८ वैशाख २०८१ शनिबार
विचार

दिव्य उपदेशका पक्षमा

कुनै सन्देशलाई आक्रमण गर्न कठिन भए सन्देशबाहकलाई अपमान गर्नु नौलो चलन होइन। खासगरी भिन्न आस्था, सभ्यता र विश्वास प्रणाली भएका क्षेत्रमा रहेका प्राचीन ज्ञान र ज्ञानका संवाहकदेखि समकालीन व्यक्तित्वसम्मलाई अपमानित गर्ने/गराउने व्यथा पुरानै हुन्। यो चक्रमा विभिन्न सभ्यता पिसिए र विलिनप्रायः भए। पेगनलगायत भिन्न सभ्यता नामेट पार्ने प्रयास भए। उपनिवेश बनाएर भाषा लादिए, विश्वास प्रणाली थोपरिए, साधन सोहोरिए र प्रत्यक्ष दासत्व कानुनीरूपमै लामै समय अघि बढाइयो।

यसै उपमहाद्वीपमा आर्य (आर्य जाति होइन, गुण हो) आक्रमण सिद्धान्त ल्याइयो। आक्रमणका प्रमाण नभेटिएपछि ‘आर्य बसाइँ सराइ’ भनियो। अहिले आर्य भनिएकाहरू पश्चिमबाट पूर्व आएको नभई पूर्वबाट पश्चिमसमेत गएको प्रमाण आउन थालेपछि ‘आर्य पर्यटन’ भन्न थालिएको छ। प्राचीन सरस्वती नदी सेरोफेरोमा हुँदै गरेका उत्खनन र हालै गरिएका डिएनए जाँचले ‘आर्य आक्रमणको सिद्धान्त’ ढल्ने अवस्थामा छ।

अंग्रेज भारतमा आएर मनुस्मृतिलाई हिन्दु कानुन भन्ने जबकि पराशर स्मृतिले कृत युगमा मनु, त्रेतामा गौतम, द्वापरमा शंख र कलिमा पराशरका धर्मलाई मुख्य भन्छ (१२४) मनुस्मृतिलाई हिन्दु कानून बनाउन क्षेपक थपिए। थपेका क्षेपक र गलत अनुवादसमेत देखाएर मनुवादी भनी घृणा गर्ने खेल जारी छ। कौटिल्यले नै मनुस्मृतिलगायत विभिन्न स्मृतिका अनेक कुरामा असहमति राखेका छन्। त्यसैले त्यो उनको पालामा नै कानुन थिएन। वास्तवमा स्मृतिहरू राज्य निर्मित कानुन थिएनन्। कानुनका लागि स्रोतसम्म थिए।

युरोपमा धर्म परिवर्तन गर्न नमान्ने लाखौँ पेगन र खासगरी महिलालाई घिसारेर, आगो लगाएर वा अन्य कुनै निर्मम तरिकाबाट मारिएका अभिलेख भेटिन्छ।

युरोपमा धर्म परिवर्तन गर्न नमान्ने लाखौँ पेगन र खासगरी महिलालाई घिसारेर, आगो लगाएर वा अन्य कुनै निर्मम तरिकाबाट मारिएका अभिलेख भेटिन्छ। अमेरिकाका मूल निवासी लाखौँको संख्यामा क्रूरतापूर्वक (तालिम प्राप्त कुकुर र कीटाणु प्रयोग गरेरसमेत) मारिएका कुरा सार्वजनिक छन्। अफ्रिकामा गरिएका अति क्रूर व्यवहार र दासलाई मानिससम्म नमान्ने सोच पनि धेरै पुरानो होइन। उता महिलालाई एक चौथाइ मात्र मानिस मानिन्थ्यो। अस्ट्रेलियामा आदिवासीका एउटा पुस्ताका सन्तानलाई अभिभावकबाट छुटाएर लगिएको धेरै वर्ष भएको छैन। केही वर्षअघि मात्र त्यहाँका प्रधानमन्त्रीले माफ मागेका थिए। गोवा इन्क्विजिसन हाम्रै छिमेकमा गराइयो। भियतनामका बुद्धमार्गीलाई गरेका अत्याचार खासै पुराना होइनन्।

