७ वैशाख २०८१ शुक्रबार
राजनीति

महिलालाई सशक्त बनाउन आवश्यक : नेता नेपाल

रौतहट- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउनु आवश्यक भएको बताएका छन्।

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा राजदेवी मिडिया सेन्टरद्वारा आयोजित आठौँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले देशको हरेक तहमा महिलाको समान पहुँच र समान प्रतिनिधित्व हुन सक्यो भने देश विकासमा अझ सकारात्मक योगदान पुग्ने बताएका छन्।

महिलाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आइरहेको तर अझ पनि धेरै क्षेत्रमा महिला पछाडि रहेको उल्लेख गर्दै नेता नेपालले महिलालाई आत्मसम्मान, स्वाभिमान तथा निर्भय अवस्थामा निर्णय लिनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

संघीय गणतान्त्रिक व्यवस्थामा महिलाहरुलाई सबल र आत्मनिर्भर बनाउने खालको अधिकार सम्पन्न बनाएको प्रष्ट पार्दै संघीय तथा प्रदेश सांसद, नगरपालिकाको प्रमुख उप्रमुख, वडाध्यक्ष र सदस्यसम्म पुग्न सफल भएको छ अबको खुड्किला प्रदेशको मुख्यमन्त्री बन्न मात्र बाँकी रहेको चर्चा पनि गरेका छन्। राष्ट्रपतिदेखि वडा सदस्यसम्म महिलाको पहुँच भएको देन हुनु अहिलेको शासन व्यवस्थाकै परिणाम भएको नेता नेपालको भनाइ छ।

आफू २०५१ सालमा रक्षामन्त्री हुँदा नेपाली सेनामा महिलाहरुको सहभागिता गराउन कार्ययोजना लागू गरेपछि महिलाहरु पनि नेपाली सेनामा प्रवेश गर्न पहिलो मौका पाएको स्मरण गर्दै नेता नेपालले भने 'महिलालाई भोग विलासको वस्तु सरह नदेख्न तथा अनाहकमा प्रताड्ना गर्नेहरुलाई कठोरभन्दा कठोर कानुनी दण्डीत गर्नुपर्ने, महिलालाई अवसर प्रदान गरियो भने पुरुषभन्दा धेरै माथि बढ्न सक्ने आँट उनीहरुमा विकसित हुँदै गएकोमा मलाई खुसी लागेको छ।' नेता नेपालले परिवर्तित परिवेशमा छोरीलाई कम्तीमा स्नातकसम्म पढाउनुपर्ने विचार पनि व्यक्त गरेका छन्।

वर्तमान सरकारको अवधारणा पनि समृद्ध मुलुक र सुखी नेपाली बनाउने मूल मन्त्रका साथ अघि बढिरहेको परिवेशमा भ्रष्टाचारमा लिप्त नभई मुुुलुकको समग्र विकासमा योग्यदान गरेमा यहाँबाट गरिवी, अशिक्षा, वेरोजगारी लगायतका कुप्रथाहरु अन्त्य भई सभ्य एवं विकसित मुलुक बन्ने छ नेता नेपालले स्पष्ट पारेका छन्।

प्रदेश २ को सरकारलाई विकास र समृद्धिको पथमा हिँड्न सुझाव दिँदै नेता नेपालले जनभावना विपरित विकास निर्माणमा गरिने अनियमिततालाई प्रादेशिक सरकारले नसुधारे सरकारबाट बाहिरीने वित्तिकै कारबाहीको लागि तयार रहन समेत चेतावनी दिएका छन्। राज्यसत्ता सधैँ एकनाशको नहुने भएको हुँदा कसै एकको (स्थानीय भाषामा) बपौती सम्पत्ति सरकार नभएको समेत प्रष्ट पारेका छन्।

आफू रौतहट आउदा अधिकांश विरोधीरुको जिउ र मुखबाट पसिना निस्कने गरेको टिप्पणी गर्दै २०४७ र २०७२ को संविधान निर्माण गरेकोमा गर्व महसुस गर्दै नेता नेपालले केही कमीकमजोरी भएको होला त्यसलाई सुधार्दै अघि बढ्नु वुद्धिमानी रहेको पनि बताएका छन्। अबका दिनमा धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्दै नेता नेपालले भ्रष्टाचारमुक्त, महिला सशक्तिकरणयुक्त, समावेशी, सर्वहारा वर्ग, महिला, आदिबासी जनजातीहरुको उत्था जस्ता महान अभियानलाई सहभागी हुन सबैलाई आगह पनि गरेका छन्।

८औं जिल्लास्तरिय महिला साईकल दौड प्रतियोगिताको पहिलो, दोश्रो र तृतिय भएका ३ जना महिलालाई जनही ५० हजार, ३० हजार र २० हजार नगद प्रमाणपत्र, दोसल्ला, एक/एक साइकल वरिष्ठ नेता नेपालले प्रदान गरेको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले जानकारी गराएका छन्। कार्यक्रममा उपस्थित संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख र सुरक्षा निकायका पदाधिकारी लगायत विभिन्न क्षेत्र प्रतिनिधिहरुलाई वरिष्ठ नेता नेपालद्धारा  सम्मानित गरिएको पनि राउतले जानकारी गराएका छन्।

 

प्रकाशित: ८ फाल्गुन २०७६ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App