७ वैशाख २०८१ शुक्रबार
कला

कलामा नेपाल र कोरियाको मैत्री सम्बन्ध

ललितपुर – नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ। गत माघ १९ देखि ललितपुरको पाटन संग्रहालयमा आयोजना भइरहेको प्रदर्शनीमा दुई देशको प्राकृतिक र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने कलाहरू राखिएका छन्।

गोदावरी नगरपालिका र एसडीके वल्र्ड कन्भर्जेन्स आर्ट एन्ड कल्चर्ल फोरमले संयुक्त रूपमा आयोजना गरिरहेको प्रदर्शनीमा नेपाल र कोरियाको मैत्री सम्बन्ध झल्काउने कला राखिएको जानकारी आयोजकका नवराज काफ्लेले दिए। नेपाली र कोरियन कलाकारले तयार गरेको ३४ वटा कला प्रदर्शनीमा राखिएका छन्।

‘दुई देशको मैत्री सम्बन्ध झल्काउने कलाहरू प्रदर्शनीमा राखिएका छन्। नेपाली कलाकारहरूले नेपालको प्राकृतिक, धार्मिक र सांस्कृति महत्वमा आधारित रहेर तयार गरेका १७ वटा कला प्रदर्शनीमा समावेश छन्। त्यस्तै १७ कोरियन कलाकारको कला समेत प्रदर्शनीमा हेर्न सकिन्छ,’ उनले भने, ‘कलाको माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन प्रदर्शनीको आयोजना गरेका हौं। नेपालको प्रकृतिलाई केन्द्रमा राखेर प्रदर्शनी आयोजना भइरहेको छ।’

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर प्रदर्शनीको आयोजना गरिएको हो। ‘नेपाल र कोरियाको प्राकृतिक र सांस्कृतिक विविधतालाई प्रतिनिधित्व गरेर प्रदर्शनीको आयोजना गरिरहेका छौं।

प्रदर्शनीमा राखिएको चित्रकलामा हिमाल, नदी, हरियाली जंगल, मठमन्दिर र मूर्तिहरू हेर्न सकिन्छ, ’उनले भने, ‘ नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरतालाई विश्वमाझ पस्कने प्रयास गरिएको हो। विभिन्न भाषा सम्प्रदायसँग मेल खाने पुर्खाले गरेको कामको स्मरणमा पनि चित्रकलामार्फत गरेका छौं।’

कोरियन कलाकार जाङ जोङ हाङले प्रदर्शनीमा दुई देशको मैत्री सम्बन्ध झल्काउने कला हेर्ने अवसर पाएको बताए। ‘नेपाल र कोरियाका कलाकारहरू कलाको माध्यमबाट एक अर्कालाई चिन्ने अवसर प्रदर्शनीले जुराइदिएको छ। नेपाली कला, संस्कृति र सामाजिक विषयलाई चित्रकलामार्फत बुझ्न पाएका छौं,’ उनले भने। प्रदर्शनी आगामी फागुन १० सम्म चल्नेछ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App