केही वर्षयता नेपालमा पृथ्वीनारायण शाहका प्रतीकमाथि अपमान गर्ने/गराउने काम भएका छन्। विधिशास्त्रमा नजन्मेका र मृतक व्यक्तिका पनि अधिकार हुन्छन्। मृतकका काम, कुरा तर्क, आधार र प्रमाणको आधारमा आलोचना र खण्डन गर्नु एउटा कुरा तर अमर्यादित व्यवहार र अपमान गर्न पाइँदैन। मृतकले आफ्नो प्रतिरक्षा आफँैले गर्न नसक्ने हुँदा मृतकको आलोचना थप संयम र सतर्कतापूर्वक गर्नुपर्छ भनिन्छ।

पृथ्वीनारायण शाहले गाली खान पर्नुका कारण मुख्यतः दुईवटा देखिएका छन्– पहिलो, जासुस पादरी जिस्सेपीको लेखोट जुन कर्कप्याट्रिकले आफ्नो किताब ‘एन एकाउन्ट अफ द किंगडम अफ नेपाल’ मा पुनः प्रकाशित गरेका छन्। यो इसाई पादरी र अंग्रेजी इतिहासकारले सानो घटनालाई बढाइचढाइ गरेको अनर्गल प्रचारमात्र हो। दोस्रो दार्जिलिङ गएका इसाई पादरीले गोर्खाली सेनाले लिम्बुआनका सबै पुरुष र महिला मारे, केटाकेटीलाई ढिकीमा कुटेर मारे भनी अनर्गल कुरा लेखाएको कुरा पत्याउनु रहेको छ।

पृथ्वीनारायण शाहविरुद्ध घृणा गर्ने कामको थालनी जिसेप्पीले गरे। उनी तिनै जासुस हुन् जो उनका सहभियुक्त माइकल एन्जेलोसहित पृथ्वीनारायण शाहको पालामा बेतिया पठाइएका थिए। हिमवत्खण्ड नेपालको सभ्यताविरुद्ध आफूले छल गर्ने र कम्पनी सरकारबाट बल प्रयोग गराउने उनको क्रुसेडी योजना पृथ्वीनारायण शाहको पालामा तुहिन पुग्यो। पाटनका राजामार्फत नेपाल एकीकरण रोकी अंग्रेजलाई आक्रमण गर्न सहज पार्ने षड्यन्त्र विफल भयो। 

अन्यथा प्रमाणित नभएसम्म हामी तिनै बाबुराम आचार्य, योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली र नयराज पन्त प्रवृत्ति इतिहासकार र नेपाल प्रज्ञाप्रतिष्ठान, इतिहास संशोधनमण्डल र जगदम्बा प्रकाशन जस्ता प्रकाशकलाई शंकाको सुविधा दिन्छौँ।

जिसेप्पीको घृणापत्रलाई कर्णेल कर्कप्याट्रिकले आफ्नो पुस्तकमा समावेश  गरे। त्यो किताब उनले अंग्रेज क्याप्टेनका रूपमा वस्तुस्थिति विवरण तयार र रेकी गर्न नेपाल आएका बेलाको संकलन थियो। त्यो किताब इस्ट इन्डिया कम्पनीका अभिलेख र त्यसैको अनुशास्ति (स्याङसन) तथा संरक्षण (प्याट्रोनेज) मा प्रकाशित गरिएको कुरा त्यसै किताबमा बताइएको छ। यो किताब इतिहास भन्दा पनि नेपालविरुद्ध युद्ध गर्न तयार गराइएको निर्देशित, नियन्त्रित चरसामाग्री भन्ने देखिन्छ।

राज्यको एकीकरण फूलको आदान–प्रदानबाट सम्भव भए सुनमा सुगन्ध हुन्थ्यो। न बेलायतले फूलमात्र बर्साएर अरु उपनिवेश बनायो न अमेरिकी स्वतन्त्रता संग्राम, न त फ्रेन्च क्रान्ति नै त्यसरी भए न बोल्सेभिक क्रान्ति न त चिनिया क्रान्ति रक्तविहीन रहे सिन्धुलीगढी, बटौली र नालापानीमा अंग्रेज हातमा फूल लिएर आएका थिएनन्।

