निना एल ख्रुस्चेभ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पछिल्लो स्टेट अफ युनियन भाषणमा भने, ‘जम्मा ३ वर्षभित्र अमेरिकाको अवनति हुँदै छ भन्ने मानसिकता छिन्नभिन्न बनाउन हामी सफल भएका छौं। अमेरिकी नियतिको आकार खुम्चिँदै छ भन्ने सोच गलत साबित गरेका छौं।’ वास्तविकताभन्दा बढी प्रचारबाजीमा आधारित यो आधारहीन दाबीले सन् १९३५ मा जोसेफ स्टालिनले गरेको घोषणा स्मरण गराएको छ। स्टालिनले भनेका थिए– ‘जनजीवनमा सुधार आएको छ, कमरेडहरू। जीवनमा अझ खुसियालीको लाली चढेको छ।’
यसो भनेर उनले सोभियत सत्ताले ‘मजदुरको भौतिक कल्याणमा आमूल परिवर्तन भएको’ दाबी गरिरहेका थिए। तर यसविपरीत उत्पादनको तथ्यांक धिमा थियो। विशेषतः युक्रेनका जनता भोकमरीस“ग लडिरहेका थिए। निर्मम राजनीतिक शुद्धीकरण अभियान नामको दमन चलिरहेको थियो। त्यसरी नै ट्रम्पले ‘अमेरिकी महानता’ पुनस्थापना गर्न आफ्नो सरकार सफल भएको दाबी गरिरहेका बेला अमेरिकाका सहकर्मी र मित्र राष्ट्रहरू भने अमेरिकाप्रति आफ्नो निर्भरता घटाउन दिलोज्यान लगाइरहेका छन्। यो अवस्था विश्वव्यापी स्थायित्वका लागि खतरा र अन्तर्राष्ट्रिय रूपमा अन्तरविरोधको सवाल बनेको छ।
अर्थतन्त्रसम्बन्धी ट्रम्पको घोषणा पनि उसैगरी गलत छ। हो, कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि तुलनात्मक रूपमा बढेको छ। स्टक मूल्यले उच्च मूल्यको कीर्तिमान राखेको छ। तर मिचिगनका गर्भनर ग्रित्चेन विटमेरले स्टेट अफ युनियन भाषणपश्चात् ‘दसौं लाख मानिसलाई जीविकोपार्जन गर्न हम्मेहम्मे भएको छ। यातायात, शैक्षिक ऋण वा औषधि खानुपर्ने खाइसकेपछि महिनाको अन्त्यमा मानिसका हातमा सुको नहुने’ प्रतिक्रिया दिएका थिए। ट्रम्पले प्रचार गरेको ‘शारीरिक श्रमिकको लाभ’ (ब्लु कोलार बुम) ले अमेरिकी शारीरिक श्रमिकको ठूलो हिस्सालाई छुन पनि सकेको छैन।
ट्रम्पको हातमा जति लामो समयसम्म शक्ति रहन्छ, त्यति नै अमेरिकी प्रजातन्त्रको आयु कम हुनेछ। उनी पुनः निर्वाचित हुनुको अर्थ लोकतन्त्रको बत्ती निभाउनुजस्तै हुनेछ।
मैले ट्रम्पलाई नयाँ स्टालिन भन्न खोजेको होइन। न त मैले आजको संयुक्त राज्य अमेरिकाको राजनीतिलाई नै सन् १९३० दसकको सोभियत संघको राजनीतिस“ग तुलना गर्न खोजेकी हु“। म कुन कुरा प्रचारबाजी मात्र हो भन्ने कुरा थाहा पाउन सक्छु। ट्रम्पका शब्द कुनै लेखभन्दा कम होइन। एउटा प्रभावकारी प्रचारबाजीले कसरी अधिनायकवाद लागि स्थान बनाउन सक्छ भन्ने कुरा पनि मलाई थाहा छ। अनि शक्तिशाली लोकतन्त्रसमेत अधिनायकवादसामु कति कमजोर र निरीह बन्न सक्छ भन्ने कुरा पनि मलाई थाहा छ।
निःसन्देह प्रचारबाजी केही शब्दमा मात्र आधारित हुने गर्दैन। आफ्नो महानता सिञ्चन गर्न अधिनायकवादी शासकले अरू पनि विभिन्न हतियार प्रयोग गर्छ। वास्तुशास्त्र त्यस्तै एउटा हतियार हो। इजिप्टका फैरो हु“दै रोम सम्राट अनि उत्तर कोरियाका किम जङ उनजस्ता आजका अधिनायकवादी शासकले सार्वजनिक बुझाइमा नियन्त्रण कायम गर्न वास्तुकलाको प्रयोग (वा दुरुपयोग) गर्ने गरेका छन्। जनतासमक्ष आफ्नो भव्य छवि स्थापित गर्न उनीहरूले त्यसो गर्ने गर्छन्।
