१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनुशासन नै प्रहरीको ‘मेरुदण्ड’

सशस्त्र प्रहरी श्रीअन्तु गुल्मको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई ।

इलाम–   सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्जकुमार राईले अनुशासन नै प्रहरीको मेरुदण्ड भएको बताएका छन् । सशस्त्र प्रहरीले अन्य पेसाकर्मीभन्दा बढी अनुशासित हुनुपर्ने र नागरिकको सेवा गर्नुपर्ने उनले बताए ।

‘जसरी मेरुदण्डबिना हाम्रो शरीर अडिन सक्दैन, त्यसरी नै अनुशासनबिना मानिस चल्न सक्दैन,’ उनले भने, ‘प्रहरीले त अझ अन्य नागरिकभन्दा बढी अनुशासनमा रहेर देश र जनताको सेवा गर्नुपर्छ ।’ उनले सरकारी कर्मचारी वा प्रहरीले नागरिकको करबाट सेवा–सुविधा लिएकाले नागरिकप्रति उनीहरू पूरा जवाफदेही हुनुपर्ने बताए ।

सदरमुकामस्थित ओपीधारामा सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्मको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै आइजिपी राईले प्रहरी आफू सुरक्षित रहेमात्र नागरिकलाई सुरक्षित गर्न सक्ने भएकाले आफूहरू भौतिक संरचना निर्माणमा लागेको बताए ।

‘मैले अब पनि धेरैवटा यस्ता भवन उद्घाटन गर्नुपर्ने छ,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई स्थानीय नागरिकले हरतरहले सहयोग गरिरहेकाले सशस्त्र प्रहरीले पनि स्थानीयकै विश्वास जित्न सक्नुपर्छ ।’ राईले सुरक्षाकर्मीको भौतिक सुविधाको अवस्था अहिले पनि दयनीय रहेको भन्दै सुरक्षाकर्मीलाई आवास मात्र व्यवस्था गर्नसके पनि देश र नागरिकलाई सुरक्षा दिन सजिलो हुने बताए ।

भोजपुरमा जन्मेर प्रहरी इन्स्पेक्टरबाट आफूले जागिर थाल्नुअघि गाउँमै खेतीपाती गरेको, भैंसी चराएकोलगायत स्मरण गर्दै उनले सबै नेपाली युवामा एउटा उच्च भविष्य रहेको बताए । ‘म १६ वर्षको हुँदासम्म खालीखुट्टै हिँड्थें,’ उनले सशस्त्र प्रहरीका जवानलाई प्रेरणा दिँदै भने, ‘म अहिले यो स्थानमा छु, तपाइँहरूमा पनि भोलिको ठूलो सम्भावना छ तर त्यहाँसम्म पुग्न प्रयास चाहिँ गर्नुपर्छ ।’ उनले आफू भलिबल खेलाडीका रूपमा २५ भन्दा बढी देशमा पुगेको पनि सम्झिए ।

आइजिपी राईसमक्ष प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जिल्लामा सुरक्षा चुस्त–दुरुस्त राख्न आइपरेका कठिनाइबारे जानकारी गराए । सिडिओ दाहालले सशस्त्र प्रहरीका बेसक्याम्प सुविधासम्पन्न बनाउनुपर्ने, गुल्म परिसरमा बारुणयन्त्र व्यवस्था गर्नुपर्ने, अग्निनियन्त्रक विशेषज्ञ टोली व्यवस्था गर्नुपर्ने र पूर्वको नेपाल–भारत खुला सीमामा सीमा सुरक्षा बल राख्नुपर्नेमा आइजिपीको ध्यानाकर्षण गराए ।

सीमावर्ती क्षेत्रमा भारतले १७ सीमा सुरक्षा पोस्ट (बिओपी) राखेपनि नेपालतर्फ एउटै नभएकामा उनले आइजिपीको ध्यानाकर्षण गराए । दाहालले नेपालतर्फका सीमास्तम्भ हराउने, लडाइने, चोरी–तस्करी हुनेजस्ता घटनासमेत भइरहेको भन्दै त्यसको नियन्त्रण आवश्यक रहेको जनाएका थिए ।

३ तल्ले नवनिर्मित भवन ३ करोड ६१ लाख ७६ हजार रुपैयाँमा निर्माण गरिएको गुल्मले जनाएको छ । सशस्त्रले आन्तरिक स्रोतबाट अढाई लाख रुपैयाँ खर्च गरेको गुल्मपति डिएसपी चेतराज जोशीले बताए । सशस्त्रले ६ रोपनी २ आना जमिनमा आफ्नो भवन र आवश्यक पूर्वाधार निर्माण गरेको उनले जनाए । भवन निर्माणलगायत भौतिक निर्माणमा सहयोग गर्ने समाजसेवीहरू सदरमुकामका रतन चौधरी, सुमन श्रेष्ठ, सुकवीर तामाङ, निर्देश राई र बिब्ल्याँटे बजारका समाजसेवीहरू गृष्म सुब्बा र कृष्ण पौडेललाई सशस्त्र प्रहरीले सम्मान पनि गरेको छ । यहाँको पुस्तकालयलाई पुस्तक उपलब्ध गराउने जुबिलेन्ट इलाइट एकाडेमीलाई पनि सम्मान गरियो ।

भवन निर्माण साथै प्रहरी सेवामा योगदान गर्ने सशस्त्र प्रहरीका रामबहादुर राई, विनोद खड्का, भूपेन्द्रकाजी निरौला र दानबहादुर राईलाई पनि प्रशंसापत्र प्रदान गरियोे । जिल्लामा २०६६ देखि सशस्त्र प्रहरी बलको बेसक्याम्प बसेको हो । अहिले जिल्लाका दानाबारी, आइतबारे र बाँझो गाउँमा सशस्त्र प्रहरीले आफ्नो बेसक्याम्प विस्तार गरिसकेको छ ।

प्रकाशित: १८ पुस २०७३ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App