७ वैशाख २०८१ शुक्रबार
राजनीति

गगन थापाले भने, ‘कम्युनिष्ट पार्टीले सरकार होइन, सत्ता चलाउन थाल्यो’

विपी अध्ययन प्रतिष्ठान बाँकेले गरेको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा लगायत । तस्बिर :अर्जुन/नागरिक

नेपालगन्ज- युवा नेता एवम् कांग्रेस केन्द्रीय सदस्य गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले दुई तिहाई सरकारले सरकार मात्र नभएर सत्ता चलाउन थालेको बताएका हुन्।

‘नेपाली कांग्रेसलाई यतिखेरको डर, चिन्ता भनेको नेकपाले दुई तिहाइको सरकार बनायो भन्ने होइन,’ उनले भने ‘नेकपाले तीन चौथाई बनाउन पनि पाउँछ, पाँच वर्ष मात्र होइन, पचास पटक जित्यो भने उसले चलाउन पाउँछ, प्रश्न हाम्रो नेपाल कम्युनिष्ट पार्टीले सरकार होइन, सत्ता चलाउन थाल्यो।’

सरकार बदलिए पनि सत्ता नबदलिने नेता थापाले बताए। ‘प्रहरी, अड्डा अदालत, प्रशासन, संसद सबै कुरालाई कब्जा गरेर एउटा ब्यक्तिले चलाउने कुरा यसबाट निर्माण भएको सत्ता हामीले परिकल्पना गरेको होइन,’ उनले थपे। वर्तमान सरकारले मिडिया, आम नागरिक, अख्तियार, राष्ट्रिय मानव अधिकार आयोग लगायत निकायलाई नियन्त्रणमा ल्याउन खोजेको नेता थापाले शंका ब्यक्त गरे।

बहुमतको नाममा विवादास्पद कानुन ल्याउन खोजिएको उनले बताए। वर्तमान सरकारसँग सेनादेखि अड्डा अदालत सबै ‘थरथर’ भइरहेको बताए। थापाले भने, ‘तानाशाह अहिले कोही पनि बन्दुक बोकेर आउँदैन, चुनावबाट आउँछ, ब्यालेटबाट आउँछ, भोट जितेर आउँछ, विकास दिन्छु भनेर आउँछ, खुसी दिन्छु भनेर आउँछ।’ तानाशाह अन्त्य गर्न राणासँग लडेको पार्टी नै नेपाली कांग्रेस भएको स्मरण गराउँदै नागरिकको अधिकारका लागि अझै पनि कांग्रेस तानाशाहविरुद्ध लड्न तयार रहेको थापाको चेतावनी छ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तवरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने बताएका छन्। नेता सिंहले पार्टीलाई आउँदो दिनमा सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए।

‘नेपाली कांग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय बनाउनुपर्छ,’ उनले भने। कांग्रेस सिद्धान्त र आदर्शका लागि लड्ने पार्टी रहेको स्पष्ट पार्दै पूर्वमहामन्त्री सिंहले भने, ‘सिद्धान्त र आदर्शका लागि जन्मेको पार्टी त्यही सिद्धान्त र आदर्शका लागि लड्ने जुन प्रवृती छ, त्यो प्रवृत्तीलाई हामीले तिखार्ने काममा लाग्न जरुरी छ।’

नेता सिंहले नेपाली कांग्रेसलाई बलियो बनाउन गाउँगाउँमा संगठन विस्तारको काम थाल्नुपर्ने बताए। कांग्रेस पार्टीमा प्रभावकारी तरिकाले प्रतिपक्षीको भूमिका खेल्न नसकेको गुनासो बाहिर आउने गरेको भन्दै उनले पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि कांग्रेसका नेतादेखि कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्ने बताए। शक्ति र राजनीति भन्दा आर्दश र सिद्धान्तको राजनीतिमा बढी जोड दिनुपर्ने उनको भनाइ छ। कांग्रेसले आम जनतामा भरपर्दो पार्टीको रुपमा परिचय स्थापित गरेको भन्दै जनताको अधिकार रक्षाका लागि सधैं तल्लिन रहेको जिकिर गरे।

प्रतिष्ठानका अध्यक्ष सुधान्सु कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता, सांसद, पूर्व सांसद लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आम जनताको भरोसा नेपाली कांग्रेसप्रति नै रहेको बताइन्। कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन कांग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राखिन्।

 

प्रकाशित: ७ फाल्गुन २०७६ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App