८ वैशाख २०८१ शनिबार
अन्य

हिमपातपछि खुल्यो मुस्ताङ

पोखरा–केहीघण्टाको हिमपातपछि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम र आसपासको क्षेत्र सोमबार बिहानैबाट खुलेको छ। हिउँ पर्न रोकिएको र घाम लागेपछि जोमसोम निकै रमणीय बनेको छ ।

घाम लागेपछि आइतबारको तुलनामा सोमबार केही न्यानो महसुस भएको छ । सदरमुकाम जोमसोम र आसपासमा केही चहलपहल पनि बढेको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी प्रसाद दाहालका अनुसार सोमबार बिहान घाम परेपछि जोमसोम निकै नै रमणीय देखिएको छ ।

‘केहीघण्टाको हिमपातपछि सोमबार बिहानैै जोमसोम खुल्यो । त्यसैमाथि घामको किरण थपिँदा निकै रोमाञ्चक बनेको छ,’ उनले भने, ‘यहाँ रहेका केही आन्तरिक र बाह्य पर्यटक हिउँमा रमाएका छन् ।’

उनका अनुसार हिमाल खुलेर मौसम सफा भएपछि पोखरा–जोमसोम रुटमा हवाई उडान सुचारु भएको छ । ‘चिसो त छ, तर आइतबार अलि बढि थियो । सोमबार घाम लागेपछि न्यानो भएको छ,’ उनले भने, ‘गाडी चल्न थालेका छन् । जनजीवन सामान्य अवस्थामा फर्केको छ ।’ आइतबार ५ घण्टाासम्म परेको हिउँले करिब आधाफिट उचाइ लिएपनि हिउँ रोकिएपछि वातावरण सहज बनेको उनले बताए ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी हरिहर योगीका अनुसार आइतबार बेलुकीदेखि नै हिउँ पर्न रोकिएको थियो । ‘हिउँ पर्न रोकिएको र सोमबार बिहानैदेखि मौसम खुलेकोले जोमसोम निकै रमणीय बनेको छ,’ उनले भने, ‘केही न्यानो अनुभव पनि भएको छ ।’
 

सबै तस्बिर साैजन्य : तुलसी दाहाल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App