४ वैशाख २०८१ मंगलबार
कला

‘नमस्ते ब्यान्ड’ले संगीत महोत्सव गर्दै

कास्की – नेपाली सांगीतिक ब्यान्ड नमस्तेले ३१औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा विश्व संगीत महोत्सवको आयोजना गर्दैछ। बुधबार आयोजित कार्यक्रममा गीत संगीतको विकासका निम्ति पोखराको बाराहीघाटमा १५औं संस्करणको विश्व संगीत महोत्सव आयोजना गर्न लागेको जानकारी कार्यक्रम संयोजक ईश्वर गुरुङले गराए।

‘महाशिवरात्रिको दिन पोखराको लेकसाइडस्थित बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यान्डसहित नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। नमस्ते ब्यान्डको ३१औं वार्षिकोत्सवको अवसर पारेर विश्व संगीत महोत्सवको आयोजना गरिरहेका छौं। हामीले यसलाई उत्सवको रूपमा मनाउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘महोत्सवमा नमस्ते ब्यान्डले आफ्ना नयाँ र पुराना गीतहरू समेत प्रस्तुत गर्नेछ।’

महोत्सवमा पिजेपिस जोइन्ट ब्यान्ड (अमेरिका), रन युनिटी (बेलायत) र बमशिव मिनामी (जापान) लगायत विदेशी ब्यान्ड आ–आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै नमस्ते ब्यान्डसहित १९७४ एडी, कुटुम्ब, सिवाज, प्रमोद निर्भान एन्ड म्युजिक लिंक्स्, हिमालयन एन्ड कल्टीभेसन र मिलन एन्ड द आर्टिस्टलगायत नेपाली ब्यान्डहरू प्रस्तुति दिने जानकारी उनले गराए।

गायक दीप श्रेष्ठ, गंगा बर्दान, राजेशपायल राई, याम बराल, उदय सोताङ, मनिला सोताङ, श्रेया सोताङ, चिरासिंह खड्का, प्रश्न पाण्डे र अमृता लिम्बुलगायतले समेत प्रस्तुति दिनेछन्।

‘समुद्री सतहबाट पाँच हजार ६४३ मिटर उचाईमा रहेको कालापत्थरमा कन्र्सट गरेर सबैभन्दा उच्च स्थानमा कन्सर्ट आयोजना गर्ने ब्यान्डको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएको छौं,’ उनले भने। ३० वर्षअघि स्थापना भएको नमस्ते ब्यान्डले जापानबाट गीति एल्बम ‘एकता’ सार्वजनिक गरेर नेपालको पहिलो ब्यान्डका रूपमा परिचित भएको थियो।रासस

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App