coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्थतन्त्रमा कोरोना असर

काठमाडौं - चीनमा फैलिएको कोरोना भाइरसको समस्या अझै लम्बिए त्यसको प्रत्यक्ष असर नेपालको व्यापारिक र आर्थिक कारोबारमा पर्ने देखिएको छ। चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। कोरोनाले विश्वको आर्थिक वृद्धिदरमा समेत असर पार्ने आकलन अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नै गरिसकेको छ।

नेपालका लागि चीन ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले नेपालको व्यापार तथा आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको हो। नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनकै हिस्सा ठूलो छ। गत वर्ष दुई मुलुकबीच दुई खर्ब सात अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो। यसमध्ये चीनबाट दुई खर्ब पाँच अर्ब ५१ करोडका सामान आएका थिए भने दुई अर्ब १० करोडका सामान चीन निर्यात भएका थिए। यस्तै चालु आवको ६ महिनामा चीनबाट एक खर्ब १८ अर्ब २५ करोड २७ लाखको सामान आएको छ।

कोरोना भाइरसका कारण पछिल्लो तीन सातादेखि दुई मुलुकबीचका सबै व्यापारिक नाका बन्द छन्। चीनसँगको आयातनिर्यात व्यापार ठप्प भएको छ। ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा पर्ने देखिएको हो।

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन। करिब १५ खर्बको वैदेशिक व्यापारमध्येसबा दुई खर्बको व्यापार समस्यामा आउँदा आर्थिक वृद्धिमा पक्कै पनि असर पर्छ। यस्तै  २० लाख पर्यटक भिœयाउने अभियानमा पनि यसले धक्का पु-याउनेछ।

नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ।

मुलुकको राजस्व संकलनका प्रमुख क्षेत्रमध्ये एउटा भन्सार महसुल हो। व्यापारिक कारोबारमा आउने मन्दीले सरकारको राजस्व असुलीमा पनि प्रभाव पार्नेछ। चीनबाट सामान आउन छाडेपछि नेपाली बजारमा अहिलेदेखि नै असर देखिन थालेको छ। चीनबाट आयात रोकिएपछि लसुनको मूल्य प्रतिकिलो डेढ सय रुपैयाँबाट बढेर साढे ६ सय रुपैयाँ पुगेको छ। चिनियाँ पर्यटकको आगमन ८० प्रतिशतले घटिसकेको छ। यी   साना उदाहरणमात्र हुन्। कोरोना भाइरसको समस्या लम्बिँदै जाँदा नेपालमा यसको असर पनि थपिँदै जानेछ।

नेपाली व्यवसायीहरुका अनुसार अहिले चिनियाँ ठेकेदारले निर्माण गरिरहेका ठूला आयोजनाहरुमा कामदारको अभाव भइसकेको छ। चिनियाँ ठेकेदारले चीनबाट कामदार ल्याउने गर्छन्। नेपालमा चीनबाट लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स सामाग्री, कच्चा पदार्थलगायतका सामान आयात हुन्छन्। बजारमा यस्ता सामानको अभाव सुरु भइसकेको छ। चीनसँगका दुईवटा नाका रसुवागढी र तातोपानी २५ दिनदेखि बन्द छन्। पानीजहाजबाट भारत हुँदै आउने सामान पनि आएका छैनन्। सामान आयात नहुँदा त्यसको अभाव बजारमा परेको हो। मागको आधारमा सामान नआएपछि त्यसले बजारमा मूल्य वृद्धि गराउनेछ। लसुन यसको एउटा उदाहरण हो। चीनबाट आउने सामान अन्य मुलुकको तुलनामा सस्तो भएकाले त्यसको मार तल्लो र मध्यम वर्गाका उपभोक्तामा पर्नेछ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्छु पौडेलका अनुसार कोरोना भाइरसको असर बजारमा देखिन थालेको छ। ‘चीनसँगको आयातनिर्यात ठप्प छ,’ पौडेलले भने, ‘त्यसको असर बजारमा देखिन थालेको हो।’ फलफूल, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, उद्योगका लागि चाहिने कच्चा पदार्थको ठूलो हिस्सा चीनबाट आयात हुन्छ। ‘करिब चार सातादेखि सामान आयात ठप्प छ’, उनले भने, ‘यही अवस्था रहे बजारमा सामानको मूल्य बढ्छ।’ चिनियाँ सामानको भाउ बढ्दा नेपाली उपभोक्तामा भार थपिन्छ। पर्यटन क्षेत्रको असर, व्यापारिक कारोबार प्रभावित हुँदा त्यसको असर स्वभावैले अर्थतन्त्रमा पर्नेछ।

कोरोनाको असरले नेपालको अर्थतन्त्रमा चुनौती थपिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए। ‘चीनबाट सामान आयात नहुँदा व्यापारी आत्तिएका छन्,’ उनले भने, ‘निरन्तर लम्बियो भने सामानको मूल्य बढ्ने निश्चित छ।’ ठूलो परिमाणमा लत्ताकपडा र इलेक्ट्रोनिक्स सामग्रीका कच्चा पदार्थ चीनबाट आउने भएकाले त्यसको असर यहाँको बजार र उद्योगमा पर्ने उनले बताए। ‘यहाँका उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ चीनबाट आयात हुन्छ,’ उनले भने, ‘अहिले नाका बन्द हुँदा उद्योग प्रभावित भएका छन्।’  नाका ठप्प हुँदा चीनबाट नेपालका लागि छुटेका फलफूललगायत सामग्री सीमामा छन्। ‘सीमामा आएका फलफूलका ट्रक पनि रोकिएका छन्,’ उनले भने। चिनियाँ ठेकेदारले यहाँका विभिन्न आयोजनाका लागि सामग्री ल्याउन पाएका छैनन्।

चीनमा अर्डर गरेका सामान पनि आएका छैनन्। त्यसले व्यापारी मर्कामा परेका छन्। आयात मात्र नभएर निर्यातमा पनि प्रभाव पर्छ।  पोहोर दुई अर्ब १० करोड ९७ लाख रुपैयाँको सामान चीन निर्यात भएको थियो। यो वर्षको ६ महिनामा एक अर्ब १ करोड ६५ लाख रुपैयाँको सामान निर्यात भएको छ।

चीनमा दूध, क्रिम पाउडर, मह, छाला, फलफूल, हरियो चिया, क्याप्सिकम, सुकमेल, अदुवा, जिरा, बिरुवा, यार्सागुम्बा, बोसो, तेल, पास्ता, जाम, ससेस, मिनिरल वाटर, चुनढुंगा निर्यात हुन्छ। त्यसैगरी आयुर्वेदिक औषधि, मेकअपका सामान, शौचालयमा प्रयोग गर्ने साबुन, चर्पीमा प्रयोग हुने प्लास्टिक, पेपर, जनावरको रौं, प्याकिङ सामग्री, गहना, काठका सामग्री, वाद्यवादनका सामग्री, फर्निचर, टुथ ब्रस, पेन्टिङका सामग्री निर्यात हुँदै आएका छन्।  ‘निर्यातभन्दा आयातले नै ठूलो असर पार्छ,’ खड्काले भने।

चीनको विकल्पमा केही व्यापारी भियतनाम, बैंकक, कम्बोडिया, बंगलादेशलगायतका मुलुक जान सुरु गरेको पौडेलले बताए। ‘चीनमा जस्तो सस्तो सामान अन्य मुलुकमा पाइँदैन,’ उनले भने, ‘सामानमा मूल्य वृद्धि हुँदा त्यसको भार उपभोक्तामा पर्छ।’

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App