७ वैशाख २०८१ शुक्रबार
राजनीति

घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्रका रूपमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ प्रकरणका कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्। सेक्युरिटी प्रेस खरिदमा स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग गरेको मोलमोलाइको श्रव्य सामग्री सार्वजनिक भएलगत्तै बाँस्कोट बिहीबार सरकारबाट अलग्गिए पनि उनले यो मुद्दाबाट सजिलै उन्मुक्ति पाउनेछैनन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबारै मन्त्रालयबाट खरिद प्रकरणसम्बन्धी सम्पूर्ण कागजात जफत गरी अनुसन्धान गर्न थालेकाले पनि उनी भविष्यमा कारबाहीको दायरामा पर्न सक्ने सम्भावना बढेको छ। बाँस्कोटामाथि लागेको आरोप सीधै सरकारतर्फ सोझिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा यो प्रकरणको छानबिन हुने भएको हो। बाँस्कोटाको राजीनामासँगै सेक्युरिटी खरिद प्रक्रियासमेत तत्काललाई अवरुद्ध हुन पुगेको छ। तर यही मुद्दालाई प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत दलले चर्काउने संकेत पहिलो दिनमै देखिएको छ।

सरकारका सशक्त प्रतिरक्षक र विपक्षी तथा प्रेसका कटु आलोचक बाँस्कोटाको एजेन्टसँगको कमिसन श्रव्य संवादमा कर्मचारी लक्षित केही भनाइले उनलाई झनै अप्ठेरोमा पारेको छ। प्रेसलाई समेत मर्यादाको पाठ पढाउँदै आएका बाँस्कोटाको कर्मचारीप्रति लक्षित असभ्य अभिव्यक्तिले सरकारलाई समेत लज्जित तुल्याएको देखिन्छ।

प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार हुन दिन्नँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्दै आएका बेला बाँस्कोटाले मिश्रसँग ७० करोड रूपैयाँ कमिसन मागेको अडियो संवाद बिहीबार सार्वजनिक भएको हो। अडियो संवाद सार्वजनिक भएलगत्तै उनले पदबाट राजीनामा दिएका हुन्। अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएका थिए। कमिसनका लागि बार्गेनिङ गरिएको अडियो संवादका विषयमा सरकार र अख्तियारले छानबिन गर्ने भएका छन्।

अख्तियार र प्रहरीले छानबिन गर्ने, खरिद प्रक्रियाका कागज जफत

प्रधानमन्त्री ओलीले ‘तपाईंमाथि प्रश्न उठेको छ ? के गर्ने हो ? भनेपछि बाँस्कोटाले ‘अनुसन्धान होस्’ भन्दै राजीनामापत्र बुझाएका थिए। ‘प्रधानमन्त्री ओलीले राजीनामा दिनुस् भन्नु नै परेन। किनकि उहाँ आफंैले आफूमाथि अनुसन्धान होस् भनेर राजीनामा बुझाउनुभयो’, बालुवाटार निकट स्रोतले भन्यो। तर यसअघि नै संसद्मा बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी गराइएको थियो। कञ्चनपुरमा रहेका बाँस्कोटा काठमाडौं नआउँदै सदनलाई यस्तो जानकारी गराइएको थियो।

मन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि बिहीबार बिहान नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। छलफलमा बाँस्कोटलाई मन्त्री पदबाट राजीनामा दिन लगाउने सहमति भएको थियो। सोही जानकारी सभामुखलाई गराइएपछि सभामुख अग्नि सापकोटाले बाँस्कोटाले राजीनामा दिएको भन्दै अनौपचारिक जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान पनि एउटा कार्यक्रममा ‘भ्रष्टाचारविरुद्ध लाग्ने र भ्रष्टाचारीलाई नजोगाउने कसम खाएको छु, भ्रष्टाचारी जोसुकै भए पनि कारबाही गरिन्छ, जोगाइँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले ‘जनप्रतिनिधिलाई रूलिङ पोजिसनमा पु‍-याउनुको अर्थ लुटका लागि होइन, हामीले सिस्टम बनाउने हो भन्दै सुशासनका निम्ति चाल्नुपर्ने कदममा आफू नहिचकिचाउने’ बताएका थिए।

प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएर फर्केपछि बाँस्कोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका थिए। ‘मेराबारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ उनले ट्विटमा लेखेका छन्।

