७ वैशाख २०८१ शुक्रबार
समाज

अखाद्य वस्तु र म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

तस्बिर: अनिल/नागरिक

सिन्धुली- यहाँका ग्रामिण क्षेत्रका बजारमा अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती रहेको भेटिएको छ। सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमके बजारमा म्याद गुज्रेका सामान तथा अखद्य वस्तुहरु बिगबिगी अनुगमनका क्रममा भेटिएको हो।

घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको नेतृत्वमा उक्त बजारमा पहिलो पटक भएको बजार अनुगमनका क्रममा अव्यवस्थित र अखाद्य वस्तुहरु फेला पारिएको हो। बजार अनुगमन गर्न जिल्लाको टोली पुगेको थाहा पाएपछि दर्जनौ पसल धमाधम बन्द भएका थिए। अनुगमनका क्रममा झन्डै २० ओटा पसलमा टोली पुगेको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत माधव बगालेले बताए। किराना पसल दर्ता गरेर पेट्रोल कपडा, जुत्ता चप्पल तथा इलेक्ट्रोनिक सामान बेच्ने गरेको पाइएको उनले बताए।

धेरैको दर्ता प्रमाण पत्र नभएको मूल्य सूचि कुनै पसलमा नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइएको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीका प्रमुख पदम ओझाले जानकारी दिए। उनका अनुसार आखाद्य वस्तु तथा म्याद गुज्रेका सामान बरामद गरि नष्ट गरिएको छ भने आगामी सात दिनभित्र कागजात पूरा गरि पसल चलाउन र म्याद गुज्रेका सामान नबेच्न व्यापारीलाई चेतावनी समेत दिइएको छ।

व्यापारीहरुले चकमके बजारमा पहिलोपटक बजार अनुगमन भएकाले आफूहरुको पसलमा कैफियत प्रसस्तै पाइएको र आगामी दिनमा सुध्रने बताएका थिए। बजार अनुगमनकै क्रममा उद्योग वाणिज्य संघ चकमके शाखाका अध्यक्ष मुकुन्द तिमल्सिनाले मनिता इलेक्ट्रोनिक्स फर्म दर्ता गरेर खुल्ला पेट्रोल समेत बेच्दै आएको भेटिएको थियो। उनले आफूलाई जानकारी नभएको र अबको सात दिनमै दर्ता गरेर मात्रै चलाउने बताए।

तीनपाटन गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले बजारमा अनुगमनको आवश्यकता रहेको बताइन्। बजारमा अनुगमन गरेर व्यवस्थित बनाउन जरुरी थियो, उनले भनिन्, 'हामी जनप्रतिनिधिलाई अनुगमन गरेर सामान फाल्न पनि धेरै गाह्रो हुन्छ।' उनले बजार अनुगमनमा आएको टोलीलाई गाउँपालिकाले सघाउने र उपभोक्ता अधिकार ऐन अनुसार उपभोक्ताले सामान किन्न र मूल्य जान्न पाउने अधिकार भएकाले व्यापारीलाई सचेत गराउनु पर्ने जनाइन्। बजार अनुगमनमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल, जिल्ला प्रशासन कार्यालयका लोकेन्द्र भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका विष्णु ढकाल लगायतको सहभागिता रहेको थियो। टोलीले जुनसुकै बेला बजार अनुगमन हुने भएकाले व्यापारीले सचेत रहनुपर्ने सुझाव दिएका छन्।

बजारबाट जिरा, खाने तेल, पिउने पानी, चाउचाउलगायतका खाद्यान्न सामग्रीहरुको नमुना संकलन गरि खाद्य गुण नियन्त्रण प्रयोगशालामा पठाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अर्यालले बताए।

 

 

प्रकाशित: ७ फाल्गुन २०७६ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App