१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

समाज र बेलायतको चुनाव

बेलायतमा गएको साता युरेपियन युनियन (इयु) मा रहने कि छुट्टिनेबारे जनमत संग्रह भयो। बेलायती जनतासँग जनमतका लागि दुई विकल्प थिए, इयुमै रहने वा इयुबाट छुट्टिने। यो कुनै आवधिक आमनिर्वाचन थिएन, जहाँ जनताले आगामी निश्चित वर्षका लागि जन प्रतिनिधि निर्वाचित गर्थे । यो समाज विभाजनको चुनाव थियो । जतिसुकै समृद्ध र शक्तिशाली मुलुक भए पनि यो चुनावले बेलायतलाई भित्र र बाहिरबाट छियाछिया पारिदियो । साथै, यो चुनावले बेलायतभित्र र बाहिर पनि प्रजातान्त्रिक पद्धतिका चुनावका केही अचम्मका प्रश्न अगाडि सा¥यो जसको जवाफ आगामी पिँढीले सायदै दिनसक्ला । यो यस्तो चुनाव भयो जसले पूरा युरोप र विश्वलाई केही समय आर्थिक सामाजिक रुपमा प्रभाव पार्ने भयो भने आधुनिक युगको चुनावका बारेमा थप बहस सिर्जना गर्ने भयो ।

युरोपका दुई दर्जनभन्दा बढी देश मिलेर बनेको इयुले साँच्चिकै अर्थमा सदस्य राष्ट्रलाई आर्थिक रुपमा एउटै देश बनाएको छ । यसले संसारको कुनै पनि आर्थिक मञ्चमा उसको दबदबा स्पष्ट देखिन्छ । इयु गठन हुनुपहिले र अहिलेको स्थितिमा त्यहाँका देशको आर्थिक स्तरमा राम्रै उतार आएको छ भने अरु क्षेत्रमा पनि उनीहरूको सहकार्य उत्तम छ । यसले सदस्य राष्ट्रका नागरिकलाई पूरै इयुभित्र आवत–जावत गर्न, व्यापार गर्न, अध्ययन गर्न, चलअचल सम्पत्ति खरिद बिक्री गर्न पूर्ण रुपमा छुट दिएको छ । यो प्रावधानको फाइदा सबैले उठाएका हुन् । यो व्यवस्थाले धेरै सम्पन्न मुलुकलाई वस्तु तथा सेवा बेच्न सजिलो छ भने कम सम्पन्नलाई किन्न । साथै इयुभन्दा बाहिरका राष्ट्रलाई पनि एउटै निकायसँगको सहकार्यमा सबै काम हुने हुँदा यसले सजिलो बनाएको छ । त्यति मात्र नभई कुनै एउटा देशमा कुनै कारणले आर्थिक संकट आयो भने अरु सबैले त्यो समस्यालाई आफ्नै ठानी त्यसलाई समाधान गर्न अघि सर्ने पनि यो संघमा आबद्ध हुनुको प्रमुख फाइदा हो । ग्रिसको समस्या समाधान गर्न इयुले धेरै समय र मिहेनत खर्चेको यसको ज्वलन्त उदाहरण हो ।

बेलायत कुनै बेला संसारको एक्लो शक्तिशाली देश थियो । त्यसैले अझै पनि कतिपय बेलायतीहरुमा ‘मेरो बाले घिउ खाएका थिए मेरो हात सुँघ’ भन्ने मानसिकता पाइन्छ । एउटा ठूलै तप्का बेलायतजस्तो शक्तिशाली देश सानातिना झिनामसिना देशसँग एउटै लाइनमा उभिनु हुन्न भन्ने तर्कमा जहिले पनि अडिग रह्यो । उसले इयुका धेरै कुरामा सहमति जनाए पनि आफ्नो मुद्रा पाउण्डलाई कहिल्यै युरोमा बदलेन । यो स्वर ठूलो हुँदै जाँदा सरकारले जनमत संग्रह गर्ने कठोर निर्णय लियो ।

