७ वैशाख २०८१ शुक्रबार
खेल

'राष्ट्रिय खेलकुद, हर्ष न विस्मात'

धरान- नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदको इतिहासले साढे तीन दशक पूरा गरेको छ। प्रत्येक दुई वर्षमा गर्ने उद्घोषसहित २०३८ सालमा सुरु भएको बृहत् खेलमेलाले ३५ वर्ष पूरा गर्दा अहिलेसम्म १७ संस्करण सम्पन्न भैसक्नुपर्ने थियो। तर देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने न्यून प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलकुदका सात संस्करण मात्र सम्भव भएका छन्। त्यो पनि प्रत्येक पटक स्थापनाको उद्देश्यबाट च्युत हुने क्रम बढाउँदै।

तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वले देशका विभिन्न भूभागका प्रतिभावान खेलाडीलाई एकै थलोमा प्रतिभा प्रदर्शनको अवसर दिन राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजन सुरुआत गरेको थियो। जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि मात्र राष्ट्रिय खेलकुद महत्वपूर्ण थलो होइन, यो खेलकुद विकासको एउटा महत्वपूर्ण पाटो पनि हो।

खेलाडीले वषर्ौंदेखि प्रशिक्षणमा गरेको मेहनतको फल नियमित रुपमा राष्ट्रिय स्तरमा परीक्षण गर्न २०३८ सालमा काठमाडौंमा पहिलो पटक सुरु गरिएको राष्ट्रिय खेलकुदले शुक्रबार सातौं संस्करण सम्पन्न गर्दा पूर्वाञ्चलले भने देशभरका खेलकर्मीलाई आतिथ्य दिने मौका पाएको यो पहिलो पटक हो। विगतमा ६ संस्करण सम्पन्न हुँदा दुई पटक काठमाडौं आयोजक थियो भने पोखरा, वीरगञ्ज र नेपालगञ्जले पनि एक/एक पटक राष्ट्रिय खेलकुद आयोजनाको अवसर पाएको इतिहास छ। तीन पटकसम्म उद्देश्यअनुरुप दुई वर्षको अन्तरालमा भएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा पोखराले गर्‍यो भने २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा भएको थियो। त्यसपछि १३ वर्षसम्म हुन नसकेको प्रतियोगिताको चौथो संस्करण नेपालगञ्जले २०५५ सालमा आयोजना गर्‍यो। नेपालगञ्जपछि पनि राष्ट्रिय खेलकुदले निरन्तरता पाउन सकेन। त्यसपछि सुदूर पश्चिममा गर्ने निर्णय भएको पाँचौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौं सारियो, तर पनि समयमा आयोजना हुन भने सकेन। पटक पटक स्थगित गरिएको पाँचौं राष्ट्रिय खेलकुद पाँचौ पटक निर्धारण गरिएको मिति २०६५ मा काठमाडौंमा धेरै विवादबीच सम्पन्न भयो। अघिल्लो संस्करण भएको १० वर्षपछि पाँचौं राष्ट्रिय खेलकुद सम्भव भएको थियो।

पाँचौं संस्करणको आयोजना अधिकार खोसिए पनि लगत्तैको संस्करण तीन वर्षपछि सुदूर पश्चिममै भयो। राष्ट्रिय खेलकुदको बहानामा प्रत्येक दुई वर्षमा देशका विभिन्न स्थानमा भौतिक पूर्वाधारको विकास गर्नु २०३८ सालमा तत्कालीन राखेप नेतृत्वले लिएको अर्को मुख्य उद्देश्य थियो। निर्धारित समयमा गर्नबाट एक वर्षले चुके पनि राखेपले सुदूर पश्चिममा छैटौं राष्ट्रिय खेलकुद गर्दा पूर्वाधार विकासको उद्देश्य भने धेरै मात्रामा पूरा भयो। राष्ट्रिय खेलकुदकै कारण धनगढी रंगशाला विस्तारदेखि महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण, कभर्डहल मर्मतसम्भार लगायत अन्य धेरै काम भएका थिए।

शुक्रबार धरानमा सम्पन्न राष्ट्रिय खेलकुदको पाँचौं संस्करण भने खेलाडीलाई प्रतिस्पर्धाका लागि मौका दिनेबाहेक बाँकी अन्य सबै उद्देश्य पूरा गर्नबाट चुकेको छ। नियमितताको सवालमा तीन वर्ष चुकेको सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार शीर्षकमा २० लाख रुपैयाँमात्र खर्च हुँदा पूर्वाञ्चलले यसबाट कुनै फाइदा पाउन सकेन। पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष शंकर राई योजनाबद्ध रुपमा काम गर्न नसक्दा राष्ट्रिय खेलकुद पूर्वाञ्चलका लागि हर्ष न विस्मातको विषय बनेको बताउँछन्।

