८ वैशाख २०८१ शनिबार
विचार

नारी संवेदनामा खेलबाड: कहिलेसम्म ?

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भयो। कसैले यसलाई श्रीमान्सँगको खटपटका रूपमा व्याख्या गरे। कसैले अनैतिक कार्यको फल भने। कसैले बलात्कारपछि हत्या भएको अनुमान गरे। अनि कसैले चाहिँ कामदारप्रतिको रुखो व्यवहारको परिणाम पनि भनेका छन्। अझ कतिपयले त श्रीमान्प्रति नै औंलो ठड्याउन पनि भ्याएका छन्।

मुना कार्कीको हत्या भयो– यथार्थ यही हो। समाजमा घटना/दुर्घटना हुन्छन्, यो पनि सत्य हो। तर जब घटना महिलालाई हुन्छ तब समाज किन यतिविघ्न संवेदनशील हुन्छ ? मुलुकमा यस्तै घटनाको छानबिन गर्न, सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही तोक्न अर्धन्यायिक/न्यायिक निकाय खडा छन्। तिनलाई बेवास्ता गर्दै मनलागी टिप्पणी गर्दै हिँड्ने अधिकार हामीलाई कसले दियो ? यसरी जथाभावी टिप्पणी गर्दा पीडित पक्षलाई पर्ने आघात र हुने क्षतिको पूर्ति कसरी हुन सक्छ ?

विशेषगरी सामाजिक सञ्जालमा यस्ता हर्कत बढी नै देखिने गरेका छन्। युट्युब र अनलाइन पत्रिकाहरूले पहिलो हुने होडमा होस् वा ‘स्कुप’ हान्ने नाममा– घटनालाई आफूखुसी तोडमरोड गर्ने गरेका छन्। केही हदसम्म छापा पत्रकारिताले पनि यिनै सामाजिक सञ्जालको सिको गर्ने गरेको देखिएको छ। यसरी प्रतिस्पर्धाका नाममा आफूले प्रस्तुत गरेका सामग्रीले घटनाका पीडितलाई कस्तो तनावमा पारेका छन् भन्ने कुरा तिनले कहिल्यै सोचेका छन् ? अझ विशेषगरी महिलाका सवालमा गरिने मजाकले तिनको जीवन बर्बाद गरेको, पीडितलाई मर्नु न बाँच्नुको स्थितिमा पु-याएको महसुस कहिल्यै गरेका छन् ?

महिला हिंसाको ग्राफ बढेको बढ्यै छ। तर हामी महिलाविरुद्ध भइरहेका अत्याचार अन्त्यका लागि गम्भीर हुनुको साटो उल्टै तिनका पीडालाई आफ्नो स्वास्र्थपूतिको माध्यम बनाउन उद्यत छौं। यो आजको सभ्य र शिक्षित दाबी गर्ने व्यक्ति र समाजका लागि सुहाउने कुरा हो ?

कुरा मुना कार्कीको मात्रै होइन, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा पनि यस्तै कुकर्म देखिएका थिए। कसैले उनकी आमालाई उचाल्ने त कसैले उनका बाबुलाई उचाल्ने प्रतिस्पर्धा नै चल्यो। एकातिर छोरी गुमाउनुको पीडा, अर्कातिर विभिन्न ...कर्मी तथा सञ्चारमाध्यमका नाममा प्रयोग हुनुपर्दाको तनावबाट उनीहरूले अहिलेसम्म उन्मुक्ति पाउन सकेका छैनन्। उनका अभिभावक केही समय मानसिक रूपमा समेत विक्षिप्त बनेको खबर त्यतिबेलै सार्वजनिक भएको हो।

बलात्कारमाथि बलात्कार
घटनाका पक्ष बोल्नै नपाउने, बोले पनि विभिन्न स्वार्थ समूहलाई लाभ हुनेगरी बोलिदिनुपर्ने, सबै कुरा सामाजिक सञ्जाललगायत सञ्चारमाध्यमले गरिदिने र अधिकारकर्मी बताउनेहरूकै लहलहैमा लाग्नुपर्ने अवस्था सिर्जना गर्ने लहर चलिरहेको छ। यस्तो अवस्थामा एकपटक भएको बलात्कारमाथि पटकपटक बलात्कार हुने गरेको वास्तविकताप्रति किन विचार पु-याउँदैन समाज ? वास्तवमा मानिस एकपटक मर्छ तर हाम्रा यी अवाञ्छित गतिविधिले लासलाई पनि पटकपटक मारिरहेका छन्। तर पनि हामी फिटिक्कै संवेदनशील छैनौं। किन ? अब सोध्नैपर्ने भइसकेको छ।