पृथ्वीनारायण शाहको एकीकरण शैली शत्रु राज्य घोषणा गरेर विनास गर्ने प्रकृति र प्रवृत्तिको देखिँदैन। उनले एकीकरण अभियानमा दण्ड भन्दा साम, दान र भेदनीतिलाई बढी महत्व दिएका देखिन्छ। लडाइँको परिस्थिति उत्पन्न भएमा पनि सिपाहीबाट लुटाउने, बलत्कार गराउने, आवास नष्ट गराउने ‘नीति’ लिएको देखिँदैन युद्धरत परिस्थितिमा लडाकाहरूबीच उत्पन्न आक्रोश र आवेशले गराएका क्षति नीतिगत हुँदैनन्। त्यो बेला आजको जस्तो सञ्चारको सुविधा थिएन। महाभारतकालमा सञ्जयले जस्तो युद्धको विवरण दिने क्षमता पनि कसैमा थिएन। मोर्चामा कमान्डर र सिपाहीले गर्ने निर्णयमा तत्काल हस्तक्षेप गर्ने क्षमता कुनै पक्षका राजा स्वयममा पनि थिएन।

पृथ्वीनारायण शाहका बारेमा २००७ साल अगाडि किन लेखिएन ? वा किन सार्वजनिक गरिएन ? भन्नलाई २००७ साल पूर्वको परिस्थितिप्रति आँखा चिम्लिन सकिँदैन। मकैको खेती लेखेबापत त्यसका लेखकले पुरस्कार पाएका थिएनन्। महाकवि देवकोटा तीर्थ गर्न वनारस पुगेका थिएनन्। त्यो बेला लेखनाथ र सिद्धिचरणका कविता सेन्सर हुन्थे भन्ने पनि छ। जाँचमा कापीमा लेखेको कुरालाई लिएर विद्यार्थीलाई कारागारमा राखिएको इतिहास छ। गीताको प्रवचन दिने ठाउँमा पनि जासुस घुमाउने जमाना थियो। त्यो कृष्णप्रसाद कोइरालालाई देश छाड्ने रहर पक्कै थिएन। कानुन पनि अधिकारी (हाकिम र तहरिर) मात्रलाई दिने जमाना थिया। अंग्रेजले समेत १९१० को आइन (ऐन) वर्षौँ हात पार्न सकेका थिएनन्। राजा र राणा शासकको द्वन्द्व पनि इतिहासको लुकेको पाटो होइन। त्यो समयमा राजाका अनुभवमा आधारित पुस्तक गर्धन माया नमारी बाहिर ल्याउनु, छपाउनु र प्रचार गराउनु सम्भव थियो त ?

बाबुराम आचार्य र योगी नरहरिनाथबाट सम्पादित दिव्य उपदेशको पिठिकामा पृथ्वीनारायण शाहको दरवारमा बस्नेतहरू पनि मुख्य भारदार रहेको, उनले आफ्नो जीवनको अन्तिम समयमा भाइभारदारलाई अर्ति उपदेश दिएको र ती उपदेश मार्मिक हुँदा टिपेर राख्नु र सार्नु स्वाभाविक रहेको बताइएको छ। यो उपदेश वख्शी अभिमानसिंह बस्नेतले पनि सारेर राखेको, त्यसको एक प्रति भक्तबहादुरसंग पनि रहेको र सम्पादकलाई अभिमानसिंहका वंशज बखतमानसिंहबाट प्राप्त भएको बताइएको छ। यो उपदेश यसअघि काशीबाट गोरक्ष ग्रन्थमालामा पनि प्रकाशित भएको उल्लेख छ। यो उपदेश वि. सं. १८६० तिर मात्र लिपिबद्ध भएको हुन सक्ने कारण पनि दिइएको छ। यसमा हालको भन्दा भिन्न भाषाशैली रहेतर्फ पनि संकेत गरिएको छ।

दिव्य उपदेशको सुरुमै भाइभारदारको विवरणसहित उनीहरूलाई सुनाएको र पुस्तान्तरण गर्न चाहेको बताइएको छ। जुन नाम यसमा उल्लिखित छन् ती त्यसबेलाका मानिस होइनन् र ? त्यसबेला त्यो भूमिकामा थिएनन् भनी प्रमाणित छ त ? अर्थात् सुरथसिङ राना, रणजित बस्न्यात, मानसिंह रोकाहा, वीरभद्र पाठक, कालु पाँडे, बिराज बखती, भानु जैसी, कुलानन्द जैसी, पुजारी राना, परशुराम थापा, दलमर्दन शाह, झागल गुरुङ, शिवराम बस्न्यात आदि काल्पनिक पात्र हुन् त ?

