७ वैशाख २०८१ शुक्रबार
राजनीति

सबै पार्टीले प्रजातन्त्रको मुल मर्मलाई आत्मसात गर्नुपर्छ : देउवा

तस्बिर : रोहित राई

धरान- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकताको खाँचो भएको बताएका छन्। ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले नेपाली कांग्रेस एकताको पक्षमा रहेको धारणा राख्दै एकता भए मात्र देश अघि बढ्ने बताए। ‘देशमा राष्ट्रिय एकताको खाँचो छ, कांग्रेस एकताको पक्षमा छ,’ देउवाले भने,‘तब मात्र देश अघि बढ्छ, विकास हुन्छ।’

देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताए। ती संस्थाहरुमा राजनीतिक हस्तक्षेप नगरी काम गर्ने वातावरण बनाउनुपर्ने देउवाको जोड थियो। देउवाले जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार कुनै पनि वहानामा खोस्न नपाइने पनि बताए। उनले २००७, २०४६ साल, २०६२/०६३ मा जनताले लडेर ल्याएको अधिकारहरु कुनै पनि वहानामा हटाउन नसकिने बताए। ‘जनताले लडेर ल्याएको अधिकारहरु कुनै वहानामा हटाउन, मास्न पाइदैन,’देउवाले भने,‘सबै पार्टीले प्रजातन्त्रको मुल मर्मलाई आत्मसात गर्नुपर्छ। सर्वभौम जनता हो, शक्तिको स्रोत जनता हो।’ देउवाले जनताको बोल्न, लेख्न र आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने पनि बताए।

फरक प्रसंगमा देउवाले धरान पूर्वकै पर्यटकीय राजधानी हुने पनि बताए। धरानमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको चर्चा गर्दै उनले पर्यटनको विकासबाट नै धरानको आर्थिक समृद्धि हुने बताए। ‘धरानले पर्यटनबाट आफूलाई विकास गर्न सक्छ। यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना छ,’ देउवाले भने,‘धरान पूर्वको पर्यटकीय राजधानी पनि बन्नसक्छ।’ सभालाई प्रदेश सांसद उमिता बराइली, नेकपा नगर अध्यक्ष नारायण सुवेदी, धरानका मेयर तिलक राईसमेतले सम्बोधन गरेका थिए।

उपमहानगर परिसरमा सभा आयोजना हुनुअघि प्रभातफेरी र्‍याली पनि निकालिएको थियो। विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो। उपमहानगरपालिका परिसरबाट सुरु भएको र्‍याली पब्लिक स्कुलको मैदानबाट दक्षिण पुतलीलाइन हुँदै भानुचोक पुगेको थियो। भानुचोकमा कांग्रेस सभापति देउवाले झण्डोत्तलन गरेपछि र्‍याली पुनः उपमहानगर परिसरमा पुगेर सभामा परिणत भएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७६ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App