सञ्चारमाध्यम खबर सार्वजनिक गर्ने निकाय मात्र हुन्। पीडित पक्ष, महिला, अल्पसंख्यक, अन्यायमा पारिएको वर्ग आदिका विषयमा समाचार संकलन तथा सम्प्रेषण गर्दा केही विशेष प्रक्रिया अपनाइनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छन्। जसमा पीडितलाई हेपेर विचरा भन्नेदेखि उनीहरूका पीडालाई आफ्नो व्यापारको माध्यम बनाउन नपाइनेसम्मका कुरा पर्छन्। उनीहरूको गरिबी बेच्ने, उनीहरूको सनातनी रीतिरिवाजप्रति मजाक गर्ने, विश्वास, आस्था मात्र होइन, लवाइ र खुवाइको गिल्ला गर्ने अधिकार पनि हामीलाई छैन। यस्तो अवस्थामा पीडितको घटनालाई ‘मनोरञ्जन’ का रूपमा प्रस्तुत गर्ने अधिकार हामीलाई कुन संहिताले दियो ? कुन कानुनले दियो ? तर हामी निर्वाध यस्तै गरिरहेका छौं।

नेपालको कानुनअनुसार अदालतमा विचाराधीन मुद्दामा त्यही कानुन बनाउने थलो जननिर्वाचित निकाय संसद्मा समेत छलफल गर्न पाइँदैन। यसरी छलफल वा तर्क/वितर्कमा सभासदहरू नै उत्रे भने त्यसले मुद्दाको प्रमाण संकलन तथा निष्पक्ष फैसला प्रभावित हुने ठानेर यस्तो व्यवस्था गरिएको हो। यो अभ्यास अन्तर्राष्ट्रिय स्तरमा पनि देख्न सकिन्छ। तर नेपालमा कुन विचाराधीन सवाल, कुन संवेदनशील मुद्दा, सोचविचारै गरिन्न। ‘भ्युअरसिप’ बढाउने अर्थात् घटना बेचेर दाम कमाउने लोभमा कानुनविपरीतका यस्ता काम खुलेआम भइरहेका छन्।

किन यति असंवेदनशीलता ?
बलात्कृत छोरी/बहिनी/भान्जी/नातिनी/चेलीको पीडाले मुटु भतभती पोलिरहेको हुन्छ। कठोर हृदय भएकाबाहेक अन्य पाठकलाई समेत यस्ता खबरले मर्माहत बनाइरहेका हुन्छन्। यस्तो अवस्थामा आफूलाई सम्हाल्नै नसकेर अरू दुर्घटना निम्तिएका उदाहरण पनि प्रशस्तै देखिएका छन्। बल्लबल्ल बिर्सन, भुल्न खोजेर तथा कानुनी निसाफ पर्खेर चित्त बुझाई बसेकोे अवस्थामा घटनालाई समाज र सञ्चारमाध्यमले नानाभाँती किसिमले बारम्बार प्रस्तुत गरिरहँदा पीडितको मन सम्हालिन्छ कसरी ? झनै चह¥याउने खबर र टिप्पणीले उनीहरूको घाउको उपचार हुन्छ कसरी ? तर पनि समाज र सञ्चारमाध्यम पटक्कै संवेदनशील देखिँदैनन्। उल्टै निर्दयी बन्न उद्यत देखिएका छन्।

महिला मनोरञ्जनका साधन हुन् ? ती र तिनका सवाल बिक्रीका वस्तु हुन् ? नारीका पीडा र वेदना दर्शक तानेर आम्दानी बढाउने फिल्मी कहानी हुन् ? नारी, कसैका पेसा/व्यवसाय सुनिश्चित गर्न जन्मिएका प्राणी हुन् ? कि ती, चौतारी र चिया पसलमा भेला भएर बेरोजगारका ‘टाइम पास’का साधन हुन् ? नत्र किन मरिसकेर पनि तिनलाई मारिन्छ, पटकपटक ? किन गरिन्छ, बलात्कारमाथि बलात्कार ? किन बारम्बार पीडित भइरहनुपर्छ ती छोरीका आमाबुबाले ? जबसम्म यस्ता प्रश्नका उचित उत्तर आउँदैनन् तबसम्म हामी, महिलालाई न्याय गर्न सक्दैनौं।

