coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्प पीडितलाई दोस्रो किस्तामा डेढ लाख

काठमाडौं- सरकारले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान दिने कार्यविधि पास गरेको छ। कार्यविधि पास भएसँगै पीडितले दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउने बाटो खुलेको छ।

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७३ लामो समयसम्म पास नहुँदा पहिलो किस्तामा ५० हजार पाएर घर निर्माण अघि बढाएका पीडितको काम रोकिन पुगेको थियो। बिहीबारको मन्त्रिपरिषद् बैठकले पुरानो कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि पास गरेको हो।

कार्यविधि पास भएपछि अब भूकम्पपीडितले दोस्रो किस्तामा एक लाख ५० हजार, तेस्रो किस्तामा ७५ हजार रुपैयाँ तथा शौचालय र सोलार जडान गरेपछि थप २५ हजार रुपैयाँ गरी तीन लाख रुपैयाँ पाउने पक्का भएको छ। यो सँगै घर पुनर्निर्माण गरिसकेकाले एकमुष्ठ तीन लाख अनुदान पाउने बाटो पनि खुलेको छ।

कार्यविधिले अनुदान सम्झौता गर्ने क्रममा नाम छुटेका भूकम्प पीडितलाई समेट्न, पीडितका २१ लाखभन्दा बढी गुनासा फर्स्योटका लागि घरधनीको वर्गीकरण, आंशिक क्षति भएका घरको मर्मतसम्भार गर्न दुई किस्तामा एक लाख रुपैयाँ उपलब्ध गराउनेलगायतका समस्यासमेत समाधान गरेको छ। यस्तै जग्गाको गुठी विवाद, लाभग्राहीको अनुपस्थितिमा अनुदान सम्झौता हुन नसकेका र अनुदान पाउन नसकेकाले पनि अनुदान प्राप्त गरी घर निर्माण गर्नसक्ने बाटो कार्यविधिले खुला गरेको छ।

पुरानो कार्यविधिमा भूकम्प पीडितलाई आवास निर्माणका लागि दुई लाख रुपैयाँ तीन किस्तामा दिने उल्लेख थियो। उक्त कार्यविधिमा पहिलो किस्तामा ५० हजार, दोस्रोमा ८० र तेस्रोमा ७० हजार रुपैयाँ वितरण गर्ने भनिएको थियो। तर, प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै भूकम्पपीडितलाई आवास निर्माणका लागि अघिल्लो सरकारले दिने भनेको दुई लाख अनुदानमा एक लाख थप्दै तीन लाख पुर्‍याउने निर्णय गरेका थिए। एक लाख थप्ने निर्णय भए पनि कार्यविधि पास नहुँदा काम प्रभावित बन्न पुगेको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता विष्णुकुमार भुसालका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन्। तीमध्ये पाँच लाख ४४ हजार ९ सय ९६ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ। सम्झौता भएकामध्ये ४ लाख ५९ हजार ८ सय ८६ ले पहिलो किस्ताको ५० हजार पाइसकेका छन्। अनुदान पाएकामध्ये १७ हजारले घर निर्माणको काम अगाडि बढाएर दोस्रो किस्ताको पर्खाइमा छन्।

प्रकाशित: १८ पुस २०७३ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App