सन् १९३६ को बर्लिन ग्रीष्मकालीन ओलम्पिकलाई आधार बनाएर सन् १९३८ मा बनाइएको लेनी रिफेन्स्टालको विवादास्पद चलचित्र ‘ओलम्पिया’को छायांकन स्थल पुरुषत्व र आक्रामकता झल्काउने उद्देश्यले बनाइएको थियो। त्यसमा नाजी शासनको झलक देखाउन भरपूर कोसिस गरिएको थियो। त्यस्तै सन् १९३० दसकको सुरुतिर बर्लिन निर्माण गर्ने नाजी सरकारका वास्तुकलाकार अल्बर्ट स्पिरले एकनासको निर्मम नवक्लासिक वास्तुकला थोपरेर नाजी शासनको अधिनायकवादी महत्वाकांक्षा उजागर गरेका थिए।
स्टालिनले पनि हिटलरको साम्राज्यवादी मोडललाई आफ्नै वास्तुकलात्मक ‘क्लासिक’ ढाँचा प्रदान गरेका थिए। अग्ला–अग्ला अर्धवृत्ताकार भवन, त्यसमाथि बनाइएका गजुर र अरू संरचनाले शक्तिको प्रतिनिधित्व गर्थे। स्टालिनले न्युयोर्क सिटीको म्यानहटन नगरपालिका भवनबाट पनि प्रेरणा लिएका थिए। सन् १९१० दसकको साम्राज्यको भव्यता त्यो भवनले प्रतिबिम्बित गथ्र्यो।
अहिले ट्रम्प सरकार ‘संघीय भवन फेरि सुन्दर बनाउने’ उर्दीपत्र जारी गर्दै छन्। ट्रम्पका त्यस्ता नयाँ भवनमा ग्रीक र रोम क्लासिक शैलीको अवलम्बन गरिनेछ। ट्रम्प सरकारको उर्दीपत्रले सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ क्यानेडीले समर्थन गरेको ‘संघीय वास्तुकला निर्देशिका’लाई खुला रूपमा नकारेको छ। त्यो निर्देशिकाले वास्तुकलाको निर्माण व्यावसायिक हुनुपर्ने मान्यता राख्थ्यो।
यो आश्चर्यकै विषय भने होइन। राष्ट्रपति बन्नुभन्दा धेरैअघि नै ट्रम्पले आफ्नो शक्ति र सम्पन्नता देखाउन वास्तुकला प्रयोग गरिरहेका छन्। उनका धेरै निर्माण देखावटी खालका आकर्षक छन्। समकालीन कुलीनजस्तै चीनका सी चिनफिङ, रुसका भ्लादिमिर पुटिन र टर्कीका रिसिप तायिप इर्डोगनका सौखिन आडम्बरस“ग मिल्दाजुल्दा छन्।
यी नेता यस्तै अर्कोथरी अधिनायकवादी शक्ति प्रदर्शन गर्ने माध्यम ‘सैनिक परेड’मा पनि संलग्न छन्। आफ्ना समर्थक र विरोधी दुवैलाई समान रूपमा प्रभाव पार्ने सैनिक परेड अधिनायकवादी शासकहरूको भरपर्दो तरिका हो। सन् २०१७ मा ट्रम्पले पेरिसमा आयोजित बास्ट्ले दिवसको सैनिक परेड हेरेर आफ्नो उत्साह थाम्न सकेका थिएनन्। संयोगवश नाजीशैलीको बर्लिन बनाउन स्पिरका लागि प्रोत्साहन बनेको आर्क डी ट्रोम्पीको आडैमा त्यो सैनिक समारोह भइरहेको थियो। त्यो परेड कुनै समारोहभन्दा पनि मुढेबल प्रदर्शन थियो। दुई वर्षपछि ट्रम्पले उस्तै आफ्नो सैनिक परेडको आयोजना गरे– निकै टिठलाग्दो गरी मह“गो सैनिक परेड।
