काठमाडौं- सञ्चारमन्त्री गोकुल बास्कोटाको सार्वजनिक भएको अडियोमा कर्मचारीलाई अश्लिल शब्दले सम्बोधन गरेको भन्दै निजामती कर्मचारी यूनियनले आपत्ति जनाएको छ। सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिशन माग गरेको अडियो सार्वजनिक भइसकेको छ। अडियोमा मन्त्री बास्कोटाले कर्मचारीलाई अपशब्द प्रयोग गरि उपेक्षा गरेको भन्दै निजामती कर्मचारी यूनियनले विज्ञप्ती मार्फत खेद व्यक्त गरेको हो।
नेपाल सरकारको प्रवक्ताको जिम्मोवारी लिएका व्यक्तिले राष्ट्रका सेवकका बारेमा उपेक्षीत शब्द चयनले सम्पूर्ण कर्मचारीलाई दुःखी तुल्याएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस विषयमा स्वतन्त्र छानविन गरि सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाहीको माग समेत गरेको संघका उपमहासचिव दुर्गानाथ फुयाँलले जनाएका छन्। यूनियनले दोषीलाई कानुनी कारबाही नभएमा बहिस्कार गर्ने दिन आउन सक्ने समेत सो विज्ञप्तीमा उल्लेख छ।
यस्तै, भ्रष्टाचार भए नभएको विषयमा पनि कुनै प्रभावरहित छानविन हुनु पर्नेमा जोड दिँदै ध्यानाकर्षण समेत गराएका छन्।
प्रकाशित: ८ फाल्गुन २०७६ ०८:२८ बिहीबार