सिन्धुली - सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमके बजारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन्। घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा त्यहाँ अखाद्य वस्तुको बिगबिगीसमेत पाइएको छ।
बजार अनुगमनका लागि जिल्लाबाट टोली आइपुगेको थाहा पाएलगत्तै केही व्यापारीले पसल नै बन्द गरेका थिए। झन्डै २० वटा पसलमा टोलीले अनुगमन गरेको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत माधव बगालेले बताए। त्यहाँ एकथरी शीर्षकमा पसल दर्ता गरेर अरू सामान बेच्ने गरेको भेटिएको उनले जानकारी दिए। धेरैजसो पसलसँग दर्ता प्रमाणपत्र नै नभएको र मूल्यसूची त झन् कसैले नराखेको अवस्था रहेको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीका प्रमुख पदम ओझाले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान सोही दिन नष्ट गरिएको छ। टोलीले आगामी सात दिनभित्र कागजात पूरा गरेर मात्र पसल चलाउन र म्याद गुज्रेका सामान नबेच्न व्यापारीलाई चेतावनीसमेत दिएको छ।
चकमके बजारमा पहिलोपटक अनुगमन गरिएकाले आफूहरूको पसलमा थुप्रै कमजोरी पाइएको स्वीकार गर्दै व्यापारीहरूले आगामी दिनमा त्यस्तो अवस्था नदोहोरिने स्पष्ट पारे। बजार अनुगमनकै क्रममा उद्योग वाणिज्य संघ चकमके शाखाका अध्यक्ष मुकुन्द तिमल्सिनाले मनिता इलेक्ट्रोनिक्स नामक फर्म दर्ता गरेर उद्देश्यविपरीत पेट्रोलसमेत बेच्दै आएको भेटिएको थियो। उनले आफूलाई त्यसबारे जानकारी नभएको र सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए। ‘हाम्रो क्षेत्रमा पहिलोपटक बजार अनुगमन भएको हो, त्यसैले मनोमानी गरेको पाइएको हो। आगामी दिनमा हामी सुध्रन्छाैं,’ उनले भने, ‘सबैलाई कागपत्रअनुसारको व्यापार गर्न, अखाद्य र म्याद गुज्रेका वस्तु बिक्री नगर्न हामी अनुरोध गर्छौं।’
तीनपाटन गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले बेलाबेलामा बजार अनुगमन हुनुपर्नेमा जोड दिइन्। ‘अनुगमन गरेर बजार व्यवस्थित बनाउनु जरुरी थियो,’ उनले भनिन्, ‘हामी जनप्रतिनिधिलाई अनुगमन गरेर म्याद गुज्रिएको र मिसावट भएको सामान नियन्त्रणमा लिन धेरै गाह्रो हुन्छ।’ उनले बजार अनुगमनमा आएको टोलीलाई गाउँपालिकाले सघाउने प्रतिबद्धता जनाइन्। उपभोक्ताले म्याद नगुज्रिएको र गुणस्तरयुक्त सामान किन्न र मूल्य जान्न पाउने कानुनी अधिकार नै भएकाले व्यापारीलाई पनि सोहीबमोजिम सचेत तुल्याउनुपर्ने आवश्यकता औंल्याइन्।
बजार अनुगमनमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल, जिल्ला प्रशासन कार्यालयका लोकेन्द्र भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका विष्णु ढकाललगायतको सहभागिता थियो। अबदेखि जुनसुकै बेला बजार अनुगमन हुने भएकाले व्यापारीलाई सचेत रहन टोलीले सुझाव दिएको छ। बजारबाट जिरा, खानेतेल, खानेपानी, चाउचाउलगायत खाद्यान्न सामग्रीको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अर्यालले बताए।
प्रकाशित: ८ फाल्गुन २०७६ ०३:४२ बिहीबार