७ वैशाख २०८१ शुक्रबार
समाज

शिक्षक नियमित गर्न विद्यालयमा विद्युतीय हाजिरी

बाजुरा- नियमित पठनपाठन र शिक्षक निरन्तरताका लागि जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ। विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो।

गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले जानकारी दिएका छन्। विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्यूतीय हाजिरी सुरु गरिएको गैरेको भनाई छ।

गाउँपालिकाले नमुना परिक्षणका लागि पहिलो पटक मावि तहका विद्यालयमा र विस्तारै अरु सबै आधारभुत विद्यालयमा जडान गर्ने तयारी थालिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्।

गाउँपालिकाको देवलकोट मावि, कैलाश मावि र सरस्वती माविमा पहिलो पटक विद्युतीय हाजिरी सुरु गरिएको प्रविधिक अधिकृत एवं सूचना अधिकारी सिर्जना शाहीले जानकारी दिएकी छन्। विद्युत, कम्प्यूटर र अन्य आवश्यक सामग्री जडानपछि हाजिरी विद्युतीय हाजिरी सुरु गरिएको शाहीले जानकारी दिएकी छन्।

विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य हाजिरी गर्नुपर्ने हुन्छ। जिल्लाका पाँच वटा गाउँपालिका मध्ये जगन्नाथले पहिलो पटक विद्युतीय हाजिरी सुरु गरेको हो। शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै सुरु गर्ने गरि कार्य थालनी गरेको अध्यक्ष कालीहादुर शाहीले बताए।

विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको देवलकोट माविका विव्यस अध्यक्ष कृष्णबहादुर बमले बताएका छन्। शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भएपनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई-हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तरबाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको पनि सुरुआत गरिएको छ।

पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन्।

 

प्रकाशित: ७ फाल्गुन २०७६ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App