राजीनामा दिएपछि उनी सरकारी गाडी छाडेर निवास फर्केका थिए। उनलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा लगेर निवास छाडिदिएका थिए।

बाँस्कोटाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीका पूर्व प्रेससल्लाहकार डा. कुन्दन अर्यालले ‘बन्द कोठाका अनियमितता र जालसाजी घामको उज्यालोमा ल्याउने सूचनाको निर्बाध, निर्भय र निरन्तर प्रवाहले नै हो भन्दै धन्य ! यो देश यस मामिलामा गरिब छैन, प्रमज्यू सबैलाई विश्वास गर्नुभयो, अब तपाईंले आफ्नै वरिपरि साँच्चै माइक्रोस्कोपिक अबजर्भेसन गर्नुपर्ला’ भन्ने सुझाव दिएका छन्। उनले ट्विटरमार्फत सो सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रेस खरिद गर्ने विषय राष्ट्रिय महत्व र सरकारको पनि प्राथमिकतामा परेका कारण यस मामिलामा भएगरेका गतिविधि र सार्वजनिक अडियोबारे सत्यतथ्य छानबिन गर्न अख्तियारलाई आग्रह गरेका छन्। ‘विषय के हो, यसबारेमा अनुसन्धान हुनुपर्छ। कहाँ–कहाँ कसले बदमासी गरेको हो अनुसन्धान होस्’, प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई आग्रह गरेको स्रोतले बतायो। प्रधानमन्त्री ओलीलाई उक्त अडियो पहिला नै दिइएको भनिए पनि बालुवाटार स्रोतले त्यसको पुष्टि गरेन।

अख्तियारको चासो
सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडियो संवाद सार्वजनिक भएपछि अख्तियारले त्यसप्रति चासो राखेको छ। बाँस्कोटाको राजीनामासँगै उनको निजी सचिवालयका सदस्यहरूले कागाजत निकाल्न थालेपछि अख्तियारबाट गएका प्रहरीले रोकेको स्रोतले जनाएको छ। सादा पोसाकमा पुगेका प्रहरी कर्मचारीले बाँस्कोटाको सचिवालयबाट कागजात ननिकाल्न निर्देशन दिएका थिए। त्यसपछि उनको सचिवालयका सदस्य अलमलमा परेका थिए। सचिवालयका सदस्यहरूले आफ्ना नोटबुक भने लगेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। केही कागजात निकाल्न दिइएको छैन। ती प्रहरीले सचिवालयका सदस्यले प्याकिङ गरेका केही कागजात मन्त्रालयमै राख्न लगाए। राष्ट्रिय अनुसन्धान विभागले पनि यस विषयमा चासो राखेको छ। ‘विवाद आएकै कारण केही कागजात अध्ययन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले तत्काल बाहिर नलैजान भनेका हौं,’ अख्तियार स्रोतले भन्यो, ‘निजी सचिवालयको दराज र केही कागजात सिलबन्दी गरिएको छ।’

ओली–दाहालका दुई घन्टा
मन्त्री बाँस्कोटाको कमिसनसम्बन्धी अडियो संवाद सार्वजनिक भएपछि नेकपाका कार्यकारी अध्यक्ष दाहालले बालुवाटार पुगेर अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। त्यसअघि बिहानै गृहमन्त्री रामबहादुर थापा दाहाल निवास पुगेका थिए। थापासँगै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छलफलका लागि दाहाल निवास पुगेका थिए। दाहाल श्रेष्ठ र थापासँग छलफल गरेपछि बालुवाटार पुगेका थिए। यस विषयमा बालुवाटारमा दुई अध्यक्षबीच दुई घन्टा छलफल भयो। छलफलमा बाँस्कोटालाई बोलाएर बुझ्ने र राजीनामा दिन लगाउने निर्णय भएको थियो। दुई नेताबीच छलफल भइरहँदा बाँस्कोटा कञ्चनपुरमा थिए। नेताद्वयबीचको सहमति थाहा पाएका उनी कञ्चनपुरबाट काठमाडौं आएपछि सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा दिएका थिए। उनी प्रधानमन्त्री ओलीका निकट र प्रिय मानिन्छन्। यसअघि आफूमाथि लागेको आरोपबारे सञ्चार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर बताउने जानकारी गराएका उनी राजीनामा बुझाएपछि भने मन्त्रालय गएनन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App