८ वैशाख २०८१ शनिबार
खेल

एन्फाले एकेडेमी पुनः सञ्चालन गर्ने

धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको भवन ।

धरान–विगत चार वर्षदेखि बन्द अवस्थामा रहेको धरानस्थित टेक्निकल सेन्टर(एकेडेमी)लाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले पुनः सञ्चालनमा ल्याउने भएको छ ।
फिफाको गोलप्रोजेक्टअन्र्तगत धरान, बुटवल र राजधानीको च्यासलमा निर्माण भएको टेक्निकल सेन्टरमध्ये धरानको पूर्णरुपमा बन्द छ। एन्फाले च्यासलमा आफ्नै लगानीमा एकेडेमी चलाइरहेको छ भने बुटवलमा जिल्ला फुटबल संघले स्रोत जुटाएर सञ्चालन गरिरहेको छ ।

त्यहाँ एन्फा (केन्द्र)को थोरै मात्र लगानी छ । करोडांै खर्च गरेर निर्माण गरेको सेन्टर सदुपयोग नगरेको भन्दै स्थानीयस्तरमा तीब्र आलोचना भएको थियो । फिफाबाट अनुदान आएको तथा नयाँ नेतृत्वसमेत पाएपछि एकेडेमी सञ्चालन गर्न एन्फा सकरात्मक बनेको हो ।

एकेडेमी सञ्चालनकालागि शनिबार एन्फाका केन्द्रीय उपाध्यक्ष किसोर राई, मानार्थ उपाध्यक्ष सन्तोष बानिया र प्रमुख कार्यकारी अधिकृत(सिइओ) इन्द्रमान तुलाधार धरानस्थित सेन्टरको निरीक्षण गरेका थिए। धरान १७ स्थित सेन्टरको निरीक्षण पछि एकेडेमी सञ्चालनबारे तीनै जनाबीच फलफलसमेत भएको थियो। सिइओ तुलाधारका अनुसार पुष २६ गतेको एन्फा कार्यसमिति बैठकमा मोफसलमा पनि एकेडेमी सञ्चालन गर्ने बिषयले प्रवेश पाउनेछ ।

सम्भवतः सोही बैठकले आगामी नयाँ बर्ष(बैशाख) देखि धरान र बुटवलमा एन्फाको पूर्ण लगानीमा एकेडेमी सञ्चालनमा ल्याउने निर्णय गर्नेछ। ‘टेक्निकल सेन्टर जे उद्देश्यको लागि बनाइएको हो, त्यसैमा सदुपयोग गर्नुपर्छ भन्ने सोच हो। २६ गतेको बैठकमा यो विषय छलफल हुनेछ। कार्यसमितिले निर्णय गरेपछि नयाँ वर्षदेखि एकेडेमी सञ्चालनमा आउनेछ’,सिइओ तुलाधारले भने। उनका अनुसार एकेडेमीलाई विस्तार गर्दै वाल तथा किशोर खेलाडीलाई प्रशिक्षण दिएर प्रतिभावन खेलाडी उत्पादन गर्ने योजना अनुरुप एन्फा अघि बढ्नेछ।

एन्फा उपाध्यक्ष राईका अनुसार ३ वटा एकेडेमी सञ्चालनको लागि फिफाबाट ५० हजार डलर अनुदान आएको छ भने एन्फा नेतृत्व फुटबल विकास र एकेडेमी चलाउन सकरात्मक छ। ‘तीन वटा मध्य धरानको एकेडेमी नचलेको ४ बर्ष भइसक्यो । खर्च अभावमा यहाँको भौतिक संरचना धरै खराब भइसकेको छ, त्यसको मर्मतसम्भारमा पनि खर्च आवश्यक छ’, राईले भने, ‘एन्फा नेतृत्व एकेडेमी सञ्चालन गर्न सकरात्मक भएकोले यहाँ बैशाखदेखि सुरु हुन्छ भन्नेमा आशावादी छु, यसले प्रतिभावान खेलाडी उत्पादन हुन्छ, एकेडेमीमा छनौट हुन उमेर समूहका खेलाडीहरुलाई फुटबल खेल्न प्रेरित गर्नेछ।’ यसअघि यु १२ उमेर समूहदेखि एकेडेमीमा राखिने गरिएकोमा अब यु १६ उमेर समूहलाई मात्र राख्ने सोच रहेको उनले बताए । एकेडेमी सञ्चालनको लागि पूर्वका सबैलाई समेटेर वृहत समिति बनाइने उनले खुलाए।

विभिन्न उमेर समूहका वालखेलाडीलाई शिक्षा र आवासीय सुविधासहित प्रशिक्षण दिएर प्रतिभावान खेलाडी उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएर फिफाको अुनदानमा यी सेन्टर(एकेडेमी) स्थापना गरिएको थियो। २०५९ सालमा स्थापना भएको धरानको एकेडेमी लामो समयसम्म बेवारिसे बनेको थियो। २०६६ देखि २०७० सालसम्म मात्र धरानको एकेडेमी सञ्चालनमा रह्यो । त्यसपछि एन्फाले कुनै कार्यक्रम ल्याउन नसक्दा बेवारिसे अवस्थामा थियो ।

बुटवलमा भने जिल्ला फुटबल संघले स्रोत खोजेर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल त्यहाँ यु १४ उमेर समूहका ३० जना खेलाडी छन् भने च्यासलमा यु १५ उमेर समुहका २६ जना खेलाडी प्रशिक्षणरत अवस्थामा छन् ।

धरानस्थित एकेडेमीको भवनमा एउटा सेमिनार हाल, वैठक कोठा, कार्यालय कोठा, किचन र ११ वटा आवासिय कोठा छन् । एउटा खेल मैदानसमेत रहेको यो एकेडेमी करिब ४ करोडको लागतमा निर्माण भएको हो । एक ब्याजपछि एकेडेमी चलाउन एन्फाले कुनै कार्यक्रम नदिएपछि धरानको सेन्टर बेवारिसे बनेको छ । आवासीय कोठा लथालिङ अवस्थामा छ भने सेमिनार हल गोदाममा परिणत भएको छ । यहाँ बुढासुब्बा गोल्डकप र गोधुली कप हुँदा मात्र चहलपहल हुन्छ ।
 

प्रकाशित: १८ पुस २०७३ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App