काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट दिएको राजीनामा स्वीकृत गरी उनले सम्हाल्दै आएको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चार मन्त्रालयको पनि काम हेर्नेगरी जिम्मेवारी दिएकी हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले संविधानको धारा ७७ को उपधारा २ (क) अनुसार राजीनामा दिएका थिए। समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त रहेको सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत बाँस्कोटाले सम्हाल्दै आएका थिए। उक्त मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई तोकिएको छ।
प्रकाशित: ९ फाल्गुन २०७६ ०१:४७ शुक्रबार