जनमत संग्रहले बेलायत इयुबाट अलग हुनुपर्ने निर्णय लिए पनि अन्य केही यस्ता विषयले बजारमा चर्चा पाए जसअनुसार एकातिर अब बेलायत पूरा बेलायत नरहने भयो भने अर्कोतिर पाका बेलायती र युवा बेलायतीबीच  ठूलो खाडल बनायो । ब्रिटेन, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्ड मिलेर बनेको बेलायतबाट स्वतन्त्र राष्ट्र हुनुपर्छ भनेर विगतमा जनमत संग्रह गरेर झिनो मतले बेलायतमै रहनुपर्छ भन्ने स्कटल्यान्डका जनताको मन यो जनमत संग्रहले नराम्ररी भाँचिदियो । त्यहाँका ६८ प्रतिशत जनताले बेलायत इयुमै रहनु पर्छ भनेर भोट हाले तर सिंगो बेलायतले त्यसको विपरीत । अब उनीहरू आफू बेलायतमा बस्न तयार छैनन् । त्यहाँका अधिकारी अर्को जनमत गरेर छुट्टै देश बनाउनेमा एक मत भएका देखिन्छन् । ढिलोचाँडो यो निर्णय हुनेमा सबैले चित्त बुझाइसकेका छन् । यस अर्थमा यो जनमत संग्रह देश विभाजनको जनमत भयो भन्दा अत्युक्ति नहोला । साथै वेल्स र लन्डनजस्ता क्षेत्र अब अहिले भएको अधिकारमा सन्तुष्ट नभई केन्द्रबाट अरु थप अधिकार माग्न अगाडि आइसकेका छन् । यसबाट पनि बेलायतको केन्द्र सरकार आगामी दिनमा अझ कमजोर हुने भएको छ ।

यो चुनावले संसारमा एउटा अचम्मको नतिजा अगाडि ल्याएको छ र त्यो हो उमेर अनुसारको मत । यो चुनावमा ५० वर्षभन्दा माथिका मानिसले बेलायत इयुबाट अलग्गिनु पर्नेमा भोट हाले भने युवाले बेलायत इयुमै रहनुपर्नेमा भोट हाले । यसलाई विश्लेषकहरुले बूढाले वर्तमानको लागि र युवाहरुले भविष्यका लागि भोट हालेका भनेर टिप्पणी गरेका छन् । त्यति मात्र नभई बूढाहरू अझै हिजोको शक्तिको ढुकढुकीमा बाँच्दा रै’छन् र युवाले वर्तमान र परिवर्तनलाई अंगीकार गरिसकेका रहेछन् भन्ने बुझिन्छ ।

बेलायती जनताको औसत आयुको हिसाबमा जसले बेलायत इयुबाट बाहिर जानुपर्छ भनेर भोट हाले उनीहरूको औसत बाँकी जीवन करिब १५ वर्ष छ । अर्थात्, तिनको भोटले उनीहरुको जीवनमा अब जम्मा १५ वर्ष असर गर्छ तर त्यसको उल्टो जसले बेलायत इयुमै रहनुपर्छ भनेर भोट हाले तिनको औसत बाँकी आयु करिब ४० वर्ष छ । यसको अर्थ उनीहरूको भोट बाँकी ४० वर्षको लागि हो । अब ४० वर्ष आयु भएकाहरुले १५ वर्ष आयु भएकासँग हारेका छन् । यस अर्थमा प्रजातान्त्रिक पद्धतिको चुनावको ठूलो समस्या यहाँ देखिएको छ । के दुरगामी असर राख्ने जनमत संग्रह गर्दा अब मानिसको उमेरअनुसार भोटको अंक दिनुपर्ने त हैन भन्ने ठूलो प्रश्न अब उठ्नुपर्ने हुन्छ ।

त्यति मात्रै नभई जनताको दीर्घकालीन जीवनमा असर पार्ने निर्णय गर्दा हुन्छ र हुन्न भन्ने बीचको फरकले अब सदाका लागि बेलायतीहरुको मन विभाजन भएको छ । अब फेरि कहिल्यै नफर्कने गरी बेलायतमा हुने हरेक आर्थिक संकट र कमजोर आर्थिक विकासको अपजस बेलायत इयुबाट अलग हुनुपर्छ भन्नेहरुले लिनुपर्नेछ । त्यति मात्रै नभई अबका दुई वर्षमा बेलायतले इयुबाट अलग हुने प्रक्रियामा आउने अप्ठेरोपनको जिम्मेवारी पनि त्यही समूहले लिनुपर्ने हुन्छ तर जो व्यक्तिले बेलायत इयुबाट अलग हुनुपर्छ भन्ने पक्षको नेतृत्व गरे उनीहरु आफैं अब आफू प्रधानमन्त्री नबन्ने भन्दा भोट जिते पनि मन हारेको उनले बुझेको थाहा हुन्छ ।

बेलायत इयुबाट बाहिरिने निर्णय गरेलगत्तै संसारभरका सेयर बजारबाट लगानीकर्ताले करिब २ हजार पाँच सय अर्ब अमेरीकी डलर गुमाए, जुन पूरै बेलायतको एक वर्षको अर्थतन्त्र बराबर हो । विभिन्न व्यापारीले गुमाएका र भविष्यमा गुमाउने रकमको त कुनै हिसाव नै छैन । बेलायतभित्र त पाउन्डको विनिमय दरमा आएको गिरावट, कतिपय व्यापारिक सम्झौतामा भएको अन्योलले अझ संशय पैदा गरेको छ । त्यति मात्र नभई बेलायत देशको विश्वसनीयतामा ह्रास आएका कारणले लगानी गर्ने ग्रेड घटेकाले पनि अब बेलायतीलाई अन्य देशमा लगानी गर्न र अरुलाई बेलायतमा लगानी गर्न महँगो हुने पक्का छ । यस अर्थमा बेलायत अब लगानीकर्ताको लागि आकर्षक देश नहुन सक्छ ।

