coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपमहानगरले घर भत्काएपछि सुकुम्बासीको बिचल्ली

हेटौंडा उपमहानगरपालिकाले जेसीभी लगाएर भत्काएको घर अगाडी ९ महिने गर्भवती विमला भ्लोन, श्रीमान र छोरीको साथमा । तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर- विमला भ्लोन ९ महिने गर्भवती। डाक्टरले यही फागुनको मसान्तमा सुत्केरी हुने मिति तोकेका छन्। एउटी छोरीपछिको दोस्रो सन्तानको आगमन समय नजिकिएको छ। तर उनको मुहारमा खुशी छैन। त्यसको कारण हो मंगलबारको घटना। अचानक गाउँमा प्रहरीको हुल पस्यो, साथमा थिए नगर प्रहरी र जेसीबी(डोजर)। प्रहरीले थकाउँदै चेतावती दिँदै धमाधम घरहरु भत्काउन थाले। एक महिना पनि बस्न नपाउदै घर भत्काएपछि उनको खुशी खोसिएको छ।

‘कोठामा बसिरहेका थियौ, प्लाष्टर नगर्दै एक महिना भयो बसेको,’ रुदै उनले भनिन्, ‘अरु ठाउँ छैन बस्नलाई, त्यही घरको जस्ता पाता बेरेर बसेका छौ।’ ४ लाख रुपैयाँको लगानीमा ब्लकबाट निर्मित २ कोठे घर भत्काएपछि बिमलाको परिवारले कष्टकर जिवनयापन गर्दै आएको छ।

‘धेरै नै दुःख भएको छ, यस्तो अवस्थामा कहाँ जानु,’ भत्काईएको घर हेर्दै रुँदै उनले भनिन्, ‘भुँईमै सुत्छु, गाह्रो भएनि कोठा पाएको छैन।’

त्यस्तै, पीडा छ ६७ वर्षीया ललितादेवी बर्तौलाको। घर भत्केको खबर पाएदेखि उनको आँखा ओभाएको छैन। घर भत्काई दिएपछि कलिला नाती, नातिनी, छोरा–बुहारीसँग बस्दै आएकी वृद्धको परिवार पनि शोकमा छ।

‘२ कोठे घर बनाएर बस्न थालेको ६ महिना पुग्न लाग्यो,’ उनले भनिन्, ‘छोराले डोजरमा काम गरेर कमाएको पैसा नपुगेर ऋण लिएर बनाएको थियौ।’ उनको परिवार अहिले स्थानीय चर्चमा आश्रय लिई रहेका छन्। ‘मर्ने बेलामा पनि चिन्ताको चिन्तामै मर्नुपर्ने भयो बाबु,’ उनले भक्कानिदै भनिन्, ‘महामारी(बाढी)ले जग्गा बगायो, बाँकी जग्गा पनि बेचेर बालबच्चा पालनपोषण गरे।’

दीपा भोम्जन पनि भत्काएको २ कोठे घरसँगै नाबालक २ छोरासँग त्रिपाल टाँगेर बसेकी छिन्। सात लाख खर्चेर मंसीरमा बनाएको घरसँगै भान्सा, ट्वाईलेटसमेत भत्काई दिएपछि दीपाको परिवार बिचल्लीमा परेको छ। ‘हामी राति यही(त्रिपालमुनी) सुत्यौ, बस्ने बास त उठ्यो भने केको डर?’ उनले आक्रोश पोख्दै भनिन्, ‘यही बस्ने हो, जाउँ भने कहाँ जाउँ, भनेको बेला कोठा पनि पाईदैन।’

२ छोरी, १ छोरासहित बस्दै आएका काजीलाल नगरकोटीको बास पनि उजाडिएको छ। ‘श्रीमतीसँग गिटी–बालुवा बोकेर दुःख गरेर पुरानो ब्लकबाट घर बनाएको थियौ,’ रुँदै उनले भने, ‘थाहा पाउनासाथ काम छोडेर दौडेर आए, नभत्कानु मेरो घर भनेर चिच्याए तर कसैले सुनेनन्।’ एक टुक्रा जग्गा नभएको बताउने उनको परिवार मजदुरी गर्दै भत्काएको घरभित्रै भाँडा, सामान राखेर बसेका छन्।

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हेटौंडा उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा जेसीभी लगाएर हेटौंडा १३, वनस्पतिमा घरहरु भत्काएको थियो। १५ वटा पक्की घर र निर्माणाधिन २८ गरी ४३ वटा घर भत्काउँदा २ सय ५० जना प्रत्यक्ष मारमा परेको राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरकी सचिव मिरा स्याङ्तानले बताईन्।

छलफलका लागि बिहीबार उपमहानगरमा पीडित सुकुम्बासी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईबाबिच भनाभन समेत भयो। ‘२ महिनादेखि पटक–पटक सूचना टाँस, माईकिङ्ग गरेर भत्काएका हौ,’ मेयर महतले भने, ‘हामी छानबिन समिति गठन गर्छौ, सरकार अभिभावक पनि हो, सच्चा सुकुम्बासीलाई हामी सहयोग गर्छौ।

गतवर्ष पनि हेटौंडा ११, थानाभर्‍याङ्गमा सार्वजनिक जग्गामा निर्मित ५८ वटा घर भत्काउँदा २ जना मात्र सुकुम्बासी पाईएको र उचित व्यवस्थापन गरेको उनले दाबी गरे। ‘चाँडै हेटौंडा ८ को सार्वजनिक जग्गामा बनाईएका घरहरु पनि भत्काउँछौ, यो अभियान हो,’ उनले थपे।

 

प्रकाशित: ८ फाल्गुन २०७६ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App