coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पश्चिमी वायुले बढायो चिसो

काठमाडौं- भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। वायुको कारण पहाडी भूभागमा सामान्य वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। अझै वर्षा र हिमपात हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिम र मध्य क्षेत्रमा मंगलबारसम्म र पूर्वमा बुधबारसम्म रहनेछ। ‘पश्चिम र मध्य क्षेत्रमा मंगलबार दिउँसोबाट घाम लाग्न सक्छ,’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘पूर्वका क्षेत्रमा भने बुधबार मात्रै घाम लाग्ने सम्भावना छ।’ सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी वायु पूर्वतिर सर्दै गरेको र स्थानीय कारणले गर्दा पनि पूर्वमा बुधबार मात्रै मौसम सफा हुने महाशाखाको अनुमान छ।

आइतबार उपत्यकालगायत देशका केही भागमा छिटफुट वर्षा भएको थियो। उपत्यकामा आइतबार विहान ०.१ मिलिमिटर वर्षा भएको थियो। उता पूर्वको ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको थियो भने जोमसोममा साँझा नौ मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार सोमबारसम्ममा उपत्यकालगायत पहाडी भूभागमा सामान्य वर्षा हुनेछ। त्यसैगरी उच्च हिमाली क्षेत्रमा थप हिमपात हुने अनुमान पनि महाशाखाको छ। आइतबार अपराह्नमै दोलखाको उच्च भूभाग तथा जुम्ला, बजुरा, डोल्पा लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।

त्यसैगरी तराईका जिल्लामा कुहिरो लाग्न सक्ने अनुमान महाशाखाको छ। यस वर्ष तराइमा गत वर्षमा जस्तो शीतलहर देखिएको छैन। पश्चिमी वायुका कारण चिसो बढेसँगै शीतलहर हुन सक्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले बताए। तापक्रमसमेत घट्न सक्ने अनुमान उनको छ। आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस छ। यसपटक उपत्यकाको तापक्रम ४.४ डिग्री सेल्सियसभन्दा तल झरेको छैन। विगतमा एक डिग्री सेल्सियससम्म तल झर्ने गरेको थियो। अन्य ठाउँमा समेत यस वर्ष गत वर्षहरुमा जसरी तापक्रम घटेको छैन। पश्चिमी वायु आउन ढिला भई पानी नपरेका कारण पनि तापक्रम नघटेको अनुमान महाशाखाको छ। अब तापक्रम घट्न गई अझै जाडो हुन सक्ने महाशाखाले जनाएको छ। पूर्वानुमान गरिएअनुसार दुई दिनपछि मौसम सफा भई त्यसपछि फेरि पनि पश्चिमी वायुको प्रभाव पर्न सक्ने महाशाखाले अनुमान गरेको छ।

प्रकाशित: १८ पुस २०७३ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App