के दिव्य उपदेशमा उल्लिखित मन्दिर देवीस्थान मनोगत कुरा हुन् ? के जयप्रकाश मल्लले दक्षिणबाट नागा झिकाएको होइन ? के काश्मीरी नबाब मकवानपुर चढेको होइन ? के हार्डिंग अर्थात् हाँडीसाब सिन्धुलीगढी चढेको होइन ? के तीनजना कालिगढ मुसलवान लखनौबाट आएको होइन ? के दिव्य उपदेशमा उल्लिखित घटना अप्रमाणित हुन् ? के दिव्य उपदेशमा उल्लिखित स्थान काल्पनिक हुन् ?

के प्रज्ञा प्रतिष्ठान र जगदम्बा प्रकाशनले कर, बल र डरका कारण त्यो किताब छापेका हुन् ? के इतिहासबारे संशोधनमण्डल र नयराज पन्तले तथ्य मूल्यांकन नै नगरी संस्कृत र नेपाली भाषामा कविताका रूपमा छापे÷छपाए होला त ? के संशोधनमण्डल गफाडीको अखडा थियो त ? के स्टिलरले काल्पनिक भनेर नै अनुवाद गरे वा उनलाई अनुवाद गर्न लालच वा दबाब थियो त ? बस्नेत परिवारले नक्कली कागज लेखी लेखाइ त्यत्रो वर्ष घरमा राखे होलान् त ?

इतिहास नयाँ तथ्य र प्रमाण फेला परे सोहीअनुरूप परिमार्जन हुन सक्छ, हुनुपर्छ तर नयाँ न्यारेटिभ चलाउनकै लागि ढुंगा हान्नु र आफ्नो बाटो लाग्नु पर्याप्त हुँदैन। त्यो होइन भनेरमात्र पुग्दैन, यो यसो हो भनेर पुष्टि पनि गर्नुपर्छ। पहिले लेखिएको कुरालाई एकएक गरेर खारेज गर्न सकिन्छ तर प्रमाण चाहिन्छ। पृथ्वीनारायण शाहको वक्तृत्व, अर्ति, उपदेश वा दिव्य उपदेश भनिएको किताब खण्डन गर्न नसकिने नपाइने पक्कै होइन त्यसको लागि वाक स्वतन्त्रताको संवैधानिक हक संझेर प्रश्न उठाउनुमात्र पर्याप्त हुँदैन। यो यसकारण काल्पनिक हो वा यो यो प्रमाणका आधारमा पछि तयार भएको हो भन्ने पुष्टि गर्ने जिम्मा पनि प्रश्न उठाउनेकै हो।

त्यसका लागि बाबुराम त खरदार हुन्, नरहरिनाथ जोगी हुन् र सूर्यविक्रम दार्जिलिङका हुन् भनेर मात्र पुग्दैन। विदेशमा नपढेका नयराज पन्तले पत्याएको कुरालाई म पत्याउँदिन भन्न त पाइएला तर अरुले पनि आफूलाई पत्याउन् भन्ने आधार प्रमाणसहित आउनुपर्छ जस्ले अरुमाथि प्रश्न गर्ने हक छ भन्छ त्यसमाथि अरुले पनि प्रश्न उठाउन पाउँछन्।

विद्वान्हरूले गर्ने प्रश्न शंका पैदा गर्न मात्र नभई उत्तर खोज्न पनि प्रेरित होउन्। कुनै संस्थाको न्यारेटिभ धान्नका लागि बतासे हान्नमा बुद्धिजीवी सीमित नहोउन्। दिव्य उपदेशको कोण कोणबाट अग्निपरीक्षा होस्। हामी आममानिसको मनमा जसले शंका उठाइदिएका छन् तिनले आफ्नो पनि शंका मेटाउन् र हाम्रो पनि शंका निवारण गरिदिउन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App