coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुजरातमा महिनावारी परीक्षणको नाममा छात्रामाथि दुर्व्यवहारको विरोध

नयाँ दिल्ली – भारतको गुजरातमा महिनावारी परीक्षणका नाममा छात्रामाथि गरिएको दुर्व्यवहारबारे विरोध भइरहेको छ।

घटनाबारे अधिकारकर्मी तथा ‘पीडित’ छात्राहरूले विरोध गरिरहेका छन्। खासगरी हिन्दु समुदायमा भारतमा महिनावारीलाई परम्परागत रूपमा अपवित्र मानिने र यस समयमा महिलाहरूले धार्मिक तथा घरायसी नियमित कामकाज गर्न नहुने विश्वास कायम छ। गत मंगलबार पनि यस्तै घटना भएको भन्दै ‘पीडित’ तथा अधिकारकर्मीले भारतको एक कलेज प्रशासनको आलोचना गरिरहेका छन्। गुजरातको भुज सहरस्थित सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजिआई)मा अध्ययनरत छात्रावासमा रहेका किशोरीहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य बनाइएको थियो। उक्त घटनाले देशभर तरंग फैलाएको छ।

हिन्दू परम्परामा महिनावारी बारेका महिलाले धार्मिक कार्यमा सहभागी हुन, घरमा अन्य परिवारसँग सँगै बस्न वा विद्यालयमा पनि अन्य साथीहरूसँग लसपस गर्न नहुने मान्यता छ। तर, आजभोलि महिनावारीलाई किशोरी तथा महिलाहरूको मासिक चक्र भएको भन्दै वार्ने प्रचलन क्रमशः घट्दै गएको छ। समाचार संस्थाहरूमा आएका सूचना अनुसार एसएसजीआई एक हप्तापहिले ६८ छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो। एकाएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो।

एसएसजीआई भारतको एउटा सम्पन्न र कट्टर हिन्दू धार्मिक समूह स्वामीनारायणद्वारा सञ्चालित कलेज हो। पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लंघन गरेको भन्दै कलेजका प्रिन्सिपलले सोमबार छात्रावासका एक कर्मचारीसँग गुनासो गरेका थिए। कलेजका नियममा महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न मनाही छ। त्यसबेला अरू विद्यार्थीलाई छुन उनीहरूलाई अनुमति छैन। खाना खाने बेला महिनावारी भएका महिलाहरू अरूभन्दा पर बस्नुपर्छ, आफ्नो थाल आफैँले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ।

आफूहरूलाई ‘अपमानित’ गरेका कलेजका अधिकारीहरूमाथि कारबाहीको माग गर्दै गत बिहीवार छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गरे। एक छात्राका अनुसार छात्रावासले एउटा रजिस्टर पुुस्तिका राखेको छ। छात्राहरूले महिनावारी हुँदा त्यसमा नाम लेखाउनुपर्ने हुन्छ। त्यसो गर्दा महिनावारी भएका छात्रालाई पहिचान गर्न छात्रावासलाई सहज हुन्छ। तर, उक्त पुस्तिकामा दुई महिनादेखि छात्राले नाम लेखाएका छैनन्। शायद नाम नलेखाएपछि महिनावारीसम्बन्धी कलेजका नियमलाई मान्नुपर्ने उनीहरूले ठानेको हुन सक्छ। अतः अघिल्लो सोमवार छात्रावासका कर्मचारीले महिनावारी भएका विद्यार्थीहरू भान्सामा छिर्ने गरेको, मन्दिरनजिक जाने गरेको र अरू बासिन्दासँग घुलमिल भइरहेको भन्दै प्रिन्सिपलसमक्ष गुनासो गरे। छात्राहरूका अनुसार त्यसको भोलिपल्ट आफूहरूलाई भित्रीवस्त्र फुकाल्न लगाउनुअघि छात्रावासका कर्मचारी र प्रिन्सिपलले दुर्व्यवहार गरे।

