coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रजातन्त्र दिवसमा उदयपुरका चार कैदी छुटे

उदयपुर- ५४ औं प्रजातन्त्र दिवसको अवसर पारेर उदयपुरका ४ कैदीलाई राष्ट्रपतिले कारागारमुक्त गरेकी छन्। बिभिन्न अपराधमा संलग्न भएको आरोप प्रमाणित भई ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको हो।

कारागारमुक्त हुनेहरुमा भोजपुर दुङमाना-४ का ३० वर्षीय विकास मगर, साविक लेखगाउँ गाविस-७ भई हाल ताप्ली गाउँपालिका २ लेखगाउँ उदयपुरका २९ वर्षीय दिपक भन्ने लिलबहादुर राई, साविक रिस्कु-२ भई हाल कटारी नगरपालिका ६ उदयपुरका २५ वर्षीय विक्रम राई र त्रियुगा नगरपालिका-७ का राजेश विक रहेका छन्।

कारागार प्रशासनका कर्मचारी उमेशमणि पोखरेलका अनुसार मगर र राईद्वयलाई ५/५ वर्ष र विकलाई २ वर्षको कैद सजायको फैसला अदालतले सुनाएको थियो। मगर ज्यान मारेको अभियोगमा ०७३ चैत १२ गतेको फैसला अनुसार ५ वर्षका लागि कारागार चलान भएका थिए भने ज्यान मुद्दामै लिलबहादुरलाई ०७४ वैशाख १२ गते र विक्रमलाई ०७३ पुस ४ गते ५ वर्षको जेल सजायको फैसला अदालतले सुनाएको थियो। चोरी अभियोगमा थुनामा परेका विकलाई अदालतले ०७५ कात्तिक ३० गते २ वर्षको कैद सजायको फैसला सुनाए अनुसार उनीहरु कैद भुक्तान गरिरहेको पोखरेलले बताए।

कारागार प्रमुख कुमारबहादुर खड्काले जवरजस्ती करणी, लागुऔषधलगायत दर्जन अपराधमा संलग्नबाहेकका कैदीलाई ५० प्रतिशत सजाय भुक्तानी गरिसकेपछि बाँकी कैद मिनाहा गर्ने कानुन अनुसार उनीहरु छुटेको बताए। आचरण राम्रो भएका, इमान्दार र कारागारले तोकेका नियम कानुनको परिधिभित्र रहने कैदीहरु विशेष चाडपर्व तथा दिवसजस्ता अवसर पारेर राष्ट्रपतिले कैद मिनाहा गर्नसक्ने प्रावधान अनुसार उनीहरु छुटेको जेलर खड्काले बताए।

यसैबीच उदयपुरमा प्रजातन्त्र दिवस बिबिध कार्यक्रमका साथ मनाइदै छ। तत्कालीन जहानीया राणा शासनविरुद्धको आन्दोलन सफल भएर फागुन ७ गते प्रजातन्त्र प्राप्त भएको स्मरणमा फागुन  ६, ७ र ८ गते ३ दिन बिबिध कार्यक्रमका साथ मनाउने निर्णय भए अनुसार जिल्लाभर कार्यक्रम गरी दिवस मनाइएको हो। दिवसको अवसरमा सरसफाई, दिपावली, वक्तृत्वकला, निबन्ध, प्रभातफेरी ¥यालीलगायत कार्यक्रम सञ्चालन भईरहेको मूल समारोह समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले बताए।

दिवसको अवसर पारेर उदयपुरको नेपालटारमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ भने बिभिन्न नगरपालिका तथा गाउँपालिकाहरुले अन्तरक्रिया, खेलकुद, सरसफाई, विरामीलाई फलफूल वितरण तथा कोणसभाको आयोजना गरिरहेको आयोजक समितिले जनाएको छ।  

प्रकाशित: ७ फाल्गुन २०७६ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App