हाम्रो समाज पनि बडो विचित्रको छ। हामी नकारात्मकतामा रमाउँछौं। हामीलाई विकास/निर्माण भएको, सिर्जना/प्रतिभा फुलेको/फक्रेको, कसैले उन्नति/प्रगति गरेको त्यति मन पर्दैन। त्यसैले त हामी ध्वंश, हत्या, बलात्कार, कुटपिट, झैझगडा अनि बिग्रे/भत्केको विषयमा बढी रुचि राख्छौं। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मले हाम्रो यही मनोविज्ञान ‘क्यास’ गर्न खोजेका हुन्। जुन बिलकुल बेठीक हो। तर सञ्चारकर्मी पनि यही समाजका उत्पादन भएकाले उनीहरूले पनि पृथक सोच्ने कुरै हुँदैन। हामी अहिले यही वास्तविकताको सिकार भइरहेका हौं।

दण्डहीनताको करामत
सञ्चार आचारसंहिता बनेका छन्। गाली/बेइज्जती ऐन छ। अदालतमा विचाराधीन मुद्दामा लेख्न नपाइने नियम पनि छ। भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण गर्नेलाई कारबाही गर्ने कानुनी आधारसमेत हाजिर छ। यस्ता खबर दिनेविरुद्ध नियमन गर्ने र कारबाही प्रक्रियामा लैजाने निकाय पनि खडा छन्। तर पनि पीडित पक्षविरुद्ध एकपछि अर्को प्रहार गर्ने क्रम जारी छ। सोझो अर्थमा– महिला हिंसाका पीडितलाई अपूरणीय क्षति पु-याउने सिलसिला जारी छ। तर पनि नागरिकदेखि राज्यका जिम्मेवार निकायसम्म यस सवालमा गम्भीर नहुनु ज्यादै विडम्बना र दुःखद विषय बनेको छ।

‘वाचडग’को काम गर्नुपर्छ, सञ्चारमाध्यमले। यसमा दुईमतै छैन। तर के पनि भुल्न हुँदैन भने सञ्चारमाध्यम न्यायाधीश होइनन् र हुन सक्दैनन्। न त ती, ज्योतिषी नै हुन्, भविष्यवाणी गर्ने। तर यहाँ त कुन बेला घटना होला र त्यसको दोषी तुरुन्तै पत्ता लाइदिउँला भनेजसरी बसेका भेटिन्छन्, सञ्चारकर्मी भन्नेहरू। आफैं घटनाको तानाबाना बुन्छन्, आफैं प्रमाण जुटाउँछन्, आफैं बहस गर्छन् अनि निर्णय पनि आफैं सुनाउँछन् र सजाय पाउने दोषी वा निर्दोषी साबित गरिदिन्छन्। यसका लागि उनीहरू घटनासँग सम्बन्धित महिला र उनका आफन्तलाई ‘हतियार’का रूपमा प्रयोग गर्छन्। र, सिकारचाहिँ आफू हात पार्छन्। आफ्नो स्वार्थसिद्धिका लागि अर्काको पीडालाई हतियार बनाउनु कुन धर्म र मानवताभित्र पर्छ ? यसबारे भने सबै मौन देखिन्छन्।

अन्त्यमा,
मानव अधिकार संस्था इन्सेकले गत बुधबार मात्र सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा महिला हिंसासम्बन्धी घटनाबाट ३ हजार ३ सय ६४ जना पीडित भएका छन्। जसमध्ये ‘बोक्सी’ आरोपमा ४२ महिला पीडित भएका छन् भने ५ सय ३० जना बलात्कारमा परेका छन्। त्यसैगरी यौन दुव्र्यवहारबाट ६३ जना प्रताडित भएका छन्। १ सय २९ महिलाको हत्या परिवारबाटै भएको छ। तीमध्ये १३ जना त भनेजति दाइजो नल्याएको आरोपमा मारिएका छन्।

यसरी महिला हिंसाको ग्राफ बढेको बढ्यै छ। तर हामी महिलाविरुद्ध समाजमा भइरहेका यस्ता अत्याचार अन्त्यका लागि गम्भीर हुनुको साटो उल्टो त्यस्ता घटनालाई आफ्नो निहित स्वास्र्थपूतिको माध्यम बनाउन उद्यत छौं। अनि त्यस्तै संवेदना बेचेर आफ्नो जीविकोपार्जन सुरक्षित बनाउने एकसूत्रीय अभियानमा तल्लीन छौं। यो आजको सभ्य र शिक्षित दाबी गर्ने व्यक्ति र समाजका लागि शोभनीय कुरा हो ? बेलैमा सोचौं।

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App