एउटा ‘एकदमै पीडादायी अनुभव’ भन्दै त्यसबाट आफूहरूलाई ‘आघात’ पुगेको र त्यो ‘मानसिक यातना सरह’ भएको छात्राहरूले बताएका छन्। एक छात्राका बुबा कलेजमा पुग्दा उनकी छोरी र अन्य कैयौं छात्राहरू नजिक आएर रोएका थिए। ‘उनीहरू स्तब्ध छन्,’ ती अविभावकले भने। आफूहरूलाई ‘अपमानित’ गरेका कलेजका अधिकारीहरूमाथि कारबाहीको माग गर्दै बिहीबार छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गर्‍यो । कलेजका सञ्चालक प्रवीण पिन्डोरियाले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन्। त्यसबारे अनुसन्धान गर्न आदेश दिइसकेको भन्दै दोषीमाथि कारबाही गरिने उनले बताए।

तर उक्त कलेजले सम्बन्धन पाएको विश्वविद्यालयकी उपकुलपति दर्शना ढोलकिया छात्राहरू पनि दोषी भएको बताउँछिन्। छात्राहरूले कलेजका नियम उल्लंघन गरेको भन्दै केहीले माफी समेत मागिसकेको उनले बताइन्। तर, केही छात्राका अनुसार घटनालाई महत्व नदिन र आफ्नो भोगाइबारे नबोल्न कलेजका अधिकारीहरूको उनीहरूमाथि दबाब छ। यसै बिषयमा शुक्रवार गुजरातको महिला आयोगले त्यो ‘लज्जास्पद अभ्यासबारे छानबिन गर्न निर्देशन दियो। र, कुनै डरबिना आफ्ना कुरा राख्न छात्राहरूलाई आग्रह गर्‍यो । भारतमा महिनावारीको विषयलाई लिएर छात्राहरू अपमानित हुनुपरेको यो पहिलो घटना होइन।

शौचालयको ढोकामा रगत देखेपछि तीन वर्षअघि उत्तरी भारतस्थित एउटा आवासीय विद्यालयकी एक महिला वार्डेनले ७० छात्रालाई वस्त्र फुकाल्न लगाएकी थिइन्। महिनावारीको विषयलाई लिएर भारतमा महिलाहरूमाथि गरिने विभेद व्याप्त छ। महिनावारी हुँदा महिलाहरूलाई सामाजिक तथा धार्मिक गतिविधिबाट अलग राखिन्छ, मन्दिरसहित धार्मिक स्थलहरूमा प्रवेश गर्न दिइँदैन र भान्सामा छिर्न मनाही हुन्छ। तर, यो प्रवृत्तिलाई सहरी भेगमा शिक्षित महिलाहरूले चुनौती दिने क्रम बढ्दो छ। महिनावारीलाई एउटा प्राकृतिक तथा शारीरिक प्रक्रियाको रूपमा बुझाउन केही वर्षयता प्रयास भइरहेका छन्। सन् २०१८ मा सर्वोच्च अदालतले केरलास्थित सबरीमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेश दिन आदेश दिएपछि त्यसको व्यापक विरोध भयो।

सन् २०१८ मा सर्वोच्च अदालतले एउटा महत्वपूर्ण निर्णय सुनाउँदै दक्षिणी राज्य केरलास्थित सबरीमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेश दिन आदेश दियो। मन्दिरमा सबै उमेर समूहका महिला प्रवेश नदिनु विभेदकारी भएको सर्वोच्च अदालतले आफ्नो आदेशमा भन्यो। तर, आदेशविरुद्ध व्यापक स्तरमा विरोध प्रदर्शन भएपछि त्यसको एक वर्षपश्चात् न्यायाधीशहरू सो आदेशबारे समीक्षा गर्न तयार भए। विरोध प्रदर्शन गर्नेहरूमा ठूलो संख्यामा महिला पनि देखिए, जुन महिनावारीलाई लिएर कुन हदसम्म कुरीति जकडिएको छ भन्ने कुराको संकेत पनि हो।

प्रकाशित: ९ फाल्गुन २०७६ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App