यो निर्णय लागु भइसकेका दिनमा युरोपका अन्य मुलुकका मानिसले बेलायतको यात्रा सहज रुपमा गर्न सक्ने छैनन् । फ्रान्सबाट कोही आएर बेलायतमा निर्वाध काम गर्नसक्ने छैन । एउटा जर्मनले लन्डनमा सजिलै घर किन्न सक्ने छैन । यी सबै कारणले उसै त बढ्न नसकेको बेलायतको घरजग्गा कारोबार तल झर्ने पक्का छ । घरजग्गाको भाउ स्थिर हुनु वा घट्नु भनेको देशको अर्थतन्त्र ओरालो लाग्नु हो । साथै, अब बेलायतले आफ्ना उत्पादन निर्वाधरुपमा युरोपका अन्यमुलुकमा पठाउन सक्ने छैन । यसका लागि चोरबाटो प्रयोग गर्नु पर्नेछ । हरेक मुलुकसँग अलगअलग हजारौं सन्धि र सम्झौता गर्नु पर्नेछ । कतिपय सम्झौतामा बेलायतको हात तल पर्ने स्वभाविकै छ । बेलायत इयुमै रहनुपर्छ भन्ने भावनाका प्रधानमन्त्रीले जनमत संग्रहको नतिजापछि राजिनामा गरिसकेको अवस्थामा अबका केही समय बेलायतमा सरकार कमजोर र अल्पायुका हुन्छन्, जसले विकास र अर्थतन्त्रलाई फेरि नकारात्मकतातर्फ लैजान्छ ।

यो चुनाव बेलायतको मात्र चुनाव नभई यसलाई अचेल संसारभर देखापरेको उग्र राष्ट्रवादी हौवाको निरन्तरताको रुपमा लिन सकिन्छ । करिब ४ वर्षअगाडि सुरु भएको यो हौवामा मध्यपश्चिमका मुलुकमा उदाएको कट्टर ईस्लाम धर्म मान्नेको ज्यादती, भारतमा नरेन्द्र मोदीको उदय, नेपालमा पनि कम्युनिस्ट र दक्षिणपन्थीकोे अचम्मलाग्दो एकता मात्रै हैन अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसमेतलाई एकै ठाउँमा राख्नुपर्छ । राष्ट्रवाद र धर्मका नाममा यो अवधिमा मध्यपश्चिमा मुलुकमा धेरैले ज्यान गुमाए र गुमाउनेको संख्या हरेक दिन बढ्दै छ । भारतमा नरेन्द्र मोदी राष्ट्रवादको नाममा करिब–करिब निषेधको राजनीति गर्दैछन् भन्दा असत्य नहोला । यदि अमेरिकाको चुनावमा डोनाल्ड ट्रम्पले जितेमा नरेन्द्र मोदी र उनको सहकार्य विश्वमै नमुना बन्नेछ ।
नेपालमा एमाले, माओवादी र राप्रपा नेपालको सहकार्यलाई त्यही कडीसँग जोड्न सकिन्छ । यो गठबन्धन देश विकासको कुनै एजेन्डामा नभई राष्ट्रवादको नाममा स्वार्थको गठबन्धन हो भन्ने कुरामा अब त हिजो यसलाई समर्थन गर्नेहरुले पनि बुझिसके । साथै अब यो गठबन्धन तोड्न त्यति सजिलो छैन । राष्ट्रवाद र अरुलाई गालीगलौजबाट सुरु भएको डोनाल्ड ट्रम्पको राजनीतिले यदि उनी राष्ट्रपति निर्वाचित भएमा विश्वलाई असर पार्ने पक्का छ । त्यो बेलामा उनको अमेरिकी राष्ट्रवादको बदला अरु उग्र राष्ट्रवाद जन्मन्छ र विश्व फेरि एक पटक खतरामा पर्नेछ।
माथिका कारणले बेलायतको यो पटकको चुनाव बेलायतको मात्र नभई सम्पूर्ण विश्वकै चुनाव र यसले हरेक देशमा कुनै न कुनै प्रकारले असर गर्ने कुरा पक्का छ । यसबाट बच्न अब सबैले उग्र राष्ट्रवादलाई त्यागेर समाजवाद र आर्थिक विकासलाई राजनीतिको एजेन्डा बनाउनु पर्छ।

 

प्रकाशित: २० असार २०७३ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App