१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'जनताको पैसा अनुशासित भएर परिचालन गर'

काठमाडौं- नेपाल त्रे्कडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)मा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर एनसिसी बैंकको नामबाट आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

बैंकको बागबजारस्थित कर्पोरेट कार्यालयमा आइतबार एक औपचारिक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंककोे एकीकृत कारोबार उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रमममा गभर्नर नेपालले अबका दिनमा बैंकको पँुजी आधार बलियो भएकाले बैंकले पूर्वाधार र उत्पादनमूलक एवं पर्यटन क्षेत्रमा लगानी गर्न र सञ्चालक, व्यवस्थापन लगायत सबैले बंैकिङ अनुशासन पूर्ण रुपमा पालना गर्नसमेत आग्रह गरे।

सार्क देशहरुबीच तुलना गर्ने हो भने पनि नेपालका बैंक तथा वित्तीय संस्था सबैभन्दा कम चुक्ता पुँजी भएको तर अर्थतन्त्रको आकार बढ्दै गएकाले पुँजी बढाउने योजना आफूले राति सपना देखेर भोलिपल्ट नल्याएको भन्दै गभर्नरले राष्ट्र बैंकभित्र हरेक निर्णय 'सिस्टम'बाट हुने बताए।

कर्जा दिँदा एकदमै विचार पुर्‍याउन अनुरोध गर्दै उनले जनताको पैसा संयमित र अनुसासित भएर परिचालन गर्नुपर्ने पनि बताए।

कार्यक्रममा एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकलाई आउँदो वर्ष नेपालको प्रमुख पाँच कर्मसियल बैंकको रुपमा उभ्याउने लक्ष्यका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

एनसिसी बैंक व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयुक्त मर्जर समितिका संयोजक ईश्वरीप्रसाद नेउपाने, सांसद मोहनबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए। त्यसैगरी मर्ज भएका विकास बैंकहरुका तर्फबाट एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धितालले मर्जर गर्दाको अनुभव सुनाए।

पाँचवटै बैंकले मर्जरका निमित्त सहमतिपत्रमा २०७२ मंसिर ११ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन दिएका थिए। राष्ट्र बैंकबाट २०७२ चैत ३ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भएपछि सबै संस्थाले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जरसम्बन्धी प्रस्ताव आ–आफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए। यी प्रक्रिया पूरा गरेपछि मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन पेस गरी नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट मिति २०७३ पुस १४ गते सो सम्बन्धी स्वीकृति प्राप्त गरेका थिए। 

मर्जरपछि बैंकको नाम एनसिसी बैंक नै रहने जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत अर्यालले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क' वर्गको वाणिज्य बैंकको रुपमा आफ्नो व्यवसायलाई निरन्तरता दिने बताए।

नेपाल राष्ट्र बैंकले आव ०७३/७४ सम्ममा न्यूनतम पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने निर्देशन पालना गर्ने सम्बन्धमा बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरेबमोजिम मर्जरको पहल गरिएको स्मरण गर्दै अर्यालले यस मर्जरबाट एकीकृत संस्था एनसिसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ, निक्षेप करिब ५५ अर्ब रुपैयाँ र कर्जा रकम ४८ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। एकीकृत एनसिसी बैंकको शाखा सञ्जाल ९६ पुगेको छ भने १ हजार २६ जना कर्मचारी रहने उनले बताए।

सेयर अनुपात मिलानपश्चात बैंकको पँुजीगत जगेडा कोषमा ९८ करोड रुपैयाँ जम्मा हुने र त्यसलाई चुक्ता पुँजीमा जोड्दा ५ अर्ब नाघ्ने पनि उनले बताए। साथै ८ अर्ब पुर्‍याउन थप पुँजी वृद्धिको योजना पनि चाँडै ल्याउने उनको भनाइ थियो।

उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा बन्ने तदर्थ सञ्चालक समितिमा संस्थापक सेयर समूहबाट सांसद मोहनबहादुर बस्नेत, इमानसिंह लामा, माधवप्रसाद भट्ट, विष्णुप्रसाद धिताल र सर्वसाधारण सेयर समूहबाट चन्द्रप्रसाद बास्तोला, उपेन्द्रकेशरी न्यौपाने, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ रहेका छन्। बैंकले व्यावसायिक सञ्चालक पछि नियुक्त गरिने जनाएको छ।

प्रकाशित: १८ पुस २०७३ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App