coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘जनयुद्ध दिवस’ को विषयलाई लिएर शर्मा र थापाबीच कार्यक्रममै 'घोचपेच'

वीरेन्द्रनगर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश बृहत् अगुवा कार्यकर्ता भेलामा केही तत्वले गरिरहेका क्रियाकलापले पार्टी विघटनको बाटोतिर गएको बताए। उनले संयमता अपनाउन नसके पार्टी विघटन रोक्न नसकिने अवस्था आउने औंल्याए। यसअघि यही फागुन ४ गते नेता जनार्दन शर्मा र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच ‘जनयुद्ध दिवस’ को विषयलाई लिएर कार्यक्रममै भनाभन भएको थियो। शर्मा पूर्वमाओवादी खेमाका र थापा पूर्वएमाले खेमाका नेता हुन्।

फागुन ४ गते रुकुम पश्चिमस्थित चौरजहारीमा प्रेस संगठन नेपाल कर्णाली प्रदेशको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो। त्यसका प्रमुख अतिथि शर्मा र विशेष अतिथि थापाबीच मञ्चमै जनयुद्धका विषयमा विवाद भएको थियो। चौरजहारीको कार्यक्रममा जनयुद्ध दिवस लेखिएको ब्यानर टाँगिएको देखेपछि थापाले पार्टी निर्णयविपरीत भएको भन्दै आपत्ति जनाएका थिए। उनले पार्टी निर्णय अनुसार जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धान्जली सभा गर्नुपर्नेमा जनयुद्ध दिवस मात्र भनेर ब्यानर टाँग्नुले केन्द्रको निर्णय उल्लंघन भएको टिप्पणी गरेका थिए। थापाको भनाइप्रति शर्माले आपत्ति जनाएका थिए।

केन्द्रले श्रद्धाञ्जलीसभा गर्ने निर्णय लिएको स्मरण गराउँदै थापाले केन्द्रको निर्णय नमान्ने के यहाँ फरक पार्टी छ भन्ने प्रश्न गरेका थिए। थापाले जनयुद्धको विषयमा आपत्ति जनाइरहेका बेला पार्टी कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा पनि मञ्चमै थिए। थापाको अभिव्यक्तिले सापकोटा पनि आक्रोशित भए। परिस्थिति गम्भीर बन्दै गएपछि शर्माले कार्यक्रमका विषयमा राजेन्द्र गौतमसँग जानकारी लिएका थिए। कार्यक्रममा थापालाई लक्षित गर्दै शर्माले केही व्यक्तिले पार्टी एकता नचाहेको बताएका थिए

पार्टीभित्र पूर्वएमाले खेमाका केही नेताले जनयुद्धका विषयमा फरक मत राखेपछि दाहालले वीरेन्द्रनगरमा पार्टी विघटनको खतरा बढेको प्रतिक्रिया दिएको नेकपाका एक नेताले बताए। ‘भर्खर एकीकृत भएको पार्टी विघटनको खतरामा पुगेको अभिव्यक्ति अध्यक्षबाट सुन्दा अचम्म लाग्यो,’ ती नेताले भने, ‘तर पूर्वएमाले खेमाका केही नेताको जनयुद्धलाई हेर्ने दृष्टिकोण फरक हुँदा उहाँ (दाहाल) ले त्यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ।’

वीरेन्द्रनगरमा दाहालले जिल्लादेखि प्रदेश कमिटीसम्मको गुनासो सुनेको र सोहीअनुसार केन्द्रीय समिति बैठकमा छलफल गर्ने बताएका थिए। नेकपाभित्र ‘जनयुद्ध’ लाई हेर्ने दृष्टिकोण समान नहुँदा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्राविधिक मात्रै भएको तर भावनात्मक रूपमा हुन नसकेको देखिन्छ। युद्धबाटै परिवर्तन सम्भव ठान्ने तत्कालीन नेकपा माओवादी केन्द्र र शान्तिपूर्ण राजनीतिबाटै परिवर्तन गर्न सकिन्छ भन्ने तत्कालीन एमाले खेमाको मान्यता भएका कारण एकता भावनात्मक रुपमा हुन नसकेको एक नेताले बताए। पार्टीभित्र जनयुद्धलाई ठेस पुग्ने अभिव्यक्ति सह्य नहुने पूर्वमाओवादी खेमाका नेताहरू बताउँछन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App