त्यस्ता प्रस्तुतिलाई विकर्षणका रूपमा बेवास्ता पनि गर्न सकिएला तर तिनले कुनै खतरनाक वा मनपरी व्यवहारलाई प्रत्यक्ष रूपमा प्रवद्र्धन गर्न मद्दत गर्न सक्छ। खतरनाक वा मनपरी व्यवहार भन्नुको अर्थ कार्यकारी शक्तिविरुद्धका सबै नियन्त्रण अस्वीकार गर्नु पनि हुन सक्छ। लोकतन्त्रलाई काम गर्न कार्यकारी शक्तिविरुद्ध नियन्त्रण अपरिहार्य कुरा हो।
आलोचना स्वीकार्न नसक्ने ट्रम्पको स्वभाव विशेषतः चासोको विषय हो। स्टालिन आफ्ना कथित विपक्षीलाई ‘जनताका शत्रु’ भनी सजाय दिन्थे। वफादार नभएको आरोपमा कति त्यस्ता मानिसलाई जेलमा थुन्ने वा मार्ने काम गरे। पक्कै पनि ट्रम्पले त्यो उचाइको दमन गर्न सक्दैनन्। तर उनले प्रयोग भने स्टालिनकै कथनको गरेका छन्। उनले पनि आफ्नो आलोचना गर्ने मिडियालाई ‘जनताका शत्रु’ नै भन्ने गरेका छन्।
रिपब्लिकन बाहुल्य सिनेटमा महाभियोग प्रस्तावबाट मुक्त भएलगत्तै ट्रम्पले आफ्ना राजनीतिक विपक्षीबारे सोधखोज गर्न युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीलाई प्रयोग गरेको विषयमा तल्लो सदनमा जा“च गर्ने सबै अधिकारीलाई कार्बाही गरे। तानाशाहीले कसरी बदला लिन्छ भन्ने कुराको यो एउटा अनुपम उदाहरण हो।
महाभियोगका साक्षी लेफ्टिनेन्ट कर्णेल अलेक्सान्द्र एस भिन्डम्यानलाई ट्रम्पले पदमुक्त गर्दा सुरक्षा अधिकारीहरूले उनका जुम्ल्याहा भाइ लेफ्टिनेन्ट कर्णेल येभजेनी भिन्डम्यानलाई पनि ह्वाइट हाउसबाट निकाला गरे। भाइ भिन्डम्यान राष्ट्रिय सुरक्षा परिषद्का कानुन अधिकारी थिए। यो विशुद्ध एउटा बदला थियो। सन् १९३० दसकको सोभियत संघ हुँदो हो त येभजेनीविरुद्ध ‘जनताको शत्रुको परिवारका सदस्य’ आरोप लगाएर साइबेरियामा ५ वर्षको सजाय हुने थियो।
अधिनायकवाद यसरी नै सुरु हुन्छ। अब आउने नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ। त्यो चुनावमा त्यहा“का सबै नागरिकले ट्रम्पभित्र सलबलाइरहेको अधिनायकवादी सोचको परीक्षण गर्नुपर्छ। ट्रम्प पुनः विजयी हुनुको अर्थ त्यो भावनालाई अझ प्रश्रय दिनु हुन्छ। उनी धेरै टाढा (अधिनायकवादी बाटो)सम्म जाने छैन भन्ने अनुमान गर्नु सुरक्षित हुने छैन। अथवा लिओन ट्रोत्स्कीले स्टालिनलाई देश रूपान्तरण गर्नका लागि अल्पबुद्धि (जसमा धेरै वोल्सेविक पनि सहमत छन्) को मानिस भनेजस्तै ट्रम्पलाई पनि त्यसरी नबुझ्नु ठूलो जोखिम मोल्नु हुनेछ।
कट्टर वोल्सेविक भ्लादिमिर लेनिन स्वंयले सन् १९२२ मा लेखेका थिए– ‘स्टालिनले आफूमा अथाह शक्ति केन्द्रीकरण गरेका छन्। त्यो शक्तिअनुसार उनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने छैनन्।’ स्टालिनको कठोरता, असहिष्णुता र सन्कीपना बुझेर उनले त्यस्तो लेखेका थिए। ट्रम्पस“ग पनि ती सबै गुण छन्। ट्रम्पको हातमा जति लामो समयसम्म शक्ति रहन्छ, त्यति नै अमेरिकी प्रजातन्त्रको आयु कम हुनेछ। उनी पुनः निर्वाचित हुनुको अर्थ लोकतन्त्रको बत्ती निभाउनुजस्तै हुनेछ।
(अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक, द न्यु स्कुल)
प्रोजेक्ट सिन्डिकेट
प्रकाशित: ८ फाल्गुन २०७६ ०४:२६ बिहीबार