coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

काठमाडौंको आकाश दुई घन्टा सेनाको नियन्त्रणमा

काठमाडाैँ - त्रिभुवन विमानस्थलको कमजोर व्यवस्थापनका कारण यात्रुले सास्ती खेप्ने गरेको कुरा नयाँ थिएन। कहिले रनवे भत्केर उडान त कहिले भिआइपी सवारीका कारण उडान सेवा घन्टौं अवरुद्ध हुने समस्या नेपालमा नियमित जस्तै छ। विगतमा भिभिआइपीको सवारीका नाममा सडकदेखि आकाशसम्म घन्टौं अवरुद्ध हुने गरेकोमा मंगलबार भने शिवरात्रिको लागि रिहर्सल गर्ने भन्दै नेपाली सेनाले हेलिकप्टर उडाउँदा दुई घन्टा आकाश जाम भयो। शिवरात्रिका दिन ‘सेना दिवस’ पर्छ।

विगतमा पहिले विशिष्ट व्यक्तिको भ्रमणका नाममा घन्टौं सास्ती भोगेका सर्वसाधारणले यसपालि चाडपर्वको नाममा सास्ती झेले। सेनाको रिहर्सलका कारण दिनभरजसो आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भए। सेना दिवसको तयारीस्वरूप हेलिकप्टरहरूले अभ्यास गर्दा आन्तरिक तथा बाह्य उडानमा रहेका जहाजहरू लामो समय आकाशमै होल्ड भए भने केही डाइभर्ट भए। कुनैले उडान नै भर्न पाएनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नोटाम जारी गरेर सेनालाई समय दिँदा अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फका दर्जनभन्दा बढी उडान प्रभावित भए। विमानस्थलले नोटाम जारी गर्दा कयौं जहाजले त्रिभुवन विमानस्थलमा अवतरणको अनुमति नपाएर आकाशमै फन्को लगाए।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी भने सेनाको रिहर्सल र मौसमकम कारण मंगलवार केही समय मात्र हवाई सेवा प्रभावीत भएको दावी गर्छन् ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले सेनाको रिहर्सल र मौसमका कारण केही समयमात्रै हवाई सेवा प्रभावित भएको बताए। विहान ७ बजेदेखि १० बजेसम्म विमानस्थलको भिजिबिलिटी नौ सय मिटरमात्रै भएका कारण सेवा प्रभावित भएको थियो,’ उनले भने, ‘दिउँसो पनि मौसम नखुलेको र सेनाको हवाई अभ्यासका क्रममा केही विमानले ढिलो गरी अवतरण गर्न पाए।’ सेनाले गरेको अभ्यासका कारण कुनै पनि हवाई सेवा रद्द तथा डाइभर्ट नभएको उनको दाबी छ। १२ सय मिटरसम्म भिजिबिलिटी नभए उडान सेवा सञ्चालन गर्न नसकिने जनाउँदै मौसमका कारण सेवा प्रभावित भए पनि नोटामका कारण कुनै सेवा प्रभावित नभएको उनले बताए। दिउँसो १ः४५ देखि ३ः४५ सम्म नोटाम जारी गरिएको र उक्त सूचना विमानसेवासँग सम्बन्धित सबैमा पुगेका कारण सेवा प्रभावित नबनेको उनको दाबी छ।तर विमानस्थल टावरका अनुसार दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको आरए२०६ विमान काठमाडौंमा अवतरण गर्न नसकेर दिल्ली नै फर्किएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फका चाइना इस्टर्न, इतिहाद, इन्डिगो, एयर इन्डिया, भिस्तारा, थाई एयरका विमान बालाजु, बनेपा र सिमरा लगायत आकाशमा होल्डमा परेका थिए। काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको एयर इन्डियाले उडान नै भर्न पाएन।

आन्तरिकतर्फका पनि दर्जनौं विमान सेवा प्रभावित भए। श्री एयरलाइन्सका प्रबन्ध निर्देशक अनिल मानन्धरका अनुसार मंगलबार दिनभर कम्पनीका चारवटा विमान सेवा रद्द भएका छन्। कम्पनीले जनकपुर र भैरहवाको एक–एक र पोखरा दुई गरी चारवटा उडान रद्द ग-यो। विहान ७ः१० र ११ः३० को उडान सेवा भिजिबिलिटीका कारण रद्द भए पनि दिउँसोको उडान नोटामका कारण रद्द भएको मानन्धरको भनाइ छ। बुद्धले पोखराका पाँचवटा र भरतपुरको एउटा उडान भर्न पाएन। यसका पछाडि नोटाम र मौसम दुवैको हात रहेको कम्पनीको भनाइ छ। बुद्धका सहायक प्रवक्ता रूपेश जोशीले आफूहरूलाई नोटामको जानकारी नै नभएको बताए। यसपटक फागुन ९ गते सेना दिवस परेको छ। उक्त दिवसमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि र विमानबाट प्याराजम्प गराउँछ। दिउँसो २ बजेदेखि पौने ५ बजेसम्म रिहर्सलको कार्यक्रम गरेको नेपाली सेनाले जनाएको छ। यती एयरलाइन्सले आफ्नो कम्पनीका तीनवटा उडान रद्द भएको जानकारी दिएको छ।

कम्पनीका सूचना अधिकारी विपना श्रेष्ठका अनुसार यतीको तुम्लिङटारको एउटा र पोखराको दुइटा गरी तीनवटा उडान सेवा रद्द भएको छ। अन्य उडान सेवा पनि तीनदेखि साढे तीन घन्टा ढिलो भएको उनको भनाइ छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App