coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उपमहानगरले घर भत्काएपछि सुकुम्बासीको बिचल्ली

हेटौंडा उपमहानगरले जेसिभी लगाएर भत्काएको घरअगाडि ९ महिने गर्भवती विमला भ्लोन, उनका पति र छोरी साथमा। तस्बिर: अशोकसुजन/नागरिक

मकवानपुर – विमला भ्लोन ९ महिने गर्भवती। डाक्टरले यही फागुन मसान्तमा सुत्केरी हुने मिति तोकेका छन्। एउटी छोरीपछि दोस्रो सन्तान जन्माउने समय नजिकिएको छ, तर उनको मुहारमा खुसी छैन।

गत मंगलबारको घटना हो। अचानक गाउँमा प्रहरीको हुल पस्यो, साथमा थिए नगर प्रहरी र जेसीबी (डोजर)। प्रहरीले थर्काउँदै चेतावती दिँदै धमाधम घरहरू भत्काउन थाले। एक महिना पनि बस्न नपाउँदै घर भत्काएपछि उनको खुसी खोसिएको छ। ‘कोठामा बसिरहेका थियौं, प्लास्टर नगर्दै एक महिना भयो बसेको,’ रुँदै उनले भनिन्, ‘अरू ठाउँ छैन बस्नलाई, त्यही घरको जस्तापाता बेरेर बसेका छौं।’ ४ लाख रुपैयाँको लगानीमा ब्लकबाट निर्मित २ कोठे घर भत्काएपछि विमलाको परिवारले कष्टकर जीवनयापन गर्दै आएको छ।

‘धेरै नै दुःख भएको छ, यस्तो अवस्थामा कहाँ जानू,’ भत्काइएको घर हेर्दै रुँदै उनले भनिन्, ‘भुइँमै सुत्छु, गाह्रो भएकाले कोठा पाएकी छैन।’

त्यस्तै पीडा छ ६७ वर्षीया ललितादेवी बर्तौलाको। घर भत्केको खबर पाएदेखि उनको आँखा ओभाएको छैन। घर भत्काइदिएपछि कलिला नातिनातिना, छोरा–बुहारीसँग बस्दै आएकी वृद्धाको परिवार पनि शोकमा छ। ‘२ कोठे घर बनाएर बस्न थालेको ६ महिना पुग्न लाग्यो,’ उनले भनिन्, ‘छोराले डोजरमा काम गरेर कमाएको पैसा नपुगेर ऋण लिएर बनाएका थियौं।’ उनको परिवार अहिले स्थानीय चर्चमा आश्रय लिइरहेको छ। ‘मर्ने बेलामा पनि चिन्ताको चिन्तामै मर्नुपर्ने भयो बाबु,’ उनले भक्कानिँदै भनिन्, ‘बाढीले जग्गा बगायो, बाँकी जग्गा पनि बेचेर बालबच्चा पालनपोषण गर्दै छु।’

दीपा भोम्जन पनि भत्काएको २ कोठे घरसँगै नाबालक २ छोरासँग त्रिपाल टाँगेर बसेकी छिन्। सात लाख खर्चेर मंसिरमा बनाएको घरसँगै भान्सा, ट्वाइलेटसमेत भत्काई दिएपछि दीपाको परिवार बिचल्लीमा परेको छ। ‘हामी राति यही त्रिपालमुनि सुत्यौं, बस्ने बास त उठ्यो भने केको डर ?’ उनले आक्रोश पोख्दै भनिन्, ‘यहीँ बस्ने हो, जाऊँ भने कहाँ जाऊँ, भनेको बेला कोठा पनि पाइँदैन।’

२ छोरी, १ छोरासहित बस्दै आएका काजिलाल नगरकोटीको बास पनि उजाडिएको छ। ‘श्रीमतीसँग गिटी–बालुवा बोकेर दुःख गरेर पुरानो ब्लकबाट घर बनाएका थियौं,’ रुँदै उनले भने, ‘थाहा पाउनासाथ काम छोडेर दौडेर आएँ, मेरो घर भनेर चिच्याएँ तर कसैले सुनेन।’ एक टुक्रा जग्गा नभएको बताउने उनको परिवार मजदुरी गर्दै भत्काएको घरभित्रै भाँडा, सामान राखेर बसेको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हेटौंडा उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा जेसिभी लगाएर हेटौंडा–१३, वनस्पतिमा घरहरू भत्काएको थियो। १५ वटा पक्की घर र निर्माणाधीन २८ गरी ४३ वटा घर भत्काउँदा २ सय ५० जना प्रत्यक्ष मारमा परेको राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरकी सचिव मिरा स्याङ्तानले बताइन्।

छलफलका लागि बिहीबार उपमहानगरमा पीडित सुकुम्बासी, हेटौंडा उपमहानगरप्रमुख हरिबहादुर महत, १३ नम्बर वडाध्यक्ष मनोजकुमार वाइबाबीच भनाभन समेत भयो। ‘२ महिनादेखि पटक–पटक सूचना टाँस, माइकिङ गरेर भत्काएका हौं,’ प्रमुख महतले भने, ‘हामी छानबिन समिति गठन गर्छौं, सरकार अभिभावक पनि हो, सच्चा सुकुम्बासीलाई हामी सहयोग गर्छौं।

गत वर्ष पनि हेटौंडा–११, थानाभ-याङमा सार्वजनिक जग्गामा निर्मित ५८ वटा घर भत्काउँदा २ जना मात्र सुकुम्बासी पाइएको र उचित व्यवस्थापन गरेको उनले दाबी गरे। ‘चाँडै हेटौंडा–८ को सार्वजनिक जग्गामा बनाइएका घर पनि भत्काउँछौं, यो अभियान हो,’ उनले थपे।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App