८ वैशाख २०८१ शनिबार
अर्थ

चिनियाँ पर्यटक ८० प्रतिशतले घटे

प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट बच्न मास्क लगाएर हिँडेका चिनियाँ नागरिक। तस्बिर : एजेन्सी

काठमाडौं - चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटेका छन्।

अध्यागमन विभागको तथ्यांकअनुसार गएको अंग्रेजी महिना जनवरीमा १३ हजार तीन सय तीनजना चिनियाँ पर्यटक नेपाल आएका थिए। फेब्रुअरीको आधा (१६ तारिख) सम्ममा नेपाल आउने पर्यटकको संस्था एक हजार तीन सय ४० मात्र छ। यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत मात्र हो। गत डिसेम्बरको अन्तिमतिर चीनमा कोरोनाभाइरस फेला परेको थियो। जनवरीको सुरुमा यसको प्रभाव बढी नदेखिए पनि त्यसपछि संक्रमण फैलिँदै गएको हो। त्यसयता चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा गर्न जान सजिलै दिएको छैन।

भ्रमण वर्षमा पाँच लाख चिनियाँ भित्र्याउने लक्ष्यमा पुग्न निकै चुनौतीपूर्ण  

चिनियाँ पर्यटक आगमनको पछिल्लो तथ्यांकले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यलाई प्रभावित पार्ने देखिएको छ। निकै ठूलो प्रचारप्रसारसहित सुरु गरिएको भ्रमण वर्षमा सरकारले लिएको पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य अधुरै रहने पर्यटन व्यवसायीको आकलन छ। भाइरसका कारण केही व्यवसायीले नेपालको पर्यटन क्षेत्र प्रभावित हुने जनाएका छन् भने केहीले महामारीग्रस्त मुलकबाट आउने पर्यटकलाई नरोकेको भन्दै सरकारको आलोचना गरेका छन्। यो भाइरसका कारण चिनियाँ पर्यटकको आगमन घटने मात्र नभएर नेपाल चीनको छिमेकी मुलुक भएका कारण कोरोनाको त्रासले अन्य मुलुकका पर्यटक पनि घटने सम्भावना बढेको छ।

भाइरसबाट प्रभावित चीनको सरकारले रोग प्रभावित २२ प्रान्तका नागरिकलाई अहिले कै स्थितिमा विदेश भ्रमणमा रोक लागाएको छ। नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा त्यसको असर देखिने व्यवसायीको चिन्ता छ। अध्यागमन विभागले सन् २०२० को पहिलो महिनामा चीनबाट आउने पर्यटकको संख्या तीन प्रतिशत बढेको देखाए पनि मध्यजनवरीबाट महामारीको रुप लिएको भाइरसको असर फेब्रुअरीमा देखिने अनुमान गरिएको छ। उक्त तथ्यांक अनुसार गत वर्षको पहिलो महिना १२ हजार नौ सय १६ चिनियाँ पर्यटक नेपाल आएका थिए। यो वर्षको सोही अवधिमा १३ हजार तीन सय तीन पर्यटक नेपाल आएका छन्। गत वर्षभन्दा बढी चिनियाँ पर्यटक नेपाल आउनु सुखद भए पनि उनीहरुसँगै संक्रमण पनि भित्रिन सक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका हुन्। अन्य देशबाट चीन हुँदै नेपाल आउने पर्यटकमा पनि त्यसको असर पर्ने उनीहरुको भनाइ छ।

मध्य जनवरीबाट काठमाडौं–चीन उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले पनि उडान तालिका स्थगित गरेपछि पर्यटन क्षेत्रमा कोरोनाको असरबारे अनुमान लगाउन थालिएको हो। गत असोजमा मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष सफल पार्न पाँच लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य सार्वजनिक गरेका थिए। चिनियाँ राष्ट्रिपतिले गरेको नेपाल भ्रमणको खबर संसारभरका सञ्चारमाध्ययले प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरेकाले विश्वभरका दुई करोडभन्दा बढी नागरिकले नेपालबारे जानकारी लिएको अनुमान थियो। तीमध्ये धरैले नेपाल भ्रमण गर्ने मन्त्री भट्टराईको अपेक्षा थियोे। चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको बजेटले पनि न भ्याउने प्रचार–प्रसार भएको जनाउँदै उनले बर्सेनि तीन लाख हाराहारीमा नेपाल भ्रमण गर्ने चिनियाँको संख्या सन् २०२० मा पाँच लाख पुग्ने विश्वास व्यक्त गरेका थिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक घनन्जय रेग्मीले  हाल चिनियाँ पर्यटकको आगमनमा केही कमी आए पनि अझै समय भएकाले रोग नियन्त्रणपश्चात अपेक्षा गरिएको संख्या भित्रिनेमा शंका नगर्न आग्रह गरेका छन्। ‘अहिले हामी भ्रमण वर्षको सुरुआती चरणमै छौं। पहिलो महिनाको तथ्यांकले पनि केही आसलाग्दो अवस्था देखाएको छ,’ नागरिकसँग उनले भने, ‘हाल चिनियाँ सरकारले रोग नियन्त्रणका अनेक प्रयास जारी राखेकोले रोग चाँडै नियन्त्रणमा आई तिनै घरभित्र गुम्सेर बसेका नागरिकलाई सबैभन्दा उपयुक्त नजिकको गन्तव्य नेपाल हुन सक्छ।’ नेपाल कोरोना भाइरसबाट सुरक्षित मुलुक रहेको समाचार सम्प्रेषण आजको आवश्यकता रहेको भन्दै उनले केही सञ्चार माध्यमले हतारमा समाचार सम्प्रेषण गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्ने असरप्रति सचेत भई दिनसमेत उनको आग्रह छ।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा फैलिएको सामान्य रुघाखोकीलाई पनि कोरोनाभाइरस भनेर सम्प्रेषण गरेको समाचारले दक्षिण भारतीय सञ्चार माध्यमले नेपाल असुरक्षित भएको समाचार प्रकाशन गरेकाले त्यसले नेपाल आउने भारतीय हच्केको उनले बताए। हाल नेपाल–चीन हवाई कनेक्टिभिटी बढेकाले हवाई यात्रु क्षमता पनि झन्डै साढे चार लाख हाराहारी पुगेको र वर्षभरिमा पाँच लाख पर्यटक आउने विश्वास कायमै रहेको उनको भनाइ छ। अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले जनवरीमा उल्लेख्य चिनियाँ पर्यटक नेपाल आए पनि दोस्रो महिनामा केही असर पर्न सक्ने जनाए। ‘यो महिनाको दुई हप्ताको तथ्यांक हेर्दा औसत तथ्यांक देखिएको छ,’ उनले भने, ‘विस्तारै रोग पनि नियन्त्रणमा आउने क्रम जारी छ। रोग नियन्त्रण भएसँगै विमान कम्पनीहरुले स्थगित गरेका उडान पुनः सञ्चालन गर्छन् र  आगमन संख्या बढ्दै जाने अनुमान गरेका छौं।

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App