६ वैशाख २०८१ बिहीबार
समाज

गोरखामा मकैको बिहे

मकैको बिहेकाका तस्बिर ।

गोरखा- धार्चे गाउँपालिका ४ लाप्राकका स्थानीय बिहीबार मकैको बिहेमा जन्ती हिँडे। हरेक वर्ष जस्तै रोप्नुअघि यो साल पनि उनीहरुले मकैको बिहे गरिदिएका छन्।

ढ्याङ्ग्रो, मादल, बाजागाजा बजाउँदै नाचगान गर्दै रातो, पहेलो, रङ्गीचङ्गी कपडामा सजिएर बालबालिकादेखि वृद्धवृद्धा सबै बिहेमा सरिक भए। गुरुङ समुदायका बाहुल्य रहेको लाप्राकमा मकैको बिहे नौलो नभए पनि अन्यका लागि भने नौलो हो। उत्तरी गोरखाको लाप्राक उच्च हिमाली भेगमा पर्छ। त्यहाँको मुख्य खेती मकै हो। स्थानीयले मकै खेती राम्रो होस् भनेर साईतमा मकैको बिहे गरि बारीमा छर्ने गर्छन्। शुक्रबारदेखि उनीहरुलाई फुर्सद हुँदैन। अब मकै लगाउने चटारो सुरु हुन्छ। बिहे गर्नुअघि भने मकै कसैले पनि रोप्दैनन्। कारण बिहे नगरी रोप्नु हुँदैन भन्ने मान्यता चलिआएको छ।

एक साताअघि नै गाउँमा जैसी (पुरोहित) र झाँक्रीले मकैको बिहे गर्ने साईत जुराएर तयारी गरेका थिए। बुधवार साँझदेखि लाप्राकीहरु खनजोत गर्दैनन्। बिहेको दिनसम्म ‘बारना’ (बार्ने) चल्छ, शुद्ध भएर बस्नुपर्छ। लाप्राकमा अहिले मकै रोप्ने सिजन हो।  साना बालबालिकालाई बेहुला, बेहुलीको रुपमा सिंगारिएको थियो। मकैको बिहेको प्रतिकको रुपमा उनीहरु थिए। बिहेमा घरैपिच्छे एक जना अनिवार्य जानुपर्छ। जानेहरु सबैले एक घोगा वा एक मुठी मकै लैजान्छन्। जन्ती गएका सबैले लाप्राक गाउँलाई एक फन्को लगाउँछन्।

बेहुलीको घर तोकिएको ठाउँ पुगेपछि जन्तीलाई बेहुली पक्षकाले बाटो छेक्छन्। पैसा तिरेपछि बेहुला जान पाउँछन्। जन्ती बजाजागासहित पुगेकाहरु नाचगान गर्छन्। सबैले लगेको मैकै एकै ठाउँमा जम्मा गर्छन्। सबैको मकै मिसाउने र सुनपानी, गोबर तितेपातीले चोख्याउने चलन छ। ‘यसो गर्दा मकैमा घुन किरा लाग्दैन, चोखो हुन्छ भन्ने मान्यता हो’ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने।

चोख्याइएको मकै सबैले घर फर्कँदा बेलुकी एक, एक मुठी लिएर जान्छन्। त्यो मकै छर्ने बेला भएको मकैको बिउमा त कसैले भकारीमा राख्छन्। बिउ मकैमा मिसाएर रोप्ने गरिन्छ। ‘धेरै फल्छ, असिनापानीले खाँदैन भन्ने मान्यता छ’ अध्यक्ष गुरुङले भने। मकैको बिहे नाम दिएर लाप्राकीले गर्ने यो परम्परागत पूजा हो। यसलाई प्राकृतिक अर्थात बोन संस्कृतीका रुपमा लिने गरेको उनले बताए। मुख्य बाली राम्रो होस् भन्ने चाहनाले मकैको बिहेलाई संस्कृतीको रुपमा विकास गर्ने योजना रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए।
 
 

प्रकाशित: ८ फाल्गुन २०७६ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App