'यो प्रतियोगिता धेरै हतारमा आयोजना भयो। पर्याप्त समय लिएर योजनाबद्ध रुपमा गरेको भए धेरै व्यवस्थित र भव्य रुपमा राष्ट्रिय खेलकुद सम्पन्न हुने थियो,' राईले नागरिकसँग भने, 'हतारमा गर्दा धेरै भद्रगोल भयो। पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद हुँदा यहाँ केही पूर्वाधार पनि बनेको भए त्यो दीर्घकालका लागि हुने थियो। तर राखेप नेतृत्वले त्यसमा ध्यान दिएन। उहाँहरू जसरी भए पनि सातौं राष्ट्रिय खेलकुदको कर्मकाण्ड सक्नेमा मात्र केन्द्रीत हुनुभयो। खेलकुदसँगै यस क्षेत्रको इज्जत, विकास र एकतालगायत विषयलाई उहाँहरूले रत्तीभर महत्व दिनुभएन।'

दुई दशकभन्दा बढी समययता फुटबलमा सक्रिय अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष किशोर राईले राखेप नेतृत्वको एकलौटी ढंगमा खेलकुद कब्जा गर्ने नीतिका कारण समस्या बढेको बताए। 'स्थानीय खेलकर्मी कसैलाई पनि समेटिएको छैन। दलीय रुपमा मानिस पिक गरिएको छ। आस्थाका आधारमा जिम्मेवारी बाँडफाँड गर्दा दशकौंदेखि निरन्तर खेलकुदमै समर्पितहरू आफ्नै क्षेत्रमा राष्ट्रिय खेलकुद हुँदा बिरानो बन्नुपर्ने अवस्था आयो,' राईले नागरिकसँग भने, 'भव्य राष्ट्रिय खेलकुद भने पनि अनुभवीलाई पाखा लगाउँदा इतिहासकै सबभन्दा कमजोर र लज्जाजनक रुपमा प्रतियोगिता भएको छ।'

यसैगरी इटहरीका स्थानीय रेस्टुँरा व्यवसायी किरोजप्रसाद खनालले राजनीतिक खिचातानीका कारण 'देशकै सबभन्दा ठूलो राजनीतिक दलको बहिस्कारसँगै सुरु भएको सातौं राष्ट्रिय खेलकुदबिना उपलब्धी सकिएको' प्रतिक्रिया दिए। इटहरी चोकनजिकको चिया पसलमा उनी शुक्रबार राति ग्राहकहरूसँग गफिँदै थिए, 'बेकारमा पूर्वाञ्चलमा नराम्रो भयो भनेर देशभरी बदनाममात्र भयो। खेलकुद परिषदले राम्ररी खेल नगर्दा पूर्वाञ्चलले बदनामीमात्र पायो, खेलको बहानामा विकास केही आएन। हामीलाई त यहाँँ राष्ट्रिय खेलकुद आउने भनेपछि विकास पनि सँगै आउला भन्ने आश थियो।'

राखेपको नेतृत्व लिएको नेकपा एमालेले एकलौटी गरेको भन्दै नेपाली कंाग्रेस मोरङले सातौं राष्ट्रिय खेलकुद बहिस्कार गर्ने निर्णय गरेको थियो। नेपाली खेलकुदमा सक्रिय एमाले र कांग्रेसका भ्रातृ संगठनका पदाधिकारीको जुँगाको लडाईंका कारण उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा केहीबेर विवाद समेत भयो।

'खेलकुदले टुटेकालाई जोड्ने काम गर्थ्यो, तर पूर्वाञ्चलमा भएको यो राष्ट्रिय खेलकुदले थप ध्रुवीकरण गरेको छ। खेलकुदको जुनसुकै प्रतियोगिता हुँदा पनि पूर्वाधारमा केही न केही काम हुन्छ। पूर्वाधार विकास गरेर त्यहाँको संवृद्धि देखाउने गरिन्छ,' विराटनगर निवासी पूर्वखेलाडी एवं एन्फाका केन्द्रीय सदस्य वशन्त अर्याल भन्छन्, 'तर सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुँदा न हामीले संवृद्धि देखाउन सक्यौं, न यसको बहानामा बनेका कुनै पूर्वाधार पछिसम्म प्रयोग गर्न पाउने फाइदा नै लियौं। कमजोर व्यवस्थापन, इतिहासकै कमजोर राष्ट्रिय खेलकुद आयोजकको बिल्लामात्र पूर्वाञ्चलले पायो। यो सबको जिम्मेवारी खेलकुद नेतृत्वले लिनुपर्छ।'

प्रकाशित: १८ पुस २०७३ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App