, गुणस्तरीय काम गर्नुपर्ने र कामदारलाई तत्काल पारिश्रमिक दिनुपर्ने माग गरेर सडकको काम रोकिएको बुइपाका स्थानीय मिलन राईले बताए। ‘ठेकेदारको साइड इन्चार्ज नविन मैनालीलाई जानकारी दिएरै स्थानीयका तर्फबाट सडकको काम ठप्प बनाइएको हो,’ राईले भने, ‘प्रमुख ठेकेदार आफैं वार्तामा आउनु पर्छ र हाम्रो माग सम्बोधन हुनुपर्छ। त्यतिञ्जेल सडकको काम बन्द गर्ने निर्णय गरेका छौं।’

ठेकेदारले पारिश्रमिक नदिएपछि कामदारले गत पुस २० गतेदेखि झन्डै महिना दिनभन्दा बढी  काम ठप्प बनाएको केही समयपछि पुनः स्थानीयले काम रोकेको हुँन्।

गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडकमा कार्यरत कामदारले काम ठप्प बनाएपछि ठेकेदारले अन्यत्रबाट कामदारको दुई समूह ल्याएर करिब दुई हप्ता अघिदेखि कामलाई सुचारु गराएको थियो। तोकिएको भाकामा पारिश्रमिक नपाएको विरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीको टिप्पर, ट्यांकर लगायत सवारीसाधनको चाबी खोसेर काम ठप्प पारेका थिए। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको मितिमा भुक्तानी नदिएको कामदारको गुनासो छ।

पारिश्रमिक दिने भनिएको मिति र स्थानमा ठेकेदारको प्रतिनिधिसमेत देखा नपरेपछि आक्रोशित कामदारले निर्माण कम्पनीको ६ टिप्पर, एउटा पानी ट्यांकर, दुईवटा स्काभेटर, एउटा बोलेरो र एउटाा ब्याकहो लोडरको चाबी नियन्त्रणमा लिई प्रहरी चौकी बुइपालाई बुझाएका थिए।  डेढ–दुई वर्षदेखि पारिश्रमिक नपाएका कामदारले तोकिएको मितिमा पैसा नपाएपछि काम रोकेर विरोधमा उत्रिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। महुरेमा रातदिन गिटी कुटेका दर्जनौं महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्।

पुर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले तथा सिमपानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीले गरिरहेको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App